बाल विवाहको शृङ्खला रोक्नै मुस्किल, धवलागिरीमा एकपछि अर्को बाल विवाह

कमल खत्री, पोखरा न्यूज – २५, मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका २५ बर्षिय एक युवक र वडा नम्बर २ लुलाङकी १९ बर्षिय किशोरीबिच मंसिर अन्तिम साता विवाहको तयारी भयो । वैदेशिक रोजगारिबाट विवाहको लागि घर आएका विश्वकर्मा थरका ति युवक र किशोरीका आफन्त समेत उनीहरुको विवाहको चाँजोपाँजो मिलाउन लागे ।

जब विवाहको लागि केटीको उमेर नपुगेको सूचना बाहिर आयो, तब वडा कार्यालयको ध्यान केन्द्रित भयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत गुर्जामा दलित, महिला तथा घरेलु हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रमको शिलसिलामा विवाहको तयारीमा रहेकी किशोरीको उमेर २० बर्ष नपुगेको खुलेसंगै उनीहरुको विवाह अन्तत रोकिएको छ ।

वडा अध्यक्ष झकबहादुर छन्त्याल र सचेतनामुलक तालिममा सहजीकरण गर्न पुगेका प्रशिक्षक मुक्ति ढुङ्गानाले बालविवाहको असर र आईपर्ने कानुनी समस्याबारे केटा पक्षलाई सम्झाई बुझाई गरेपछि केटा पक्षले केटी पक्षको समेत मञ्जुरीमा उमेर पुगेपछि मात्रै विवाह गर्ने समझदारी गरेका हुन् ।

विवाह गर्न लागेकी उनको उमेर १९ बर्षमात्रै भएकाले २० बर्ष पुरा भएपछि मात्रै विवाह गर्न उनीहरु मञ्जुर भएको धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । ‘‘केटा–केटीले हामी पाका छौँ, के गलत के सहि छुट्याउन सक्छौँ, हाम्रो विवाह गर्न किन रोक्ने ? भन्ने प्रश्न उठाएका थिए, उमेर नपुगी हुने विवाहले कानुनी मान्यता नपाउने र कानुनी कारबाहीको भागीदार समेत बन्नुपर्ने अबस्था बुझाएपछि, दुबै जना उमेर पुगेपछि मात्रै विवाह गर्न मञ्जुर भए’’– वडा अध्यक्ष छन्त्यालले भने ।

यो एक प्रतिनिधिमुलक घटना हो । गत साउनमा लुलाङगका १७ वर्षीय युवा मच्छिमकी १७ वर्षीया किशोरी बिच हुन लागेको विवाहलाई पनि रोकिएको थियो । विवाहको लागि ठेकी लगाउन हिँडेका जन्तीलाइ बाल क्लवको अगुवाईमा ताकम प्रहरी चौकी र जनप्रतिनिधिहरुको रोहोबरमा बिचबाटोबाटै फर्काएर बालविवाह रोकिएको थियो ।

दुर्गम भौगोलिक बस्ती रहेको धवलागिरि गाउँपालिकामा यि केहि उदाहरण मात्रै हुन् । यहाँको प्रमुख सामाजिक समस्याको रुपमा बालविवाहले जरो नै गाडेको छ । खासगरि वडा नम्बर २ लुलाङमा यसको व्याप्त समस्या रहेको छ । लुलाङमा बर्षेनी दर्जन बढी बालविवाह हुने गरेको छ । बिगत २२ बर्षदेखि लुलाङ आधारभुत विद्यालयमा पठनपाठन गराउँदै आएका नागेन्द्र ठाकुरले सामाजिक जागरण र जनचेतनाको कमिले यस क्षेत्रमा बालविवाहको शृङ्खला रोक्न मुस्किल परेको बताए ।

‘‘कक्षा ७/८ मा पढ्दै गरेका किशोरीहरु विवाह गर्छन, मेलापर्वमा केटाकेटी मिलेर भाग्ने चलन छ, अभिभावकलाई भन्यो भने, आफै भागेर विवाह गर्छन भन्छन, केटाकेटीलाई सम्झाई बुझाई गर्दापनि समस्या उस्तै हुन्छ’’–प्रअ ठाकुरले भने । आफ्ना छोरा छोरीको चाँडै विवाह गराईदिने सामाजिक परम्परा रहेकाले पनि बालविवाहलाई हटाउन समस्या परेको उनको तर्क छ ।

स्थानीय तह कार्यान्वयनमा आएसंगै गाउँ बस्तीमा समेत जनप्रतिनिधिको उपस्थिति बढेपछि बालविवाह न्यूनिकरणबारे जागरणमुलक कार्यक्रमहरुले प्राथमिकता पाएका छन् । यद्यपी मनैदेखि बालविवाहलाई सम्बन्धित केटाकेटी र उनका अभिभावकहरुकै समस्याको रुपमा ग्रहण गर्ने वातावरण भने अझै सिर्जना भएको छैन् । उमेर नपुगेका केटाकेटीको विवाह दर्ता र उनीहरुको सन्तानको जन्मदर्ता समेत नहुने भएकाले बालविवाह न्यूनिकरण हुँदै गएपनि पूर्ण रुपमा रोक्न नसकिएको लुलाङका वडा अध्यक्ष गमप्रसाद विश्वकर्माले बताए ।

धवलागिरि गाउँपालिकाकै प्रमुख सामाजिक समस्याको रुपमा रहेको बालविवाह वडा नम्बर २ मा भने विकराल अवस्थामा छ । कतिपय केटाकेटीहरु उमेर नपुगेकै कारण गाउँमा विवाह रोकिएपछि गाउँ छाडेर अन्यत्र समेत बस्दै आएको पाईएको छ । गाउँमा सामाजिक रुपमा विवाह गर्न नपाउने भएपछि बालविवाहको तयारीमा रहेकाहरुलाई मनोबैज्ञानिक रुपमा विवाहलाई पछि धकेल्न दबाब सिर्जना हुन थालेको वडा अध्यक्ष विश्वकर्माले बताए ।

दलित समुदायमा शिक्षाको अभाब र जनचेतनाको कमिले बालविवाहको समस्या निम्त्याउने गरेको छ । यो समस्या छिटफुट रुपमा अन्य समुदायमा समेत रहेको छ । धवलागिरि गाउँपालिकाले बालविवाह न्यूनिकरणको लागि अभियान नै सञ्चालन गर्दै आएको छ । बाल बिवाह न्युनीकरणका लागि उपाध्यक्षसंग उमेर सान्दर्भिक बिवाह कार्यक्रम मार्फत जनचेतनामुलक कार्यक्रम गर्दै आएको गाउँपालिकाले रणनैतिक योजना समेत निर्माण गरिसकेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए ।

उनका अनुसार, सन २०३० सम्ममा पूर्ण रुपमा बालविवाहलाई रोक्ने लक्ष्य सहित सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिईएको छ । रणनैतिक योजनामा टेकेर उमेर सान्दर्भिक विवाह कार्यक्रमलाई गैर सरकारी संघ संस्था र बालक्लबहरुको समेत समन्वय र सहकार्यमा प्रभाबकारी बनाईने गाउँपालिकाले जनाएको छ । ग्रामीण भेगमा सानै उमेरमा बिवाह गर्ने प्रचलनको कारण महिलाको शिक्षा, स्वास्थ्यमा असर, मातृ शिशूको स्वास्थ्य जोखिममा पर्ने, घरेलु हिंसा, सम्बन्छ बिच्छेद जस्ता समस्या बढेका छन् ।

यस्तो छ कानुनी कारबाहीको व्यवस्था

मुलुकी ऐन विस्थापित गरी २०७५ साल भदौ १ देखि लागू भएको मुलुकी अपराध संहितामा बालविवाह सम्बन्धी कारबाहीको नयाँ व्यवस्था गरिएको छ । नयाँ व्यवस्था अनुसार विवाह गर्न पाउने न्यूनतम उमेर २० वर्ष भएको छ । यस अघि महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको थियो ।

तर नयाँ कानुनी संहिता अनुसार केटाकेटी दुवैको विवाह गर्न २० वर्ष उमेर पुगेको हुनैपर्ने प्रावधान छ । नयाँ कानुन अनुसार तोकिएभन्दा कम उमेरका केटाकेटीको विवाह गराए यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाका साथै विवाह पनि स्वत बदर हुने कानुनी व्यवस्था छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button