आन्तरिक भ्रमण वर्ष सकिनै लाग्दा ३६ लाख खर्चेर ५० जनालाई देश घुमाउदै गण्डकी प्रदेश

दीननाथ बराल, पोखरा न्यूज- ०२, असोज । आन्तरिक भ्रमण वर्षको अन्तिम समयमा  गण्डकी प्रदेश सरकारले भ्रमण वर्षको प्रवर्द्धन गर्न भन्दै देशका मुख्य शहरहरुमा ५० जनाको टोलीलाई घुम्न पठाउने भएको  छ ।

प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ सकिन मात्र ३ महिना  बाँकी रहदा भ्रमण वर्षको प्रचारप्रसार अभियान भन्दै  ३६ लाखको बजेटमा ५० जनाको टोलीलाई देश भ्रमणमा पठाउन लागेको हो ।

विश्व पर्यटन दिवसको अवसरमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको नेतृत्वमा ५० सदस्य एक टोली अभियानमा निस्कने भएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रदेश १, २, ३ र ५ का मुख्य मन्त्री मार्फत सरकारी, गैर सरकारी निकायहरु लगायत स्थानिय जनतालाई समेत मन्त्री लम्सालको नेतृत्वमा गएको टोलीले गण्डकी प्रदेशमा  भ्रमणको  निम्तो दिने भएको हो ।

टोलीले देशका मुख्य शहर तथा  बाटोमा पर्ने पर्यटकीय स्थलको समेत भ्रमण गर्ने  भएको छ । टोली  पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, धनुषा जिल्लाको जनकपुरधाम, सुनसरीको धरान र झापाको विर्तामोड लगायतका स्थानहरुमा पुगी  वी टुवी, पत्रकार सम्मेलन, प्रदेशका चर्चीत कलाकारबाट सांस्कृतिक कार्यक्रममा सहभागी  हुने भएको छ ।

प्रदेश सरकारले आन्तरिक भ्रमण बर्षका लागि यस चालु आर्थिक बर्षमा विनियोजन गरेको १ करोड मध्य उक्त अभियानमा हाल ३६ लाख खर्च हुने भएको मन्त्री लम्सालले बताए । उनका अनुसार टोलीमा मन्त्रालयबाट १०, निजी क्षेत्रबाट ३०, पत्रकार र कलाकारबाट ५/५ जना सहभागि गराउने भएको छ ।

निजी क्षेत्रको तर्फबाट पोखरा पर्यटन परिषदले को को जाने भन्ने बिषयमा छनौट गर्ने भएको छ भने पत्रकारको हकमा पत्रकार महासंघबाट समन्वय भई हाल छनौट भइसकेको आयोजक संस्थाले जनाएकोे छ । निजी क्षेत्रको हकमा भने केही रकम उनीहरुले व्यहोर्नुपर्ने बताइएको छ ।

मन्त्री लम्सालले प्रदेशमा यस बर्ष १५ लाख पर्यटक भित्राउन सकिने दाबी गरे । उनले भने“ नेपालीहरुको महान चार्ड नजिकीदै छ यस अवसरमा धेरै जनता भ्रमणमा निस्कने छन, पर्यटनको सिजन पनि सुरु हुदैछ, सवै हिसाबले अबको बाँकी सभा तीन महिनामा १५ लाख जसो पर्यटकहरु हामी भित्राउन सक्छौं । ”

पोखराको पर्यटन प्रवर्द्धन गर्न विभिन्न पर्यटन सहितका अन्य संघ संस्थाहरुसंग समन्वय गरी बिषेश छुटको व्यवस्था समेत मिलाएको मन्त्री लम्सालले जनाए । उनका अनुसार होटल संघबाट होटलको रुपमा १५ प्रतिशत छृट, रेवान पोखराको समन्वयमा १० प्रतिशत खानामा छुट, प्याराग्लाइडिङमा १० प्रतिशत छुट, ट्रेकिङ रुटमा जाने ट्रेकिङ गाइड टानबाट निशुल्क उपलब्ध गराउने भएको छ ।

टुर प्याकेजमा नाट्टबाट १५ प्रतिशत छुट, ट्रेकिङ इक्युमेन्टमा टेसाबाट १० प्रतिशत छुट, गार्मेन्ट तथा इम्ब्रोइडरीमा १० प्रतिशत छुटको व्यबस्था गरिएको उनले जनाए । बिषेश सहुलियत (प्रिभिलेज) कार्डमा छुट उल्लेख गरिएको छ । कार्डमा गण्डकी प्रदेश आउनुहोस आन्तरिक भ्रमण बर्ष २०१९ मा हाम्रो पाहुना बन्नुहोस लेखिएको छ । उक्त कार्डमा प्रदेश सरकार र मन्त्रालयको लोगो समेत रहेको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आन्तरिक पर्यटन वर्ष सन् २०१९ को सचिवालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आयोजना र नीजि क्षेत्रको सक्रिय सहभागितामा प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले देशका मुख्य शहरहरुमा निम्तो दिदै यही असोज ९ देखि १६ गतेसम्म गण्डकी प्रदेश पर्यटन प्रवर्द्धन अभियान २०१९ हुने भएको पर्यटन बर्ष २०१९ का कार्यक्रम संयोजक जुद्ध बहादुर गुरुङले बताए ।

यस अभियान अन्तर्गत प्रदेश नम्बर-५ को वुटवल, भैरहवा र मणिग्राम, प्रदेश-२ को विरगन्ज, प्रदेश-१ को विराटनगर र प्रदेश-३ को काठमाण्डौं पर्यटन प्रवर्द्धन गर्न टोली जाने भएको हो । काठमाण्डौंमा भने दुई प्रदेशका सरकार बिच व्यवसायिक कार्यक्रम (जी.टु.जी.), सरकार, व्यवसायिक प्रतिष्ठान बीचमा व्यपारीक सहकार्य, (जी.टु.वी.) व्यापारीहरु बिचको अनुभव साटसाट, सहकार्य (वी.टु.वी.), फोटो प्रदर्शनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुने भएको संयोजक गुरुङले बताए ।

प्रदेश सरकारले सन् २०१९ देखि २०२२ सम्मलाई गण्डकी प्रदेश भ्रमण बर्षको रुपमा घोषणा गरेकोले पहिलो बर्ष २०१९ लाई आन्तरिक भ्रमण बर्ष घोषणा गर्दै  १५ लाख पर्यटक भित्राउने  लक्ष्य प्रदेश सरकारले राखेको उनले जनाए ।

सन् २०२० लाई छिमेकी मुलुकका पर्यटन आकर्षण बर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण बर्ष र सन् २०२२ लाई अन्तराष्ट्रिय पर्यटन भ्रमण बर्षको रुपमा मनाउदै २० लाख पर्यटक प्रदेशमा भित्राउने प्रदेश सरकारले दिर्घ कालिन योजनामा समेटेको छ ।

नेपाल सरकारले भने सन् २०२० मा नेपाल भ्रमण बर्ष मनाउदै २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । विश्व पर्यटन संघले तयार पारेको नारा पर्यटन र रोजगारीः भविष्यमा सबैलाई लाभकारी को नाराका आत्मसाथ गर्ने भएको छ ।

भ्रमण टोलीलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले असोज ९ गते पोखराबाट विदाई गर्नैछन् ।  कार्यक्रमको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौंमा गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button