पोखरामा आजबाट फेवा नव वर्ष महोत्सव

एक  लाख बढी दर्शकले अवलोकन गर्ने विश्वास

पोखरा न्युज – २७ चैत ।

१५ औं संस्करणको फेवा नव वर्ष महोत्सव आजबाट पोखरामा सुरु हुँदै छ ।

फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ पोखरा लेखनाथ महानगर ६ बैदाम स्थित कोमागाने पार्कमा  चैत २८ गते बुधबार (आज) बाट महोत्सब सुरु हुने भएको हो । एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सब आगामी वैशाख २ गते सम्म चल्ने छ । हरेकदिन विहान ११ बजेदेखि राति १० वजेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलनमा गरी जानकारी दिएको छ । महोत्सबको मुख्य दिन ३० गते राति भने नयाँ बर्षको स्वागतार्थ १ बजेसम्म महोत्सब संचालन हुनेछ ।

पर्यटन, संस्कृति र खाना मुख्य आकर्षण रहने महोत्सबमा दिउसोका कार्यक्रममा ५० रुपैयाँ र रातिको कार्यक्रममा एक सय ५० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ आयोजक सस्था पश्चिमाञ्चलका होटल संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए ।
दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्धेश्य महोत्सवले लिएको छ । महोत्सव अघि स्थानीय हल्लनचोकबाट सांस्कृतिक झाँकी सुरु भई कोमागाने पार्कमा पुगी उद्घाटन कार्यक्रममा सरिक हुने छ ।

महोत्सवमा खानाका १० र अन्य ३० व्यापरिक गरी कूल ४० स्टल रहने छन् । महोत्सवका पाहुनालाई छुटसहितका प्याकेज यसअघि नै सार्वजनिक गरिएको थियो । नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुती, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षण पनि महोत्सवले समेटेको छ ।

महोत्सवमा ५६ लाख आम्दानी, ४८ लाख ९५ हजार खर्च र सात लाख पाँच हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ । यति ब्रुअरीको अर्ना वियर महोत्सवको मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ । वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा र आयोजक संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पत्रकार सम्मेलनमा भनाई राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button