पोखरा म्याराथनको उपाधि जापानका ताकानासीलाई

दीननाथ बराल, पोखरा न्यूज – ०३ ,फागुन । पोखरा म्याराथनको उपाधि जापानका ताकानासी योसुकेले जितेका छन् । एक सय ४ जना धावकहरुलाई पछि पार्दै ताकानासीले ४२ किलोमिटर दौड २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद दुई लाख पुरस्कार हात पार्न सफल भएका हुन् ।

जापानका ताकानासी भन्दा एक मिनेट ५७ सेकेण्ड ढिलो उक्त दुरी पार गरेका नेपाली धावक किरणसिंह वोगटी दोश्रो हुन सफल भए । केही महिना अघि साउथ एसियन गेम्समा नेपाललाई स्वर्ण पदक दिलाएका वोगटीले २ घण्टा २८ मिनेट ८ सेकेण्डमा दुरी पार गरी नगद एक लाख पुरस्कार हात पार्न सफल भए । करिब ४० किलोटिरसम्म अग्रता कायम गरेका वोगटी पछिल्लो करिब दुई किलोमिटर दौडमा जापानका ताकानासीसँग पछि परेका हुन ।

म्याराथन दौडमा एक सय ५ जना सहभागी भएको भूतपूर्व खेलाडी मञ्च नेपालका महासचिव खेमबहादुर गुरुङले बताए । गण्डकी प्रदेशका अनिस थापा मगर तेश्रो भए । उनले निर्धारित दुरी २ घण्टा २९ मिनेटमा पार गरे भने एपिएफका गणेशसिंह ठकुरीले उक्त दुरी २ घण्टा ४१ मिनेट ६ सेकेण्डमा पार गर्दै चौथो स्थान हासिल गरेका थिए । तेश्रो भएका मगरले ७५ हजार र सान्त्वना भएका ठकुरीले १५ हजार पुरस्कार प्राप्त गरे ।

नेपालमा सहभागि भई पहिलो पटक म्याराथनको उपाधि हात पार्दा आफू निकै हर्सित भएको ताकानासीले बताए । पोखरासँग भगिनी सम्वन्ध रहेको जापानको कोमागाने शहरबाट प्रतिनिधित्व गर्दै २३ बर्षीय ताकानासीले उक्त उपाधि हात पारेका हुन्। साउथ एसियन गेम्समा सहभागि भएको ३ महिना पुरा नहुदै पुनः म्याराथनमा सहभागि भएको हुदा उपविजेतामा सिमित हुनु परेको एपिएफका वोगटीले जनाए ।

१० किलोमिटर सडक दौडमा स्याङजाका पुर्ण बहादुर कार्की प्रथम भएका छन् । उनले निर्धारित दुरी ४० मिनेट ४२ सेकेण्डमा पार गर्दै प्रथम भए । मोरङका याङदेव राई दोश्रो र पर्वतका आसिस कुवंर तेश्रो भए । राईले निर्धारित दुरी ४१ मिनेट ३१ सेकेण्डमा र कुवंरले ४१ मिनेट ४० सेकेण्डमा पार गरेका हुन् ।

१० किलोमिटर दौड प्रतियोगितामा महिला तर्फ धरानकी इन्द्रकला नेम्वाङ प्रथम भएकी छन् । उनले निर्धारित दुरी ५१ मिनेट २० सेकेण्डमा पार गरेकी हुन् । सोलुकी अनिता राई दोश्रो र विदेशी धावक अमेरिकाकी विण्डी तेश्रो भइन् । राईले ५३ मिनेट २७ सेकेण्डमा उक्त दुरी पार गर्दा विण्डिले भने ५४ मिनेट ४७ सेकेण्डमा पार गरेकी हुन्। ७३ बर्षका टंक बहादुर श्रेष्ठले १० किलोमिटर सडक दौड पुरा गरेका थिए ।

५ किलोमिटर छात्र सडक दौडमा कुमुदिनी होम्सका विनोद गुरुङ प्रथम भए । उनले निर्धारित दुरी १७ मिनेट ५३ सेकेण्डमा पार गरेका हुन् । उक्त दुरी १८ मिनेट ३७ सेकेण्डमा पार गर्दै माछापुच्छ्रे गाउँपालिकाको ज्ञान ज्योति माविका विवेक भुजेल दोश्रो भए भने न्यू लाइट बोर्डिङ स्कुलका प्रदीप भुजेल तेश्रो भए । उनले १९ मिनेट ४० सेकेण्डमा उक्त दुरी पार गरेका हुन् ।

त्यसै गरी ५ किलोमिटर छात्रा तर्फको दौडमा घम्पुसकी उदय माविकी विनु विक प्रथम भइन् । उनले २३ मिनेट ६० सेकेण्डमा उक्त दुरी पार गरेकी थिइन् । उक्त दुरी २५ मिनेट ३० सेकेण्डमा पार गर्दै प्रतिक्षा सुवेदी दोश्रो भइन् भने २६ मिनेट ३१ सेकेण्डमा उक्त दुरी पार गर्दै माधुरी देवि कुर्मी तेश्रो भइन् । महिला र पुरुष दुवैतर्फका १० किलो मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १० हजार, दृष्टी विहिन पुरुष महिला विजेताले ५ हजार, ह्विल चियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

ह्विल चियर प्रतियोगिता पुरुष तर्फ सुरेस गौली प्रथम भए । त्यसै गरी भरत अधिकारी दोश्रो र खुमबहादुर पाण्डे तेश्रो भए । महिला ह्विल चियर प्रतियोगितामा पुनम विक प्रथम, धना मगर दोश्रो र लक्ष्मी सुनार तेश्रो भए । दृष्टी विहिनको एक सय मिटर दौडमा पुरुष तर्फ प्रमोद दाहाल प्रथम, आसिस खड्की दोश्रो र प्रेम क्षेत्री तेश्रो भए भने महिला तर्फ विनित सुनार प्रथम, सृजना परियार दोश्रो र सुक माया विक तेश्रो भए ।

यसपालिको पोखरा म्याराथनको अवसरमा करिब ७० भन्दा बढीको मेडिकल सेवा प्रदान गरिएको मेडिकल संयोजक सम्मर बहादुर श्रेष्ठले बताए । नियमित अभ्यास नहुदा धेरै बिद्यार्थीहरुमा केही समस्या देखिएको डा.खड्कसिंह गुरुङले बताए ।

१४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल पार्न १२ देशका २१ जना विदेशी धावकहरु सहभागि भएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए । टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्नले गरेको उनले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले शुभारम्भ गरेको उक्त प्रतियोगितामा ओलम्पियन बैकुण्ठ मानन्धरले विश्व शान्तिको कामनासहित टर्च लाइट लिएर दौडिएका थिए । मुख्यमन्त्री गुरुङ, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश सांसद राजिव पहारी, पोखराका व्यवसायी असोक पालिखेले लगायतले ५ किलोमिटर दौड पुरा गरेका थिए ।

विजयी खेलाडीहरुलाई लक्ष्मी हाउसका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, संयोजक मन्जु गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

विभिन्न दौड सहित रन फर फनमा पोखरा महानगरका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सहितका विभिन्न व्यत्तिहरु दौडमा सहभागि भएका थिए । धावकहरुलाई पोखरेलीहरुले विभिन्न ठाउँमा स्वागत गरेका थिए । उक्त प्रतियोगितामा प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button