
गणेश बराल ,
पोखरा –
नेपाल टेलिकमले ‘फोरजी’ चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा संचालनमा ल्याएको छ । टेलिकमले केही समयको प्राविधिक परीक्षण पश्चात अंग्रेजी नयाँ बर्षको पहिलो दिन पारेर आइतवारदेखि पोखरा र काठमाण्डौवाट ‘फोरजी’ सेवाको सुरुवात गरेको हो ।
फोरजी सेवाको संचालन बारे जानकारी दिन पोखरामा आइतवार आयोजित कार्यक्रममा नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख नरेसकाजी शाक्यले सेवा सुभारम्भ भएको जानकारी दिएका हुन् । सुरुवाती क्रममा पोखरा र काठमाण्डौका मुख्य ब्यापारिक क्षेत्रका ग्राहकले मात्र टेलिकमको ‘फोरजी’ सेवा प्रयोग गर्न पाउनेछन् । हाललाइ टेलिकमको पोष्टपेड मोवाइल प्रयोगकर्ताले मात्र टेलिकमको यो सुबिधा प्राप्त हुने र केहि समय पछी प्रिपेड ग्राहकले समेत यो सुबिधा प्राप्त गर्ने उनले बताए । ‘फोरजी’ सेवा मोबाइलमा चल्नका लागी सिम र सेट फोरजीका लागी उपयुक्त हुनुपर्ने समेत शाक्यले बताए । फोरजी सेवा सुचारु गर्न *४४४# डायल गरी १ टाइप गरी कन्फर्म गर्नु पर्नेछ । तर एप्पलको फोरजी स्मार्टफोन बोक्ने ग्राहकले भने अहिलेनै सो सेवा चलाउन पाउने छैनन् । अन्य स्मार्टफोन प्रदायकको तुलनामा एप्पलको सिस्टम छुट्टै हुने गर्दछ । परीक्षणका क्रममा आइफोनका फोरजी प्रबिधि युक्त सेटमा सो सेवा नचलेपछी टेलिकमले एप्पलसंग टेलिकमको नेटवर्कका लागि लोकेसन कोड ‘४२९०१’ इनेबल’ गराउन पहल गरिसकेको शाक्यले बताए ।
फास्ट डाटा सर्भिस दिने यो सेवामा ग्राहकले सुरुवातमा ३२ एमबिपीयस को गतिमा इन्टरनेट चलाउन पाउने प्राबिधिक टोलीका वरिष्ठ इन्जीनियर सुसन श्रेष्ठले बताए । उनले कार्यक्रममा फोरजी मार्फत २ सय एमबीको ९ मिनेट लामो युटुब भिडियोलाइ ३२ एमबिपीयसको गतिमा १ मिनेटको समयमा डाउनलोड गरेर देखाएका थिए । डेमो प्रस्तुत गर्दै उनले भने ” युटुब मात्र हैन इन्टरनेट ब्राउजरमा समेत फोरजी सेवा फास्ट छ” । ठुला ठुला फाइल अपलोड वा डाउनलोड गर्न, भिडियो डाउनलोडिङ र स्ट्रिमिङ, भिडियो च्याटिङ, फेसबुक म्यासेन्जर, भाइबर, स्काइपजस्ता इमो जस्ता सामाजिक संजालमा बिना रोकावट भिडियो कल तथा कुराकानी गर्न सकिने उनले बताए । हाललाइ टेलिकमले थ्रीजीकै मुल्यमा फोरजी सेवा लिन सकिने बताएपनि तुलनात्मक रुपमा यसको शुल्क बढी पर्न जान्छ ।
अन्तर्रा्ष्ट्रिय स्तरको प्रचलित १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा नेपालमा सञ्चालित दूरसञ्चार सेवाप्रदायकलाई फोरजी सञ्चालन गर्न दिने निर्णय अनुसार नेपालका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले सेवा अनुमतिका लागि निवेदन दिएकोमा नेपाल टेलिकमले फोरजी सेवा संचालन गर्ने स्वीकृति पाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि टेलिकमका पश्चिमांन्चल क्षेत्रिय निर्देशक सिद्धप्रताप भारतीले टेलिकमले भौतिक विकटताका बाबजुत नेपालभर उच्च सेवा प्रदानका लागी लागिपरेको भन्दै आगामी दिनमा अझ सशक्त रुपमा अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे ।नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख नरेसकाजी शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन टेलिकम पोखराका व्यापार अधिकृत राजेस रेग्मीले गरेका थिए ।





