गणेश बराल,
पोखरा-
पोखरामा आगामी डेढ बर्ष भित्रमा केबलकार संचालनमा आउने भएको छ ।
पोखराको फेवाताल छेउ सेदी बगर र सराङकोटलाई जोड्ने गरी अन्नपूर्ण केबलकार प्रालिले केबलकार संचालनमा ल्याउने भएको हो ।२हजार १ सय ७५ मिटर लम्बाईमा निर्माण हुने उक्त केबलकारको बुधबार एक समरोहका बिच प्रालिका अध्यक्ष गुरुङले कालु गुरुङले शिलान्यास गरेका हुन् । केबलकारमा गुरुङ सहित अन्य नेपाली व्यवसायीको ७५ प्रतिशत, जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीय जनताको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ। करिब १ अर्बको लगानीमा डेढ वर्षको अवधिमा केबलकार संचालनमा ल्याउने लक्ष्य राखिएको बताउदै अध्यक्ष गुरुङले यसलाई लिमिटेड कम्पनीको रुपमा विकास गरिने बताए। “सर्वसाधारणको बढीमा ४९ प्रतिशत शेयर रहने गरि हामी प्रक्रिया अगाढी बढाउनेछौ”, उनले भने ।
रोपवे नेपालका अध्यक्ष एवं इन्जिनियर गुणराज ढकालले केबलकारमा १३ वटा टावरको प्रयोग हुने र १७ वटा डब्बावाट सेवा सञ्चालन गरिने बताए । पहिलो चरणमा १७ वटा डब्बावाट प्रति घण्टा ५ सय यात्रुलाई सेवा दिने गरी सेवा सञ्चालन गरिने र पछि ३५ वटा डब्बावाट १ हजार यात्रुलाइ सेवा दिने हिसाबमा विकास गरिने ढकालले वताए ।” ८ जनाले क्षमताको एउटा डब्बा रहने र सेदीबगरबाट सराङकोट ७ मिनेटको समयमा पुग्न सकिने उनले बताए । पोखराको सेतीबगर र सराङकोट स्टेसन राख्नका लागि प्रालिले जग्गा खरिद गरिसकेको छ भने केबलकार संचालित क्षेत्रमा पर्ने जग्गाको सट्टाभर्ना गराई सकेको प्रालिले जनाएको छ । सरकारले उक्त क्षेत्रमा पर्ने सार्वजनिक बनलाइ ४० वर्षका लागि भाडामा उपभोग गर्न स्वीकृत दिएको प्रालिले जनाएको छ ।
सनराइज र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको अन्नपूर्ण केबलकारमा जापानको निप्पोन केबलकारको प्रविधि प्रयोग गरिने स्विजरल्याण्ड वाट तार र डब्बा ल्याइने प्रालिको दाबी छ ।





