चीनको युनान प्रान्त र गण्डकी प्रदेश बीच भगिनी सम्वन्ध गास्ने तयारी

दीननाथ बराल, पोखरा न्यूज-१०, मंसिर । चीनको युनान प्रान्त र गण्डकी प्रदेश बीच भगिनी सम्वन्ध गास्ने तयारी भएको छ । चिनको युनान प्रान्तका गभर्नर रूवान च्याङफा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ बीचको सोमबार बेलुका पोखरामा भएको भेटवार्तामा  छलफल भएसंगै दुबै पक्ष बीच भगिनी सम्बन्ध गास्ने बिषयमा सकरात्मक भएकाछन्।

गभर्नर च्याङफा सहितको ९ सदस्यीय टोलीलाई प्रदेशको राजधानि पोखरामा स्वागत गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको बारेमा प्रस्ट्याउदै  प्रदेशमा पर्यटन, कृषि, उर्जा र व्यापार प्रवर्द्धन गर्न चिनको युनान प्रान्तसंग भगिनी सम्बन्ध गासेर  विकासमा  सहकार्य गर्न चाहेको बताए ।

उनले भने “ हाम्रो प्रदेश अन्य प्रदेश भन्दा सुन्दर छ, यहाँ लगानीको धेरै सम्भावना छ, छिमेकी मुलुक चिन र भारतसँगको सिमाना जोडिएको र प्रदेशको बीच भागमा रहेकोले यहाँको व्यापारको पनि उत्तिकै सम्भावना छ । ” गण्डकी प्रदेशमा पर्यटन, जलबिद्युत, कृषि, उद्योग, व्यापारको लागि धेरै सम्भावना भएकोले यस क्षेत्रमा लगानी गर्न सकिने मुख्यमन्त्री गुरुङको भनाई थियो ।

हालै चिनियाँ राष्ट्रपति सी चिन पिङको नेपाल भ्रमणले आफुहरु निकै उत्साहित भएको बताउदै मुख्यमन्त्री गुरुङले चिनका बिभिन्न शहर र प्रान्तसंग भगिनी सम्बन्ध गास्दै दुबै देश बिचको सम्वन्ध प्रगाढ पार्न चाहेको बताए । नेपाल भ्रमण बर्ष २०२० र प्रदेशको भ्रमण बर्ष २०२२ मा २०/२० लाख पर्यटक भित्राउने लक्ष्य राखेकोमा चिन र भारतका बढी पर्यटक आउने आफुहरुले आशा गरेकोले यसमा पर्यटकहरु नेपाल र पोखरा पठाउन मुख्यमन्त्री गुरुङले आग्रह गरे । चिनसंगको सहकार्यमा प्रदेशमा शैक्षिक आदान प्रदान गर्न समेत चाहेको उनले बताए ।

गभर्नर च्याङफाले नेपाल भ्रमण आफुहरुको निकै फलदायि भएको बताउदै संघिय सरकार देखि प्रदेश हुदै स्थानिय सरकारले निकै उत्साहित भएर आफुहरुलाई स्वागत सत्कार गरेको जनाए । गण्डकी प्रदेशसंग युनान प्रान्तको भगिनी सम्बन्ध गाँस्ने बिषयमा प्रदेश र प्रान्तको बिदेश बिभाग प्रमुख बिच छलफल गरेर अघि बढ्न सकिने बताए ।

आफ्नो प्रान्तमा धेरै पर्यटकहरु आउने गरेको प्रशंग उठाउदै उनले गण्डकी प्रदेश धेरै हिसावले सुन्दर र पर्यटछनको सम्भावना भएकोले आफुहरुले प्रदेशसंग सहकार्य गर्न तयार रहेको जनाए । आफुहरु स्वदेश फिर्ता भएसंगै नेपाल र प्रदेशको बारेमा जानकारी गराउदै चिनिया पर्यटकहरुलाई नेपाल र गण्डकी प्रदेशमा जानको लागि आव्हान गर्ने गभर्नर च्याङफाले जनाए ।

जलबिद्युतमा लगानी गर्न आफुहरु इच्छुक भएको उनले जनाए । उनले भने “ हाम्रा राष्ट्रपतिको नेपाल भ्रमण पश्चात हामी पनि नेपाल भ्रमणमा आएका छौं, हामी नेपालसंगको सहकार्यमा यहाँ कृषि, ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न चाहान्छौं । तामाकोशी तेस्रो जलविद्युत् आयोजनामा युनान सरकारले लगानी गरेको भन्दै यो आयोजना शुरुवात मात्र भएको र आगामी दिनमा युनानले जलविद्युत् क्षेत्रमा थप लगानी गर्ने योजना भएको सुनाए ।

गभर्नर च्याङफा र मुख्यमन्त्री गुरुङ एवं पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले एक आपसमा मायाको चिनो प्रदान गरेका थिए । चिनिया टोलीको महानगर र प्रदेशसंग सकारात्मक कुरा भएको र यसलाई अघि बढाएर  पोखरा र प्रदेशको पर्यटन प्रवर्द्धन गर्नुपर्ने  नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

युनान प्रान्तका गभर्नर च्याङफा सोमबार पोखरा विमानस्थलमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले स्वागत गरेका थिए । युनान प्रान्तकै कुनमिङ शहरसँग ६ वर्ष अघि पोखरा शहर बिच भएको भगिनी सम्बन्धले सांस्कृतिक आदान प्रदानमा सहयोग पुगेको उनले विश्वास व्यक्त गरे ।

भेटका अवसरमा मेयर जिसीलले पोखरालाई पर्यटकीय सहर बनाउने योजनासहित महानगरले पूर्वाधारमा जोड दिएको बताए । उनले प्रविधि मार्फत पोखरालाई सुरक्षित सहर बनाउन योजना पनि महानगरले बनाएको र यसमा चीन सरकारको सहयोग अपेक्षा गरेको बताए । उनले युनान प्रान्तकै कुनमिङ शहरसँग ६ वर्ष अघि भएको भगिनी सम्बन्धले सांस्कृतिक आदान प्रदानमा सहयोग पुगेको बताए । उनले कुनमिङ सहरले गरेको प्रगतिले आफूहरु खुसी भएको बताउँदै त्यही विकासलाई पछ्याउन पोखराले काम गरिरहेको बताए ।

‘कुनमिङ सहरसँग भगिनी सम्बन्ध स्थापित हुँदा जनस्तरबाट सांस्कृतिक, व्यापारिक, औद्योगिक सम्बन्ध विस्तार गर्न सहयोग पुगेको छ,’ उनले भने, ‘चीन सरकारकै सहयोगमा पोखरामा निमार्णाधीन पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलले पनि पोखरा र चीनका विभिन्न सहरमा आवतजावत गर्न सहज हुनेछ ।’ विमानस्थल सञ्चालन भएपछि चिनिया पर्यटकको संख्या वृद्धि हुने विश्वास लिएको भन्दै जिसीले युनान प्रान्तका नागरिकलाई पोखरा घुम्न आउने वातावरण बनाइदिन भाइस गर्भनर गुहुआलाई आग्रह गरे ।

कार्यक्रममा युनान प्रान्तका भाइस गर्भनर झाङ गुहुआले पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउनका लागि गर्न सकिने सहयोग बारेमा चिन फर्केपछि सरकारसँग छलफल गर्ने बताएका छन् । उनले भ्रमणको उद्देश्य सम्बन्ध विस्तार र सहयोग आदानप्रदान नै रहेको बताए । पोखरा संसारकै प्रसिद्ध सहर भएकोले यसलाई पर्यटकीय गन्तव्य बनाउन सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

भेटघाटमा पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, सूचना अधिकारी गंगालला सुवेदी र नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे सहभागी थिए । टोली शनिबार काठमाडौं फर्कने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button