बागलुङमा बाख्रापालनबाट एक करोड आम्दानी

पोखरा न्यूज -१४, साउन ।

काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु १ करोडभन्दा बढी आम्दानी गरेका छन् ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दैआएका किसानले गत आवमा मात्र ९२५ खसीबोका बिक्री गरी रु ८६ लाख आम्दानी गरेका छन्। उनीहरुले सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामार्फत ती खसीबोका बिक्री गरेका हुन् ।

यस्तै वसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्थाले १४० खसीबोका बिक्री गरी रु १४ लाख ९० हजार आम्दानी गरेको छ। किसानले दुईवटै सहकारीमार्फत खसीबोका बिक्री गरेका हुन् । गाउँका अधिकांश किसान सहकारीमा आबद्ध रहेका सप्तरंगी सहकारीका अध्यक्ष थमकुमारी श्रीसले बताए । पछिल्लो तीन वर्षयता वार्षिक रु १ करोडभन्दा बढीको कारोबार हुँदै आएको छ ।

दुवै सहकारीमा आवद्ध अधिकांश किसान बाख्रापालनमा संलग्न छन् । “धेरैले ४० देखि ५० वटासम्म पालेका छन्,” अध्यक्ष श्रीसले भने, “दुई/चार बाख्रा त सबैले पालेका छन् ।” ‘हेफर इन्टरनेशनल’ मार्फत तंग्राममा साना किसान सबलीकरण परियोजनाले किसानलाई आयआर्जनमा लाग्न प्रेरित गरेको हो । परियोजनाले किसानलाई उद्यममा लगाउन ‘बाख्रा उपहार’ कार्यक्रम सञ्चालन गरेको छ ।

परियोजनाले किसानलाई सीप र प्रविधिमा बाख्रा बिक्री वितरणमा सघाउँदै आएको छ । बाख्रा बिक्रीको जिम्मा सहकारीले लिएपछि किसान ढुक्क छन् । “हामीले पालेका खसीबोका सहकारीले खरीद गर्छ, उसैले बेच्छ,” स्थानीयवासी सुरेश घर्तीले भने । दक्षिण कोरियाबाट फर्केपछि व्यावसायिक बाख्रपालन शुरु गरेका घर्तीले हाल ४० बाख्रा पालेका छन् ।

मनग्य आम्दानी हुने भएपछि घर्ती जस्तै अन्य किसानले बाख्रापालनलाई विस्तार गर्दै लगेका छन् । तंग्राम, फापरखेतका मेखबहादुर पुन वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक बाख्रपालनमा लागेका छन् । विदेशमा गर्ने जति मिहेनतले यही पर्याप्त आम्दानी गर्न सकिने पुनको विश्वास छ ।

मगर जातिको बसोबास रहेको तंग्राममा केही वर्षअघिसम्म बाख्रा पाल्ने चलन थिएन । हेफर इन्टरनेशनलको सहयोगमा भीमा पोखरा युवा क्लब (बिवाइसी) बागलुङले ‘बाख्रा उपहार’ कार्यक्रम चलाएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । साप्ताहिक रुपमा बाख्रा खरीद गरेर बिक्री गर्ने गरेको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले बताए । उद्यममार्फत गाउँलेलाई आत्मनिर्भर बनाउन सहकारीले सहयोग गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button