अन्ततः कास्की-२ मा नेकपाको उमेदवार विद्या भट्टराई

दीननाथ बराल, पोखरा न्यूज १६, कार्तिक । अन्ततः कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उप-निर्वाचनमा  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई नै उम्मेदवार बनाउने भएको छ ।

नेकपा जिल्ला कमिटिको एकल निर्णयलाई केन्द्रिय सचिवालयको आज (शनिबार) बसेको बैठकले भट्टराईलाई उमेदवार बनाउने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृृष्ण थापाले  पोखरा न्यूजलाई  बताए ।

नेकपाका पार्टी अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड), महासचिव इश्वर पोख्रेल सहितको टोलीले गरेको उक्त निर्णय औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको अध्यक्ष थापाले बताए । नेकपा प्रदेश कमिटिले भट्टराई सहित सोमनाथ अधिकारी प्यासी, राजकाजी गुरुङ(करण) को नाम केन्द्रमा सिफारिस गरेको थियो भने जिल्लाले एकल नाम भट्टराईको मात्र सिफारिस गरेको थियो ।

केन्द्रबाट भट्टराईको उमेदवारीको निर्णय भएसंगै भोलि आइतबार नेकपा जिल्ला कमिटिको बैठक बसेर चुनावी योजना बनाउने भएको जिल्ला अध्यक्ष थापाले पोखरा न्यूजलाई  बताए । कात्तिक २१ गते उमेदवारको मनोनयन दर्ता भव्य रुपमा गर्नको लागि समेत आफुहरुले गृहकार्य शुरु गर्ने उनले जनाए । कार्तिक  २३ गते नेकपाका पार्टी अध्यक्ष, महासचिव सहितको सहभागितामा कार्यकर्ता भेलाको आयोजना गनिरे भएको अध्यक्ष थापाले जनाए । २४ गते कास्कीका ११  ठाउँमा निर्वाचन चुनाव परिचालन कमिटि निर्माण हुने  अध्यक्ष थापाले बताए ।

यस क्षेत्रका  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको  हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो। उनको मृत्युसँगै कास्की क्षेत्र नम्बर दुईमा प्रतिनिधिसभाका सदस्य पद रिक्त रहेको थियो। भट्टराई अधिकारीकी श्रीमती हुन्।

यस क्षेत्रमा  साझा पार्टीले आफ्नो उमेदवारी प्रस्तुत गरिसकेको छ । रजनी केसीलाई साझा पार्टीले कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सदस्यको लागि उमेदवारी घोषणा गरेको छ  । नेपाली काँग्रेसले पार्टीबाट आधिकारिक  उमेदवारी घोषणा  गर्न सकेको छैन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button