पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई थप जग्गा नदिने स्थानीयको चेतावनी

दीननाथ बराल, पोखरा न्यूज – २६, मंसिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई स्थानीयले थप जग्गा उपलब्ध नगराउने चेतावनी दिएका छन् । राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हाल निर्माणको क्रममा रहेकोले सन् २०२१ देखि हवाई उडान गर्नको लागि थप एक सय ४७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भनी आयोजनाबाट सुचना सार्वजनिक भएसँगै स्थानीयले अहिलेकै अवस्थामा एक इन्च पनि जग्गा नदिने चेतावनी दिएका हुन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिका अध्यक्ष गनेश पौडेलले उक्त आयोजनाले पटक पटक जग्गा अधिग्रहण गरी स्थानीयलाई उठिवास गराएको र त्रसित बनाएकोले अहिलेको अवस्थामा अब थप एक इन्च पनि जग्गा अधिग्रहण गर्न नदिने पक्षमा आफुहरु रहेको बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका हुन् । उनले भने “ पोखरामा विमानस्थल बन्नु पर्छ भनेरै हामीले पहिला सहज ढंगबाट जग्गा अधिग्रहण गर्न दियौं, विमानस्थल निर्माणकै क्रममा पटक पटक जग्गा अधिग्रहण गर्ने निर्णयले हामी निकै प्रभावित हुन पुगेका छौं, केहीले ३/४ ठाउँमासम्म घर बनाउर्दै हिड्नुपर्ने अबस्था आएको छ । ”

मुस्किलले एउटा घडेरी बन्ने बराबरको जग्गा लिएका केहीको भने दुई तिहाइ जग्गा परियोजनाले अधिग्रहण गर्दा बाँकी एक भाग जग्गा कुनै काम नहुने गरी खेर जाने अर्को समस्या रहेको अध्यक्ष पौडेलले जनाए । परियोजनाले आवश्यक पर्ने जग्गा एकै पटक लिएर स्थानीयसँगको सहकार्यमा परियोजना अघि बढाएको खण्डमा आफुहरुलाई पटक पटक घर बनाउने झनझट र जग्गा अधिग्रणको त्रास नहुने उनले बताए । उनले भने “ हाम्रो गाउँ बस्ती नै बिस्थापित हुने गरी जग्गा अधिग्रहण भए पछि हामीले पहिला प्रयोग गर्दै आएको सरह आधारभूत सेवा पिउने पानी, बिद्युत, यातायात, सिंचाइ लगायतको सहज सेवा सुविधा उपलब्ध गराउनु पर्यो ।” रिङरोड, सिंचाइ र समय अनुसारको मुआब्जाको उचित मुल्य हुनु पर्ने अन्यथा आफुहरुले थप जग्गा अधिग्रहण गर्न दिन नसक्ने अबस्थामा आफुहरु पुगेको अध्यक्ष पौडेलले जनाए ।

पोखराबाट हवाई उडान (फ्लाईट) को लागि अत्यावश्यक दक्षिणपुर्वी तर्फ एक सय ६ रोपनी र उत्तरपुर्वी तर्फ भने करिब ४२ गरी एक सय ४८ रोपनी जग्गा आवश्यक परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेस मुनानकर्मीले बताए । स्थानीयको मागको बिषयमा केही स्थानियले विरोध जनाए पनि अधिकांश विमानस्थल बन्नुपर्छ भन्ने सकरात्मक सोचका भएको उनले बताए । जग्गा अधिग्रहण गर्दा मुआब्जा वितरण समितिले विशेष ध्यान दिएर तथा निकै गम्भिर भयर मुल्याङकन गर्न लगाउने आयोजना प्रमुख मुनाकर्मीले बताए । उनले वार्ता र छलफलबाटै स्थानीयको विवादलाई अन्त्य गरी आयोजनाको कामलाई अघि बढाउने भएको उनले बताए ।

पोखरा विमानस्थल निर्माण भएसँगै सन् २०२१ बाट हवाई उडान गर्नको लागि थप जग्गा आवश्यक भएकोले उक्त जग्गा अधिग्रहणको लागि प्रकृया समेत अघि बढाइएको प्रमुख मुनानकर्मीले बताए । क्याविनेट बैठकले समेत केही दिन उक्त जग्गा अधिग्रहण गर्ने निर्णय भएकोले अब छिट्टै प्रकृयामा जाने आफुहरुले तयारी गरेको उनले बताए । उनका अनुसार उक्त जग्गा भित्र करिब १६ घर परेकाछन् । हवाई उडान गर्नको लागि इक्विप्मेन्ट सहितको सामाग्रिहरु रन वे भन्दा केही खुल्ला तथा टाढा राख्नु पर्ने भएकोले उक्त जग्गा आवश्यक भएको भन्दै आफुहरुले अधिग्रहण गर्न प्रस्ताव पेश गरिएको प्रमुख मुनानकर्मीले जनाए ।

१ किलोमिटर लम्वाई र ३ सय ३० मिटर चौडाईको जमिन आवश्यक भएको उनले बताए । भविश्यलाई हेरी थप सुरक्षित र व्यबस्थित पार्न केही जग्गा समेत आवश्यक हुने उनको भनाई थियो । पोखरा विमानस्थल निर्माण कार्य हालसम्म करिब ५२ प्रतिशत सम्पन्न भएको प्रमुख मुनानकर्मीले बताए । सन् २०२१ जुलाइ १० भित्र उक्त परियोजना सक्ने गरी हाल पोखरा विमानस्थल निमार्णको काम धमाधम भईरहेको उनले जनाए ।

२०२९-३० सालमा सर्भे भई २०३२ सालमा ३१ सय ५० रोपनी जग्गाको अधिग्रहणको सूचना जारी गरी २०३४ सालबाट मुआब्जा वितरण गर्न थालिएको थियो । २०३४, ३५ र ३६ सालमा प्रतिरोपनी ४ हजार को दरले मुआब्जा दिइएको थियो भने स्थानीयको आन्दोलनपछि २०३७ बाट १० हजार प्रतिरोपनीका दरले मुआब्जा दिइएको थियो । घरको हकमा प्रतिघर २० हजारदेखि २५ हजारसम्म दिइएको थियो । बि.सं. २०७१ सालमा ५९० रोपनी जग्गा थप अधिग्रहण गर्दा अव्यावहारिक रुपमा भेग र त्यसमा पर्ने व्यक्ति हेरेर मुआब्जाको रकम तोकिएको अध्यक्ष पौडेलले गुनासो गरे ।

हवेली मार्गतिर बाटो नभएकोमा ४८ र भएकोमा ६४ लाख दिइयो भने सोही प्रकृतिको पूर्वी भूभागको जग्गाको हकमा बाटो नभएकोलाई २० र भएकालाई २९ लाख) मुआब्जा दिइएको उनले जनाए । २०७५ सालमा अन्तिमपटक भनि आउटर पेरिफेरल रोडको नाममा तारबारको वरपर १० मिटर चक्लाईको जग्गा अधिग्रहण गरिएको अध्यक्ष पौडेलले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button