पोखरा प्रिमियर लिगका विजेताले २७ लाख पाउने

सुब्रत ढकाल , पोखरा न्यूज – २६, मंसिर । यही मंसिर २८ देखि पोखरामा आयोजना हुन लागेको पोखरा प्रिमियर लिगको दोस्रो संस्करणको विजेताले २७ लाख रुपैयाँ जित्ने भएका छन् भने दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छ ।

आज आयोजित पत्रकार सम्मेलनमा आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले पोखरा रंगशालामा सञ्चालन हुने लिगको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । त्यस्तै लिगको ट्रफी भोलि मंसिर २७ गते २ बजे पोखराको सांग्रिला भिलेजमा सार्वजनिक गरिने आयोजकले जनाएका छन् ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल जित्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलर तीन विधाका विजेताले जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल जित्ने भएका हुन् । यसपटक प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

त्यस्तै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार र उत्कृष्ट क्याच गर्ने खेलाडीलाई सुविसु क्लियर टिभि र प्रत्येक खेलमा सबै भन्दा छिटो अर्धसतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस्ट फिफ्टी प्रदान गरिनेछ । फास्टेस्ट फिफ्टी विजेताले १ वर्षको लागी सुविसु केवलनेट प्रा.लिकोतर्फबाट निशुल्क इन्टरनेट र क्लियर टिभी पाउने पनि आयोजकले जनाएका छन् ।

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज गरी नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ । प्रतियोगितामा भाग लिने सबै टिमले ड्राफ्टमार्फत खेलाडीहरु आबद्ध गरिसकेका छन् भने टिमका खेलाडी पोखरा आउने क्रम सुरु भइसकेको पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।

गत वर्ष २ जना विदेशी खेलाडी रहेकोमा यसपाली प्रत्येक टिममा तीन जना विदेशी खेलाडी रहने छन् । प्रतियोगिता पुस १२ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button