महोत्सवमा बजार मुल्य भन्दा सहुलियतमा खानाका परिकार पाईने,
पोखरा –
पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन(पोखरा सिटी रेवान) कास्कीको आयोजनामा मंसिर २ गते देखि पोखरामा संचालन हुने सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ को तयारी पुरा भएको छ ।
मंसिर १२ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने पाँचौं संस्करणको उक्त महोत्सवको तयारी पुरा भएको मंगलबार महोत्सव स्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो। महोत्सवमा बैंकीङ, लक्ता कपडा, सुचना प्रविधि, रेष्टुरेण्ट लगायतका एक सय ४ वटा स्टलहरु रहेको पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्याले बताए। पर्यटन प्रवद्र्धन एवम् लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत ४ बर्ष देखि निरन्तर रुपमा उक्त महोत्सवलाई आयोजना गर्दै आएको पाध्याले बताए । “पर्यटन प्रवद्र्धन संगसंगै” भन्ने नारा सहित आयोजना हुने महोत्सवमा बजार मुल्य भन्दा सहुलियतमा एउटै रेष्टुरेण्टबाट खानाका परिकार पाईने भएको छ । आयोजकले एउटा रेष्टुरेण्टबाटै पहिले नै मेनु तयारी गरी खानाका परिकारहरु पस्कने तयारी गरेको पाध्याले बताए । उनले भने “मेला र महोत्सवमा दर्शकहरुले खानामा महङगो हुने गरेको गुनासो भएकोले हामीले यस पटक आयोजकबाटै व्याबस्थापन हुने गरी रेष्टुरेण्ट संचालन गरेका हौं । ”
महोत्सवलाई थप आकर्षण बनाउन अन्तर समाज दोहोरी गीत, ढिडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय चर्चित हाँस्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेरसम्मका एकल महिला नृत्य र रत्यौली प्रतियोगिताको आयोजना गरिने पाध्यले जनाए । महोत्सव ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि ३९ लाख ८५ हजार खर्च हुने र ४४ लाख ५५ हजार आम्दानी हुने अनुमान गरिएको महासचिव दिपक तिमिल्सिनाले बताए। महोत्सवबाट बचेको रकमबाट १० प्रतिशत पर्यटन प्रवद्र्धन र पाँच प्रतिशत असहाय बालबालिकाको लागि सहयोग गर्ने उनले जनाए। महोत्सव उद्घाटनको पुर्व सध्यामा सृजनाचोकबाट विहान १० बजे पछि झाँकी सहितको र्याली महोत्सव स्थलमा पुग्ने भएको छ ।





