पोखरामा शनिबार देखि तेस्रो पर्वतीय महोत्सव

पोखरा-

आउदो शनिवार देखि पोखरामा सुरु हुने तेस्रो पर्वतीय महोत्सवमा ४० वटा स्टलहरु रहने भएका छन । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा नेपाल पर्वतारोहण संघको आयोजनामा हुने उक्त दुई दिने महोत्सवमा ४० वटा स्टलहरु रहने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक कुशल गुरुङले बताए । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखराको परिसरमा सञ्चालन हुने महोत्सवमा प्रवेश निःशुल्क रहेको छ । पर्वतीय पर्यावरण संरक्षण र पर्यटन संस्कृतिको प्रवद्र्धनका साथै हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिदै आएको संयोजक गुरुङले जनाए ।“पर्वतीय संस्कृतिः विविधतालाई स्विकार र परिचयलाई मजबुत” भन्ने नाराका साथ हुने महोत्सव सम्पन्न गर्न १३ लाख १३ हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

पर्वतीय क्षेत्रका मानिसहरुको जिविकोपार्जनमा अभिवृद्धि गर्न ज्ञान, सीप र प्रविधिको आदान प्रदान तथा पर्वतीय उत्पादनलाई अभिप्रेरित गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको संघका सल्लाहकार डा. गणेश गुरुङले बताए । पर्वतीय वातावरणमा आएको परिवर्तनबारे प्रदर्शन र पर्वतारोहण एवम् पर्वतीय संस्कृतिको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य रहेको बताउदै उनले महोत्सवमा सङख्यात्मक भन्दा आफुहरुले गुणात्मक दर्शक भित्राउने लक्ष्य राखेको जनाए । महोत्सवमा क्लाइम्बिङ वाल प्रतियोगिता, छेलो, धनुषबाँड, दोहोरीगीत, सांस्कृतिक नृत्य, पर्वतीय वृत्तचित्र प्रदर्शनी लगायत विभिन्न कार्यक्रम रहेको नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष दिवस विक्रम शाहले जनाए । महोत्सवमा अन्तर्रा्ष्ट्रिय वातावरणविद्, पर्यटन क्षेत्रका विज्ञ लगायतको सहभागिता रहनेछ । स्थानीय बासिन्दाको आय आर्जन बढाउन सहयोगी हुने प्रविधि, ज्ञानका विषयमा छलफल हुने महोत्सवमा स्थानीय संयोजन गरेको पर्वतीय संग्रहालयका प्रमुख बलबहादुर राईले बताए । संयुक्त राष्ट्र संघले हरेक वर्ष ११ डिसेम्बरलाई अन्तर्राष्ट्रिय पर्वतीय दिवसका रुपमा मनाउने गरे अनुरुप संघले तीन वर्ष अघिदेखि महोत्सव आयोजना गर्दै आएको छ । गत वर्ष भने भुकम्प र नाकाबन्दीको कारण महोत्सव हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button