गण्डकीमा कोरोना र्‍यापिड टेष्ट, ४ हजार बढीको परीक्षण गरीदै !

पोखरा । नेपाल सरकारले सातै प्रदेशमा कोरोनाको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) गर्ने निर्णय गर्दै गण्डकी प्रदेशलाई ५ हजार थान र्‍यापिड टेष्ट किटसहित प्राविधिक र स्वास्थ्य सामाग्री पठाएपछि प्रदेशमा सोहीअनुसार परीक्षण शुरु भएको छ ।

गण्डकी प्रदेशको बागलुङमा बिहीबार स्वास्थ्य मन्त्रालयको टोली १ हजार र्‍यापिड टेष्ट किट र सामग्री सहित पुगेर परीक्षण शुरु गरिसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

कोरोना संक्रमण देखिएको बागलुङमा स्वास्थ्यकर्मीको टोलीले द्रुत गतिमा परीक्षण गरिरहेको जनाउदै निर्देशक शर्माले शुक्रबार प्रदेशका तनहुँ, गोरखा, लमजुङ र नवलपुर जिल्लाका लागि र्‍यापिड टेष्ट किटसहित र स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मीको टोली हिडेको बताए । उनले भने – “कास्कीमा हामीले दिनहुँजसो परीक्षण गरिरहेका छौ, बागलुङमा हिजोदेखि शुरु भएको छ, चार जिल्लामा आज पीपीई र र्‍यापिड टेष्टका लागि प्रयोग हुने किट लगायतका सामग्रीसहित टोली पुग्दै हुनुहुन्छ।“

गण्डकी प्रदेशमा ४ हजार १ सय ४६ जना विदेशबाट आएका नागरिक रहेकोमा उनीहरू सबैको र्‍यापिड टेष्ट किट मार्फत दुर्त गतिमा परीक्षण गरिने निर्देशक शर्माले पोखरा न्यूजसँग बताए । निर्देशक शर्माले भने-“हामीले प्रदेशमा चैत ४ गतेदेखि विदेशबाट आउनुभएका व्यक्तिहरुको र्‍यापिड टेष्ट किट मार्फत जिल्ला जिल्लामा पुगेर परीक्षण गर्छौ र त्यहाँ शंका लागेकाहरुको नमुना पोखरा स्थित ल्याबमा ल्याएर पुनः परीक्षण गर्दै नतिजा सार्वजनिक गर्नेछौ ।“ प्रदेशका प्रत्येक जिल्लामा यो अवधिमा विदेशबाट आएका नागरिकको तथ्यांकका आधारमा  र्‍यापिड टेष्ट किटसहित स्वास्थ्यकर्मीको टोली खटाएर परीक्षण गरीने निर्देशक शर्माले जनाए ।

बागलुङमा बिहीबार स्वास्थ्य मन्त्रालयको टोलीले १२ जनाको नमुना संकलन गरी परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको निर्देशक शर्माले बताए । निर्देशक शर्माका अनुसार प्रदेशमा हालसम्म २ सय ८३ जनाको परीक्षण गरीएकोमा २ सय १४ जनाको नतिजा नेगेटिभ, २ जनाको पोजेटिभ देखिएको छ । प्रदेशमा ६७ जनाको नमुना परिक्षणको नतिजा आउन बाँकी रहेको उनले जनाए ।

प्रदेशमा कोरोना उपचारको लागि तोकिएका अस्पतालहरुको जनशक्ति, सेवासुविधा तथा स्रोत साधनको नक्सांकन गर्दै सोहीअनुसार जनशक्ति परिचालन गरिने निर्देशक शर्माले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button