शुक्रबार पोखरामा क्रस दी बोर्डरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक

पोखरा न्युज – २२ चैत ।

उद्यमशीलता जगाउने उद्देश्य राखेर पोखरामा सुरु भएको उद्यमशील कार्यक्रम ‘क्रस दी बोर्डर’ को भोलि शुक्रबारको  शृंखलामा  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा आकर्षणको रुपमा  रहने भएका छन् ।

उद्यमशील बनौं भन्ने मर्मसहित लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डले सुरु गरेको  ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रमको भोलिको  शृंखलामा राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापालाई निम्त्याएको होटल सञ्चालक गणेशबहादुर थापाले बताए ।

साँझ ४ बजे  होटल स्नोल्यान्डकै हलमा हुने कार्यक्रममा अर्थतन्त्रबारे बृहत् दखल राख्ने विज्ञ व्यक्तित्व नेपाल  राष्ट्र बैंकको  अनुसन्धान विभाग नेतृत्वकर्ता  नरबहादुर थापा रहने भएकाले कार्यक्रमबाट सम्भावित लाभ लिन  युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरुलाई होटल सञ्चालक थापाले अनुरोध गरेका छन् । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि उनले आग्रह समेत गरे ।

नेपाल सरकारको आर्थिक सल्लाहकार मानिने राष्ट्र बैंकको अनुसन्धान विभागले माइक्रो इकोनोमिक डेटा खोजी र प्रशोधन गरी सार्वजनिक गर्छ । समष्टिगत रुपमा अर्थतन्त्रको तथ्यतथ्यांक अनुसन्धान उक्त विभागको मूल जिम्मेवारी हो । विभागले मौद्रिक नीतिको प्रारम्भिक मस्यौदा पनि तयार पार्छ । थापाले उक्त कार्यको अनुगमन र निरीक्षण गर्छन् । सरकारले बजेट बनाउनुअघि पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन बुझाउने काम पनि थापा नेतृत्वको विभागले गर्छ ।

अन्तर्राष्ट्रिय मुद्राकोशमा २ वर्ष काम गरेको अनुभव संगालिसकेका थापाले बम्बे विश्वविद्यालयबाट अर्थशास्त्रमा मास्टर्स र बेलायतको स्कटल्यान्डस्थित ग्लासको विश्वविद्यालयबाट एमफिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button