सांसदको तलब वृद्धिको विरोधमा अनेरास्ववियूद्वारा हस्ताक्षर संकलन

पोखरा-

सांसदहरुले आफैले आफ्नो तलबभत्ता बढाएको निर्णयको विरोध जनस्तरमा व्यापक रुपमा भएको छ । विद्यार्थी संगठन पनि विभिन्न विरोध कार्यक्रम गरी निर्णय फिर्ताको मागमा उत्रेका छन् । यसैक्रममा पोखरामा पनि अनेरास्ववियूले हस्ताक्षर संकलन अभियान कार्यक्रम नै सुरु गरेको छ ।

अनेरास्ववियू, भूगोल जिल्ला कमिटि कास्कीको आह्वानमा तीन दिने हस्ताक्षर संकलन अभियान विहीबारदेखि सुरु भएको हो । पोखराका मुख्य स्थानहरुमा तीन दिनसम्म सेतो कपडामा दुई लाख जनाको हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत व्यवस्थापिका संसद सचिवालय पठाईने अध्यक्ष शेखर गौतमले जनाए । पहिलो दिन अमरसिंह उच्च मावि, अमरसिंहचोक र पृथ्वीचोकमा हस्ताक्षर संकलन गरिएकोमा २० हजार संकलन भएको उनले जनाए ।

प्रमुख अतिथि नेकपा एमाले कास्की क्षेत्र नं. २ अध्यक्ष जीवन आचार्यले सेतो कपडामा हस्ताक्षर गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । उनले जनहितविपरीत गरिएको सांसदको तलबभत्ता वृद्धि फिर्ता गरिनुपर्ने बताए ।

केन्द्रिय सदस्य आर्शिवाद सुवेदीले जनताको आधारभूत आवश्यकताको व्यवस्था नभएको अवस्थामा सांसदको तलववृद्धि गर्नु लज्जास्पद भएको बताए ।

आयोजक कमिटिका अध्यक्ष शेखर गौतमले भूकम्प र नाकाबन्दीले जनता थिलोथिलो भएका बेला वेमौसमी ढंगले संसदिय अभ्यास विपरित आफ्नो तलब आफैं बढाउने सांसदहरूको गैरजिम्मेवार निर्णयविरुद्ध यो अभियान सुरु भएको बताए । दोस्रो दिन महेन्द्रपुल, चिप्लेढुंगा आसपास हस्ताक्षर संकलन गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button