उपल्लो मुस्ताङमा ८० लाख लागतमा वडा कार्यालयको भवन निर्माण

पोखरा न्यूज – ०९, कार्तिक ।  उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण भएको छ । लोमान्थाङ गाउँपालिकाले मौलिक पहिचान झल्कने एकतले पाँचकोठे भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो । रु ८० लाखको लागतमा निर्माण भएको नयाँ भवनबाट कार्यालय सञ्चालन शुरु भएको वडाध्यक्ष रिनजिनदोर्जे विष्टले बताए ।

लोमान्थाङको मौलिक पहिचान झल्कने गरी पर्खाल बनाइएको भवनमा फरक किसिमको झ्याल, ढोका र रङ प्रयोग गरिएको छ । वडाध्यक्ष, वडासचिव, बैठक, सहायताकक्ष र भान्छाकोठाका लागि छुट्टाछुट्टै कोठा बनाइएको छ । वडाध्यक्ष र सचिवको कार्यकक्ष भएको कोठाभित्र शयनकक्ष छ ।

नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज भएको अध्यक्ष विष्टले बताए । तत्कालीन लोमान्थाङ गाविसको भवनमा गाउँपालिकाको कार्यालय सञ्चालन गरिएको छ । यसअघि वडा कार्यालय भाडाको घरबाट सञ्चालन भएको थियो ।

यसैबीच सात सय वर्ष पुरानो लोमान्थाङको बस्तीको मौलिकता संरक्षण र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न विद्युत्को तारलाई भूमिगत बनाइएको छ । जमीनभित्र तार बिछ्याएर सबै घरमा विद्युत् सुविधा पुर्याइएको वडाध्यक्ष विष्टले बताए ।

“बाक्लो बस्तीभित्र विद्युत्का तार तान्दा मौलिक सौन्दर्यमा असर पुग्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम हुने भएकाले बिजुलीको तार, खानेपानीको पाइपलाइन र ढल निकासलाई एकै पटक भूमिगत बनाएका हौँ”, वडाध्यक्ष विष्टले भने ।

विद्युतको तारलाई भूमिगत बनाउन लोमान्थाङ गाउँपालिकाले गत आर्थिक वर्षमा रु एक करोड २५ लाख विनियोजन गरेको थियो । ढल निकासमा रु. एक करोड ३० लाख खर्चेर भूमिगत नाला बनाइएको छ । सङ्घीय सरकारको सहयोगमा निजी धारासहितको खानेपानी आयोजना सञ्चालन गर्न लागिएको छ । बस्तीलाई रातको समयमा उज्यालो बनाउन १ सय ५० सौर्यबत्ती जडान गर्न लागिएको छ ।

लोमान्थाङको माटोको पर्खालभित्रका १६० सहित दुई सय बढी घर छन् । लोमान्थाङमा सोलार प्लान्ट स्थापना गरेर विद्युत् सुविधा पुर्याइएको छ । चीन सरकारको सहयोगमा ७० किलोवाट क्षमताको सोलार प्लान्ट सञ्चालन गरिएको मुखिया ज्ञानेन्द्र विष्टले बताए ।

मौलिकतालाई जोगाउन कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक र केन्द्रीय प्रसारण लाइनको विद्युत्लाई बस्ती बाहिरबाट लैजाने गरी नक्साङ्कन गरिएको छ । बस्तीभित्र अव्यस्थित पार्किङको समस्या हटाउन यस वर्ष बसपार्क निर्माण शुरु भएको छ । लोमान्थाङको बस्ती भित्र्ने ठाउँमा गाउँकौ मौलिकता झल्काउने प्रवेशद्वार बनाइएको छ ।

समुद्री सतहदेखि तीन हजार ७ सय  मिटरको उचाइमा अवस्थित लोमान्थाङमा सात सय वर्ष पहिले तत्कालीन राजा आमेपाल विष्टले बस्ती बसाउनुभएको थियो । लोमान्थाङको पुरानो बस्ती माटोको पर्खालभित्र छ । बस्तीभित्र तत्कालीन मुस्ताङी राजाको दरबार र तीन गुम्बा छन् । पृथक भू–बनोट भएको बस्तीका सबै घरमा माटोका छाना हुनु यहाँको अर्को विशेषता हो । सडक सञ्जालमा जोडिएसँगै लोमान्थाङमा स्वदेशी पर्यटकको आगमन बढेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button