
कर सप्ताह सुरु, पोखरामा विभिन्न कार्यक्रमका साथ कर दिवस मनाइदै,
पोखरा –
पाँचौ राष्ट्रिय कर दिवस पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी बुधबार देखि मनाइदैछ । पोखरा पनि आन्तरिक राजश्व कार्यालय पोखराको अगुवाईमा मंसिर १ देखि ७ गतेसम्म पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउदै गरेको कार्यालय प्रमुख लेखनाथ शर्माले बताए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै शर्माले कुनै पनि करदातालाइ कारबाही गर्नुपर्ने अवस्था नआओस भन्दै पोखरामा भ्याट कर उठाएर पनि लुकाएको अवस्था रहेको र त्यसलाई निर्मुल पार्न आफु अहोरात्र खटिने जानकारी गराए । शर्माले पोखरामा मेला महोत्सब आयोजन गर्दा , मनोरन्जनका क्रियाकलाप तथा पर्यटकीय गतिबिधि संचालन गर्दा बिजक जारी नगर्ने गरिएको भन्दै उनीहरुलाई यथासक्दो छिटो करको दायरामा ल्याईछाड्ने दाबी गरे
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा क्षेत्रिय उद्योग बाणिज्य संघका अध्यक्ष संजिव बहादुर कोईराला, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे लगायतले वोल्दै दर शुल्क बृद्धि गर्नु भन्दा पहिला करको दायरा बढाउन सुझाव दिएका थिए । प्रमुख शर्माले लक्ष्य भन्दा बढी राजश्व संकलन गरे पनि यस क्षेत्रमा अझै करको दायरा भन्दा केहि व्यवसायीहरु बाहिर रहेको उनले जनाए ।
दिवसको अवसरमा बुधबार पोखरामा प्रभातफेरी तथा सम्मानित हुने करदाताको नामावली सार्वजनीक भएको शर्माले जनाए । बुधबार पोखराको सभागृहचोकबाट सुरु भएको प्रभात फेरी, सृजनाचोक, रत्नचोक, राष्ट्रबैंकचोक हुदै कार्यालय परिसरमा पुगेर टुंगिएको हो । एक हप्तासम्म चल्ने कार्यक्रम अन्र्तगत करदाता शिक्षा तथा अन्तरकृया कार्यक्रम, विभिन्न संचार माध्यममा यसको प्रचार प्रसार गर्ने सहित मंसिर ७ गते यस क्षेत्रका उत्कृष्ट करदाता सम्मान सहित कार्यक्रम समापन हुने भएको प्रमुख शर्माले जनाए ।
उत्कृष्ट कर दातामा कास्कीबाट टाईगर माउण्टेन र लेखनाथ उद्योग बाणिज्य संघ
यसै बिच, कास्कीको लेखनाथ स्थित कालिका गाविसमा रहेको टाईगर माउण्टेन प्रा.लि.यस बर्ष उत्कृष्ट करताको सुचिमा परेको छ । आन्तरिक राजश्व कार्यालय पोखराले पाँचौ राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक बर्ष २०७१÷०७२ मा उत्कृष्ट कर सहभागिता जनाई बढी कर दाखिला गर्ने करदाता मध्य जिल्ला गत रुपमा टाईगर माउण्टेन (होटल) उत्कृष्ट करदाताको सुचिमा पर्न गएको कार्यालयले जनाएको छ । त्यसै गरी कास्कीबाटै संस्थागत रुपमा कर प्रशासन, कर सचेतना तथा सहभागिता तथा संचालन सहयोग पुराउने संस्था मध्य लेखनाथ उद्योग बाणिज्य संघ उत्कृष्ट करदातको रुपमा सम्मानित हुने भएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख लेखनाथ शर्माले बताए । त्यसै गरी उत्कृष्ट करदाता संस्थाबाटै पर्वत उद्योग बाणिज्य संघ पनि सम्मानित हुने भएको छ ।
त्यसै गरी जिल्ला गत रुपमा तनहुँबाट उत्कृष्ट करदातामा गण्डकी ट्रेड सप्लायर्स, स्याङजाबाट कालिका माईक्रो त्रेडिड डेभलपमेन्ट बैंक लिमिटेड, बागलुङबाट जय कालिका भगवती निमार्ण सेवा प्रा.लि., मुस्ताङबाट अमित बिल्डर्स, लमजुङबाट कृषक जागरणबचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोर्खाबाट मनास्लु बिकास लिमिटेड, पर्वतबाट नमुना आवासिय माध्यमिक बिद्यालय पर्वत प्रा.लि. र म्याग्दीबाट श्री कुमारी बहुउद्धेश्य सहकारी संस्था लिमिटेड रहेका छन ।
चौमासिकमा लक्ष्य भन्दा बढी राजश्व संकलन
गण्डकी तथा धौलागिरीका कास्की सहित १० जिल्लाबाट यस आर्थिक बर्षको चौमासिकमा लक्ष्य भन्दा करीब ३६ प्रतिशत बढी राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ । कार्यालयको १ अर्व ४७ करोड ८४ लाख २१ हजार राजश्वसंकलन गर्ने लक्ष्य भए पनि चार महिनामा कार्यालयले २ अर्व १ करोड २७ लाख २६ हजार राजश्व संकलन गर्न सफल भएको प्रमुख शर्माले बताए । उनका अनुसार यस क्षेत्रमा हाल १ लाख ९ हजार २ सय ८८ जना करदाता रहेका छन । गत आर्थिक बर्षमा संस्थाले ५ अर्व २ करोड २६ लाख राजश्व संकलन गरेको थियो भने १४ हजार नयाँ कर दाता थपिएको शर्माले जनाए ।





