पोखरा-
सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले नेपालमा अब छिट्टै सहकारीमैत्री ऐन लागु हुने बताउनुभएको छ । रामपुरमा अन्धकारमुक्ति ऋण तथा सहकारी संस्थाको आज १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री थानीले अबको डेढ महिनाभित्र सहकारीमैत्री ऐन लागु हुने बताउनुभयो । सरकारले सहकारीलाई तीनखम्बे अर्थनीतिमा राखेको र बैंकले गर्ने काम गाउँगाउँमा सहकारीले गरेको उहाँको भनाइ थियो । गरिबी निवारणका लागि सहकारी सशक्त माध्यम बनेको भन्दै मन्त्री थानीले ग्रामीण भेगका जनताको जीवनस्तर माथि उठाउन सहकारीले ठूलो भूमिका खेलेको बताउनुभयो ।
सहकारीले राष्ट्रको मेरुदण्डको रुपमा काम गरेको र सहकारीकै माध्यमबाट ६१ हजारले प्रत्यक्ष रोजगारी पाएको उहाँले बताउनुभयो । उहाँले सहकारीको मूल्य मान्यतालाई विचलित नबनाउने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । अन्धकारमुक्ति ऋण तथा सहकारी संस्थामा रु ४२ करोड ४७ लाख २३ हजार कुल पुँजी तथा रु एक करोड २४ लाख ३६ हजार बचत रहेको सो सहकारीका व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । सहकारीमा करिब छ हजार महिला र दुई हजार बढी पुरुष सदस्य रहेका छन् । रासस





