पोखरा-
प्रभावकारी ढंगले बालबालिकाहरुलाई खोपको मात्रा पुराउन एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको आयोजनामा बुधबार देखि पोखरामा सुरु भएको पुर्ण खोप सुनिश्चितता प्रभावकारी र दिगो बिषयक दुई दिने पश्चिमाञ्चल क्षेत्र स्तरीय गोष्ठीमा वोल्दै वक्ताहरुले भोलिका भविश्यका कर्णधार आजका बालबालिहरु भएकोले उनीहरुको स्वास्थ्य अबस्था राम्रो बनाउने अभियानमा खोप मात्रा प्रभावकारी ढंगले बालबालिकाहरुको पहुचमा पुराउन सुझाव दिएका हुन ।
उक्त गोष्ठीको उद्घाटन गर्दै महिला बालबालिका जेष्ठ नागरीक तथा समाज कल्याण समितिका सदस्य तथा सांसद शारदा पौडेलले मोटो रकम खर्चीयर पनि १३ प्रतिशत बालबालिहरु खोपबाट बन्चित भएकोमा दुख व्यक्त गरीन । उनले गाँउ गाँउ र टोल टोलमा स्वयम सेवकहरु परिचालन गर्न समिति गठन गर्न निर्देशन दिईन । पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालले शिक्षा र स्वास्थ्य दुबै बिषयलाई एकै साथ अघि बढाउन नसके अशिक्षाका कारण धेरै प्रकारका रोगहरु लाग्ने दाबी गरे । अशिक्षित ठाँउमा धेरै प्रकारको खोपको मात्रा नपुगेको कारणले गर्दा पनि रोगको संक्रमण बढ्ने उनले बताए ।
वाल स्वास्थ्य महाशाखा निर्देशक डा. राजेन्द्र पन्तले बार्षिक करीब ३ अर्व रुपैया खोपको लागि नेपाल सरकारले दातृनिकायसंगको समन्वयमा बर्षेनी खर्च गर्दै आए पनि अझै १३ प्रतिशत बालबालिकाले खोप सेवा नपाएको दाबी गरे । स्थानीय विकास मन्त्रालयका गोविन्द पाण्डेले पुर्ण खोप युक्त नभई वालमैत्रि वन्न नसक्ने दाबी गरे । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका बरिष्ठ जनस्वास्थ्य अधिकृत दिनेश चापागाइले पुर्ण खोपको लागि सवै क्षेत्रबाट सहयोग आवश्यक भएको बताए । पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारानाथ पौडेलको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा १६ जिल्लाका जनस्वास्थ्य अधिकृत, खोप सुपरभाईजर अधिकृत, जिविसका योजना अधिकृत लगायतको सहभागिता रहेको छ ।