पोखरा न्यूज – २, बैशाख । आन्तरिक भ्रमण वर्ष २०१९ लाई टेवा पुर्याउन भन्दै पोखरामा विभिन्न क्षेत्रमा क्रियाशील महिलाको टोलि बागलुङ जिल्लाको ढोरपाटन लगायतका स्थानको अवलोकन गरेर फर्किएको छ ।
गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको सन्दर्भमा ग्रामीण पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले भ्रमण आयोजना गरेको मेट्रो इन टुर एन्ड ट्राभल्सका संचालक एवम् कार्यक्रम संयोजक कमला गिरीले जानकारी दिइन् । भ्रमणमा सहभागिहरुले बाग्लुङको पन्चकोट, गल्कोट दरवार,गाईघाट झरना,तुरतुरे ताल हुदै नेपालको एक मात्र बन्यजन्तु शिकार आरक्ष केन्द्र ढोरपाटन शिकार आरक्ष,उत्तर गङा मन्दिर,लालीगुराँस,हिउँ संग रमाउदै गल्कोट पान्डबखानीको सिद्धस्थान सामुदायिक होम्स्टेमा पुगेर स्थानीय सांस्कृतिक एवं धार्मिक पक्षको बारेमा जानकारी लिएको उनले बताइन् ।
आफुले सुनेको ढोरपाटन भन्दा वास्तविक ढोरपाटन निकै रमणीय र फरक पाएको बताउदै तमु समाज युके आमा समुहका सस्थापक अध्यक्ष माया गुरुङले समाज र संस्कृती घुमेर बुझिने भएकाले नघुमेका ठाउँमा घुमेर सबैले आ- आफ्नो ठाउँबाट आन्तरिक भ्रमण वर्ष सफल पार्न सघाउनुपर्ने बताइन् । आफ्नै देशको भौगोलिक अवस्था, रहन सहन र संस्कृति बारेमा पहिला आफैलाई ज्ञान हुनुपर्दछ भन्ने मान्यताले आफुहरु भ्रमणमा निस्केको उनको भनाइ थियो ।
ब्यवसायी महिला मिना अमात्य प्रधानले बाग्लुङ जिल्लाको प्रसिद्ध स्थान ढोरपाटन लगायतको स्थानमा पुगेर २०७५ सालको बिदा र नयाँ बर्ष २०७६ लाई स्वागत गरेको बताइन् । यात्रामा सहभागी ६७ बषिया गीता पराजुलीले यात्राले विकट गाउँको वस्ती र त्यहाँको जनजीवनलाई बुझ्न पाएकोमा खुशी लागेको प्रतिक्रिया दिइन् ।
विभिन्न क्षेत्रका सक्रिय २० जना महिलाहरुको टोली तीन दिने भ्रमण सकेर पोखरा फर्किएको हो ।