तनहुँमा अस्पताललाई पिपीइ सहयोग, लकडाउन उल्लङ्घन गर्ने १ सय ७० सवारीसाधन नियन्त्रणमा

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्यरूपमा लगाउनुपर्ने पिपीइ सहयोग गरेको हो । नगरप्रमुख किसान गुरुङले एक थान पिपीइ र एक थान थर्मलगन उपचार केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठलाई बुधबार हस्तान्तरण गरे । शङ्कास्पद बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मी पनि सुरक्षित रहनुपर्ने भएकाले नगरपालिकाको तर्फबाट उक्त सामग्री प्रदान गरिएको नगरप्रमुख गुरुङले जानकारी दिए ।

कोरोना भाइरसको शङ्कास्पद बिरामी र अन्य रोगका बिरामीको स्वास्थ्य परीक्षण गर्दा सुरक्षित हुन पिपीइले सहयोग पुग्ने अस्पतालका निर्देशक डा श्रेष्ठले जानकारी दिए। उनले  यस्ता सामग्री पर्याप्त भएमा स्वास्थ्यकर्मीको मनोबल उच्च भई उपचारमा लाग्न प्रेरित हुने बताए ।

आइसोलेसन कक्ष स्थापना

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचारका लागि केन्द्रमा आइसोलेसन कक्ष स्थापना गरिएको हो ।

अस्पतालमा कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि बाह्र श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । आइसोलेसन कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ ।

बन्दीपुर गाउँपालिकाले पनि बन्दीपुर अस्पतालका स्वास्थ्यकर्मीलाई तीन थान व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) उपलब्ध गराएको छ । कोरोना सङ्क्रमित बिरामीको सुरक्षितरूपमा स्वास्थ्य परीक्षण गर्नका लागि सामग्री उपलब्ध गराएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । बन्दीपुर अस्पतालमा आठ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ । लकडाउनको अवधिमा राजमार्गमा सञ्चालन हुने अत्यावश्यक सवारी साधनका चालकको पनि थर्मलगनबाट तापक्रम नाप्ने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।

यस्तै व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवनमा आठ, म्याग्दे गाउँपालिकास्थित जामुने स्वास्थ्यचौकीमा पाँच, शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पतालमा चार, घिरिङ गाउँपालिकास्थित स्वास्थ्यचौकीमा दुई र देवघाट गाउँपालिकास्थित धर्मार्थ अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष तयार भइसकेको बताइएको छ ।

आदेश उल्लङ्घन गर्ने १ सय ७० सवारीसाधन नियन्त्रण

नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १ सय ७० सवारी साधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न स्थानबाट उक्त सवारीसाधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले लकडाउन उल्लङ्घन गर्ने १ सय ९ मोटरसाइकल, ५५ स्कुटर, दुई ट्रक, एक कार, एक भ्यान, एक ट्र्याक्टर र एक रिक्सा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीप, कास्कीको सिमाना कोत्रेबजार, सदरमुकाम दमौलीलगायत राजमार्ग क्षेत्रका सात स्थानमा कडाइका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ ।

कोभिड–१९ रोकथामका लागि सरकारको आदेश नमानी अटेर गरी सवारी साधन सञ्चालन गर्नेलाई साधन नियन्त्रणमा लिई प्रहरी कार्यालयमा राखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button