
गणेश वराल (डीएमबी),
पोखरा-
शुभ अधिकारी ट्राभल्स प्रालि पोखराले सस्तो भाडादरमा पोखरा – काठमाण्डौ- पोखराका लागि पर्यटक स्तरको नयाँ बस सञ्चालन गर्ने भएको छ । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रालिले मंसीर ६ गतेदेखि पोखरा -काठमाडौंका लागि २ वटा पर्यटक स्तरीय बस सञ्चालनमा ल्याउन लागेको जानकारी गराएको हो ।
पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत पुराना गाडीको सट्टामा उक्त २ स्तरीय बस संचालनमा ल्याउन लागेको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । केसीले एउटा बस पोखराको हल्लनचोकबाट बिहान ८ः१५ बजे र पर्यटन बसपार्कबाट ८ः३० बजे छुट्ने तथा काठमाण्डौको एयरपोर्टवाट पोखराका लागि बिहान ८ः१५ बजे अर्को बस छुट्ने जानकारी दिए । पोखरा देखि छुटेको बस काठमाण्डौको गंगबु, चावहिल, गौशाला हुँदै अन्तर्राष्ट्रिय विमानस्थल सम्म पुग्नेछ । हाल ग्रामिण तथा कच्ची सडकमा १०० वटा समेत गरि १ हजार २ सय ५० वटा बस पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत सञ्चालन भइरहेको महासचिव केसीले जानकारी दिए ।
प्रालिका सञ्चालक टीकाराम अधिकारीले सोमबार पोखरा र काठमाडौं दुवै ठाउँबाट एकै पटक बस सेवा शुभारम्भ गरिने बताउदै नयाँ बसमा करिब डेढ करोड रुपैयाँ लगानी थप गरेको जानकारी दिए । अधिकारीले उक्त बसको बोडी नेपालमै पहिलोपटक अत्याधुनिक तवरले बनाइएको दाबी गरे । अधिकारीले यात्रुलाइ सस्तो भाडादरमा पर्यटक गाडीको सुबिधा दिन लागेको बताउदै बसमा पत्रपत्रिका, पिउने पानी, निःशुल्क वाइफाइ, एलइडी टेलिभिजन लगाएतका सुविधाहरु रहेको बताए । बसमा २ वटा सिट अपाङ्गता भएका यात्रु हरुलाई छुट्टयाइएको बताउदै अधिकारीले उनीहरुलाई १५ प्रतिशत छुटको व्यवस्था गरेको बताए । बसको भाडादर रु ५ सय कायम गरिएको छ ।
कार्यक्रम समितिका उपाध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।







सबै बस यस्तै भए पर्यटक बस खाेज्नै पर्दैन नी, शुभकामना छ ।