गणेश वराल ,
पोखरा-
कास्कीको उत्तरपूर्वी गाविस सिक्लेसमा निर्माणाधीन सिक्लेस हाइड्रो करिव पाँच महिना भित्रमा सन्चालन आउने भएको छ।हाइड्रोको निमार्ण कार्य करीब ९० प्रतिशत पुरा भइसकेकाले बाकी काम ५ महिना भित्र पुरा गरि संचालनमा ल्याउने तयारी भएको सिक्लेस हाइड्रो डेभलभमेन्ट प्रालीका अध्यक्ष सूर्यबहादुर केसीले जानकारी दिए ।
हाईड्रोका मुख्य लगानीकर्ता एबम उद्योगपति केसीले उक्त हाईड्रोपावर गत बर्षको चैत्र महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भएतापनि भूकम्प र नाकावन्दीको कारणले गर्दा निमार्ण कार्य ढिलाई भएको बताए । “भूकम्पको कारणले समय अवधि मात्र लम्बिएन २० करोडको आर्थिक भार समेत बेहोर्नु पर्यो ।” केसीले भने । मुख्यतया पोखरेली लगानीकर्ता रहेको १३ मेगावाट क्षमताको उक्त हाईड्रोपावरमा ६० प्रतिशत केसी परिवारको लगानी रहेको छ भने वाकी ४० प्रतिशत बतास अर्गनाईजेसन, सेलवेज ग्रुप, एनआरएन सदस्य तथा अन्य साना लगानीकर्ताको लगानी रहेको छ । करिव २ अर्व १५ करोडको लागतमा सम्पन्न हुन लागेको हाईड्रोमा कुल ४९ जना लगानीकर्ता रहेको केसीले जनाए ।
हाईड्रोपावर निमार्णको क्रममा बाढीको कारणले निर्माण सामाग्री लगाएतका भौतिक संरचना बगाउदा ठुलो आर्थिक क्षतिको साथमा कठिनाई झेल्नुपरेको केसीले पोखरान्युज डटकमलाइ बताए । विद्युत गृहका उपकरण जोड्ने र लाइन बिस्तारको केही काम बाँकी रहेको अवस्थामा बाढीले क्षति गरेको अध्यक्ष केसीले बताए ।“हाइड्रो निर्माणको क्रममा स्थानीय स्तरमा केहि समस्याहरु देखिएता पनि समाधान गर्दै अघि बढेको छौ , अब छिटै संचालमा आउनेछ“ । उनले थपे । १० मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य राखी कार्य थालनी गरेकोमा निमार्णको क्रममै १३ मेगावाट पुर्याइएको केसीले बताए ।
सो हाईड्रोबाट उत्पादित बिद्यूत उपल्लो मादि जलबिद्युत आयोजनाको उत्पादनसंगै जोडेर लेखनाथको १३२ केभि स्टेशनको राष्ट्रिय प्रशारण लाईनमा जोडिने भएको छ । २५ मेगावाट क्षमताको उपल्लो मादि जलबिद्युत आयोजनामा चाइना ईन्टरनेश्नल वाटर एण्ड ईलेक्ट्रीक कर्पोरेसन (सी.डब्लु.ई.) र बिजयबाबु मल्लको लगानी रहेको छ । केसी कन्स्ट्रक्सन कम्पनीले निमार्ण गरिरहेको सिक्लेस हाईड्रोपावरमा करीब साँढे ३ किलोमिटर क्षेत्रबाट आरसीसी वक्स प्यानलको माध्यम वाट पानी ल्याईएको छ । निर्माणाधीन सिक्लेस हाइड्रो पोखरादेखि झण्डै २२ किलोमिटर को दुरीमा पर्दछ ।
केसी परिवारको लगानीमा कास्कीमा हाल ३ वटा हाईड्रोपावर संचालनमा आईसकेका छन भने केहि हाईड्रो पावरमा लगानी गर्दै छन। ल्वाङघलेलको मर्दीखोलामा ४.८ मेगावार्टको गण्डकी हाइड्रोपावर करीब ५ बर्ष अघि सम्पन्न भएको छ । विजयपुरखोलमा निमार्ण भएको एक मेगावाटको टाक्स हाईड्रोपावर विगत ६ बर्ष अघि देखि संचालनमा आएको छ । विजयपुरखोलामा रहेको ४.५ मेगावाटको भगवती हाइड्रोपावर करीब साँढे तीन बर्ष अघि देखि संचालनमा आएको छ । यस बर्षको बाढीले गर्दा टाक्स र र सिक्लेसमा समेत करोडौंको क्षति पुगेको थियो ।
फाइल फोटो





