
पोखरा –
के तपाइले सरसामान खरिद गरिसकेपछी अथवा आफ्ना सरसामान लिएर हिडदा प्लाष्टिकका झोला प्रयोग गर्ने गर्नु भएको छ । यदि छ भने अब साबधान रहनुहोला तपाई जुनसुकै बेला पनि कारबाहीमा पर्न सक्नुहुनेछ ।
तपाइले यस्तो झोला तथा गिलास प्रयोग गरेको भेटिएको खण्डमा पहिलोपटक रु ५ सय दोश्रो पटक रु १ हजार जरिवाना तिर्नुपर्ने छ । यदि तपाई दोश्रो पटक पछी पनि लगातार कारबाहीमा पर्नु भयो भने प्रत्येक पटक रु ५ सय थपिदै जानेछ र तपाइलाई सोहीअनुसारको जरिवाना लाग्नेछ । पोखरा उपमहानगरपालिकाका इन्जीनियर महेन्द्र गोदारले भने ” नगरपालिकाको अनुगमनमा परेको खण्डमा हातमा प्लाष्टिकको झोला बोक्ने सर्बसाधारण समेत कारबाहीमा पर्नेछन ।” यसको मतलब अब तपाइ हामीले आफै सचेत भएर प्लाष्टिकको विकल्प खोज्नु पर्ने बेला भएको छ ।

पोखरा उपमहानगरपालिकाको आयोजनामा बुधबार पोखरामा एक कार्यक्रमका बीच पोखरालाइ प्लाष्टिकका झोला र गिलास निषेधित क्षेत्र घोषणा गरिएको हो । नगरपालिकाले गत वैशाख १ गते भित्रमै पोखरालाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्ने अभियान थालेको भएतापनि लगभग सात महिना पछी आएर प्लाष्टिकका झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेको छ ।
घोषणा कार्यक्रमको उद्घाटन संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब केदार बहादुर अधिकारीले गरेका हुन् ।





