
पोखरा-
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), कास्कीको आईतबार सम्पन्न १७ औ जिल्ला अधिवेशनले दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्ष षडानन्द गौतम, उपाध्यक्ष प्रेमप्रसाद शर्मा, महिला उपाध्यक्ष उमा लामिछाने, सचिवमा मथुराप्रसाद पौडेल, कोषाध्यक्ष विष्णु तिमिल्सिना, सहसचिववमा राम गुरुङ, श्रीकृष्ण अधिकारी, सहकोषाध्यक्षमा जगत थापा चयन भएका छन्।
त्यसैगरी, समितिको सदस्यहरुमा शुशिला अधिकारी केसी, अन्जु अधिकारी, महेन्द्र गुरुङ, सुन्दर ढकाल, नविन बराल, वेदप्रसाद वस्ताकोटी, शिव पोख्रेल, पुष्प पराजुली रहेका छन्। महाधिवेशन प्रतिनिधि शुक्रराज अधिकारी, कर्ण गुरुङ, लोकराज भण्डारी, पुष्पराज पौडेल, रामजी पोख्रेल, कृष्ण सापकोटा, रविन्द्रमोहन अधिकारी चयन भएका छन्।
यसअघि, कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतमले अधिकार विकेन्द्रिकरणको पक्षमा बोर्ड रहेको बताए । उनले नीजि विद्यालय व्यवस्थापन निर्देशिका बनाउने हो भने पनि तयार रहेको उल्लेख गर्दै अब नयाँ शिक्षा निर्देशिका एक महिनाभित्रै आउने जानकारी दिए । कक्षा १ देखि १० सम्म माध्यमिक शिक्षा परिषद् र कक्षा ११ र १२ का लागि एसएलसी बोर्ड बन्ने भन्दै उनले यो वर्ष मात्रै पुरानै प्रणालीका आधारमा परीक्षा सञ्चालन हुने बताए ।
‘कक्षा आठको जिल्ला स्तरीय परीक्षा जिल्ला शिक्षा कार्यालयले नै गर्छ । यसैगरी, अब निर्देशिका आएपछि माध्यमिक र एसएलसी परीक्षाका लागि केन्द्र निर्धारण, केन्द्राध्यक्ष नियुक्ति जस्ता काम राष्ट्रिय बोर्डले गर्नुपर्दैन।’ उनले भने– ‘राष्ट्रिय परीक्षा बोर्ड नियमावली किन चाहियो ? शिक्षा नियमावलीमै बोर्डको आवश्यक विषय समावेश गरिएको छ । छुट्टै नियमावली बनायौं भने जिल्ला शिक्षा अधिकारी दायित्वबाट भाग्न सक्छ ।’
उनले सरकारी र संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीबीच छात्रवृत्तिमा विभेद भएको स्विकार्दै छात्रवृत्ति ऐन २०६० संशोधनका लागि तयार भए आफ्नो साथ रहने बताए । उनले हालसम्म कम्पनी ऐन अनुसार दर्ता भएर चलिरहेका प्राईभेट विद्यालय गुठीमा आउनै पर्ने बाध्यता ऐनले नगरेको भन्दै अब भने कम्पनी ऐनमा दर्ता नहुने बताए । गुठीमा जान चाहने विद्यालय कम्पनी ऐनबाट गुठीमा परिवर्तन गर्न सक्ने उनको भनाई थियो ।





