पोखरामा कोरोना भाइरसका कारण चिनियाँ पर्यटक घटे

पोखरा न्यूज – २१ , माघ ।  कोरोना भाइरसको कारण पोखरामा चिनियाँ पर्यटक घटेका छन् । चिनियाँहरुको मुख्य चाड ‘लोहार फेस्टिभल’को मुखैमा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको आवागमन ठप्प भएको व्यवसायीहरु बताउँछन् ।

पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनका अनुसार यतिबेला चिनियाँ पर्यटकको आवागमन ठप्प छ । फेस्टिभलको छेको पारेर नेपाल आउने पर्यटकको संख्या कोरोना भाइरसको कारण रोकिएको उनी बताउँछन् । ‘चिनियाँहरुको जुन फेटिभल थियो लोहार फेस्टिभल,’ उनले भने, ‘यो सिजन अलि लो नै हो उनीहरुको चाडमा नेपाल आउने पर्यटक बढ्दै थिए । भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटकहरुको बुकिङ बढ्दै थियो ।’

नेपाल आउने चिनियाँ पर्यटकको संख्या लगभग डेढ लाख प्रति वर्षको हाराहारीमा रहेको उनले सुनाए । नेपाल आउन चिनियाँ पर्यटकले गराएका धेरै जसो बुकिङ रद्द भई सकेको उनले बताए । ‘यो सिजनमा पोखरामा ३५ देखि ४० प्रतिशत पर्यटक हुनुपर्ने हो,’ उनले भने, ‘त्यसमा पनि २५ प्रतिशत चिनियाँ हुनुपर्ने हो । अहिले एकदमै न्युन छ ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेल कोरोना भाइरसका कारण पोखरामा आत्तिन पर्ने अवस्था नभएको बताउँछन् । ‘विश्वव्यापी रुपमा प्रभाव नेपालमा नपर्ने भन्ने होइन,’ उनले भने, ‘तर, कोरोना भाइरसको कारण हामी आत्तिनु पर्ने अवस्था छैन । कोरोनाको संक्रमण भएको व्यक्ति कोही पनि पोखरा र नेपालमै भेटिएको छैन ।’

कोरोना भाइरसको संक्रमणबाट पोखरा सुरक्षित ठाउँ रहेको समेत उनले जिकिर गरे । पोखरा घुम्न आउँने पर्यटकको लागि ढुक्क भएर आउन समेत उनले आग्रह गरेका छन् । ‘आजसम्म पोखरामा कोरोना भाइरसबाट इन्फेक्टेड मान्छे कोही पनि भेटिएको छैन,’ उनले भने, ‘कोही आइ हाल्यो, भेटिई हाल्यो भने पनि त्यसको जोगिनको लागि नीजि क्षेत्र र सरकारी तवरबाट पनि आवश्यक समन्वय र अन्य तयारीहरु अगाडि बढाई रहेका छौं ।’

प्रकोपको रुपमा विश्वव्यापी रुपमा फेलिई रहेको कोरोना भाइरसका कारण चीनमा मात्रै ४ सय बढीले ज्यान गुमाई सकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button