नार्कमा भन्दा किसानका खेतमा आधा उत्पादन

पोखरा न्यूज -१५, साउन ।

नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले अनुसन्धान गर्दा आफूले फलाए भन्दा किसानका खेतमा आधा परिमाणमा धान फल्ने गरेको छ ।

किसानका खेतमा गर्नुपर्ने काम समयमा नहुने, मलखादको व्यवस्था नहुने र सिँचाइको उपलब्धता राम्रो नहुँदा नार्कले अध्ययनका लागि फलाएको भन्दा कम उत्पादन हुने गरेको हो । नार्कको आफ्नो खेतमा भन्दा किसानको खेतमा झण्डै आधा उत्पादन हुने बाली विज्ञान महाशाखाका प्राविधिक अतीत पराजुलीले बताए । उनले भने, “कतिपय बीउ हामीले यहाँ परीक्षण गर्दा एक हेक्टरमा ५/६ टनसम्म फल्छ भने त्यही बीउ किसानको खेतमा जम्मा तीन टन मात्रै फलेको छ ।”

नार्कले आफूले लगाएको भन्दा किसानको खेतमा कम उत्पादन दिने हुनाले नै अध्ययनका क्रममा उत्पादन राम्रो देखिएको बीउ किसानको खेतमा परीक्षण गरेर मात्रै सिफारिस गर्दै आएको छ । उनी भनछन्, “हामीले विकास गरेका उन्नत जातले यहाँ राम्रो उत्पादन दिएपछि किसानलाई एक वर्ष लगाउन दिइन्छ र त्यसैको आधारमा मात्रै सिफारिस गर्ने/नगर्ने टुंगो लगाइन्छ ।”

एउटा बीउ सिफारिसका लागि पनि ६/७ वर्षसम्म लाग्ने उनी बताउछन् । उनी  भनछन्, “हामीले पहिले यहाँ रोपेर उत्पादन आएपछि पनि यहाँका त्यसअघिका बीउले भन्दा बढी उत्पादन दिने र रोग प्रतिरोधी क्षमता हुँदा मात्रै नयाँ बीउ सिफारिश गर्दै आएका छौँ ।” किसानका खेतमा लगाएर त्यहाँबाट आएको सुझावका आधारमा मात्रै सिफारिश हुने उनी बताउछन् ।

तराईका लागि जनकपुर स्थित हर्दिनाथ राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र पहाडका लागि बाली विज्ञान महाशाखाले किसानलाई उन्नत जातका धानका बीउ सिफारिश गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button