बेपत्ता युवक सार्वजनिक गर्न माग गर्दै बागलुङ बन्द

  • पोखरा न्यूज
  • २०७४ जेष्ठ २५
Post Thumbnail

पोखरा न्युज –

लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन् ।

मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा फरार भएका बानपा–३ का १७ वर्षीय सुनिल पुन नभेटिएछि उनका परिवार र आफन्तजन आन्दोलित बनेका हुन् ।

भागेर नदी तर्ने क्रममा बीचमै बेपत्ता भएको भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा पुनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । बागलुङबाट कुश्मातर्फ जाँदै गरेको ध१ज ४१४ नंको ट्याक्सीमा सवार पुनसहित अन्य दुई युवा लागुऔषधसहित फेला परेका थिए । खानतलासीका क्रममा ट्याक्सीभित्र लागुऔषध फेला परेको थाहा पाउनेबित्तिकै पुन कालीगण्डकी नदीतिर भागेको प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले बताउनुभयो ।

ट्याक्सीमा रहेका बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामालाई भने नियन्त्रणमा लिइएको उहाँको भनाइ छ । उनीहरुको साथबाट लुकाइछिपाइ राखेको लागुऔषध डाइजेपाम–३ थान, एम्पुल र नुर्फिन–तीन थान, फेनार्गन–चार थान, नाइट्राजेपाम–तीन थान र चार थान सुई प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै युवामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने डरले नदी तरेर भाग्ने क्रममा बीचमै बेपत्ता भएको हुन सक्ने अनुमानमा प्रहरीले मङ्गलबार रातिदेखि नै पुनको खोजी कार्य सुरु गरेको थियो । दुई दिन बितिसक्दा पनि अवस्था पत्ता नलागेपछि पुनका परिवार र आफन्तजन आन्दोलनमा उत्रेका हुन् । उनीहरुले आज बिहान १० बजेदेखि बागलुङ सदरमुकाममा यातायात र पसल बन्द गराएका छन् । घटनाको सत्यतथ्य छानबिन र बेपत्ता पुनको अवस्था सार्वजनिक नगरेसम्म विरोधका कार्यक्रम जारी राख्ने पीडित पक्षका भुवन कँडेलले बताउनुभयो ।

यता, प्रहरीले भने पोखरादेखि आएको सशस्त्र प्रहरीको खोताखोरले कालीगण्डकी नदीमा खोजी गरिरहेको जनाएको छ । “नदी किनारलगायत सम्भावित क्षेत्रमा अस्तिदेखि नै खोजी कार्य चलिरहेको छ”, प्रनाउ खड्काले भन्नुभयो – “घटनाप्रति प्रहरी संवेदनशील भएर लागेको छ ।” परिवार र आफन्तजनले भने प्रहरीले घेरा हालेर पक्राउ गर्न खोज्दा पुन डरले नदीभित्र पसेको हुनसक्ने जानकारी दिनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस