
दीननाथ बराल, पोखरा न्यूज- २५ कार्तिक । पोखराको पहिचान जेठोबुढो धान लोपोन्मुख अवस्थामा पुगेको छ । पोखराको पहिचान बनेको पुरानो स्थानीय धान विभिन्न कारणले गर्दा हाल लोपोन्मुख अवस्थामा पुगेको स्थानिय कृषकहरुले गुनासो गरेका छन्।
पोखरामा शहरीकरणका कारण खेतियोग्य भुमिमा घर तथा भवन निर्माण तथा पोखरामा नयाँ जातको धान हाईब्रिड भित्रिएसँगै जेठोबुढो धान लोपोन्मुख अबस्थामा पुगेको पोखरा २५ हेम्जाका शालिकराम बाँस्तोलाले गुनासो गरे । पोखराको पहिचानको लागि पनि पुरानो धान संरक्षण गर्न उनले माग गरेका छन्।
उनले भने “ पोखराको पहिचान जेठोबुढो, पहेले, गुर्दी सहितका धान हाल लोपोन्मुख अवस्थामा पुगेकाछन्, यसलाई समयमै हामीले संरक्षण गर्न सकेनौं भने हाम्रो पहिचान नै हराउछ, हाइब्रिड धान कुनै समयमा धेरै फले पनि दिगो रुपमा हेर्दा यसले हामीलाई धेरै असर पारेको हुन्छ । ” पोखराको फेवाताल सिरान भाग फेवाफाँट क्षेत्रमा जेठोबुढो धानमा कुर्मा जातको चराले अर्को समस्या उत्पन्न भएको स्थानिय कृषक मानबहादुर थापाले गुनासो गरे ।
पोखरा महानगरपालिकाका बरिष्ठ बागवानी विकास अधिकृत मनोहर कडरियाले पोखराको पहिचान विभिन्न कारणले गर्दा जेठोबुढो धानको उत्पादनमा कमी हुने गरेको बताए । उनका अनुसार महानगरले जेठोबुढो धान संरक्षण गर्ने अभियान अन्तर्गत यस वर्ष कृषक प्रोत्साहन स्वरुप ५ लाख रुपैया बजेटसमेत विनियोजन गरिएको छ ।
स्थानीय तथा पुरानो धान भन्दा हाईब्रिड धान करिब तीन गुणा बढी उतपादन हुने भएकाले कृषकहरु हाइब्रिड धानतर्फ आकर्षित हुँदा पनि पुरानो जातको धान लोप हुने अबस्थामा पुगेको बरिष्ठ बागवानी विकास अधिकृत कडरियाले जनाए । कुनै समुह तथा सहकारीमा आबद्ध भएर न्यूनतम ५ रोपनी क्षेत्रफलमा जेठोबुढो धान खेति गर्नेहरुको लागि हाल महानगरले आवेदन लिन थालेको उनले जनाए । उनका अनुसार यही कार्तिक २८ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
निरन्तर पानी लाग्ने ठाउँमा जेठोबुढो धान रोपिने हुँदा पनि पोखराको पार्दी, फेवाफाँट, काहुँखोला, हेमजा लगायतका ठाउँमा जेठोबुडो धान कम उत्पादन हुने गरेको बरिष्ठ बागवानी विकास अधिकृत कडरियाले बताए । यसपालि पानी धेरै परेको र कीरासमेत नलागेकोले पोखरामा धान उत्पादन भने बढ्न सक्ने उनले जनाए । उनका अनुसार पोखरा क्षेत्रमा करिब २२ हजार हेक्टर क्षेत्रमा धान उत्पादन हुने गरेको छ ।





