१८ लाख ६७ हजारमा कोरोना सङ्क्रमण, १ लाख १५ हजारको मृत्यु

एएफपी । कोरोनाभाइरसबाट विश्वभर सङ्क्रमितको व्यक्तिको सङ्ख्या १८ लाख ६७ हजार १३० पुगेको  एएफपीले  पुष्टि गरेको छ । सङ्क्रमणका कारण सोमबार साँझसम्ममा विश्वभर १ लाख १५ हजार २७९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिका

उत्तर अमेरिकामा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या सोमबार साँझसम्म पाँच लाख ९८ हजार ८९३ पुगेको छ भने यहाँ यस भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २३ हजार ५०९ रहेकोे छ । संयुक्त राज्य अमेरिकामा मात्रै पाँच लाख ६० हजार ४३३ सङ्क्रमित रहेका छन् भने यहाँ मृत्यु हुनेको सङख्या २२ हजार ११५ छ ।

क्यानडामा सङ्क्रमितको सङ्ख्या २४ हजार ३८३ छ भने ७१७ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा चार हजार ६६१ जना सङ्क्रमित छन् भने २९६ जनाको मृत्यु भएको छ । अन्य बढी प्रभावित मुलुकहरूमा पानामा र डोमिनिकन रिपब्लिक रहेका छन् ।

दक्षिण अमेरिका

दक्षिण अमेरिकामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ५० हजार ७८४ रहेको छ भने यस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार १०८ रहेको छ । यस महादेशमा सबैभन्दा बढी सङ्क्रमित ब्राजिलमा रहेका छन् ।

ब्राजिलमा २२ हजार ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने यसबाट एक हजार २४१ जनाको मृत्यु भएको छ । ब्राजिलपछि दक्षिण अमेरिकी मुलुकहरू पेरू, इक्वेडर र चिलीमा सङ्क्रमितको सङ्ख्या सात हजारभन्दा बढी रहेको छ भने ती मुलुकहरूमा मृत्यु हुनेको सङ्ख्या क्रमशः १९३, ३३३ र ८० रहेको छ । यस्तै कोलम्बियामा कोभिड–१९ का कारण दुई हजार ७७६ सङ्क्रमित भएका छन् भने यहाँ मृत्यु हुनेको सङ्ख्या १०९ रहेको छ । अर्जेन्टिनामा दुई हजार २०८ जना सङ्क्रमित रहेकोमा ९५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

यूरोप

विश्वमा कोभिड–१९ बाट सबैभन्दा बढी सङ्क्रमित भएका छन् । यूरोपमा कूल सङ्क्रमितको सङ्ख्या आठ लाख ९१ हजार १०२ रहेको छ भने यहाँ ७७ हजार ६०१ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यूरोपको स्पेनमा सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी एक लाख ६९ हजार ४९६ रहेको छ भने यहाँ सङ्क्रमणका कारण १७ हजार ४८९ जनाले ज्यान गुमाएका छन् । स्पेनमा सङ्क्रमणपछि निको भएर घर फर्किनेको सङ्ख्या ६४ हजार ७२७ रहेको छ ।

स्पेनपछि बढी सङ्क्रमित रहेको यूरोपेली मुलुक इटलीमा एक लाख ५६ हजार ३६३ जना सङ्क्रमित रहेका छन् भने यहाँ सङ्क्रमणका कारण १९ हजार ८९९ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण इटलीमा मृत्यु हुनेको सङ्ख्या स्पेनमा भन्दा बढी रहेको छ ।

तेस्रो प्रभावित मुलुक फ्रान्समा कोभिड–१९ बाट एक लाख ३२ हजार ५९१ जना सङ्क्रमित रहेकोमा १४ हजार ३९३ जनाले ज्यान गुमाएका छन् । यहाँ निको भएर घर फर्किनेको सङ्ख्या २७ हजार १८६ रहेको छ ।

त्यस्तै जर्मनीमा एक लाख २७ हजार ८५४ सङ्क्रमित रहेका छन् भने यस सङ्क्रमणका कारण तीन हजार २२ जनाको मृत्यु भएको छ । जर्मनीमा निको भएर घर फर्किनेको सङ्ख्या ६४ हजार ३०० रहेको छ ।

अर्को बढी प्रभावित यूरोपेली मुलुक संयुक्त अधिराज्य (बेलायत) सङ्क्रमित ८४ हजार २८९ रहेको छ भने यसका कारण मृत्यु भएकाको सङ्ख्या १० हजार ६१२ रहेको छ । अन्य बढी प्रभावित मुलुकहरूमा बेल्जियम, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड र रूस रहेका छन् । यूरोपका कतिपय मुलुकहरूमा यो सातादेखि सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा कमी आउन थालेको छ ।

एसिया

एसियामा कोभिड–१९बाट सङ्क्रमित हुनेको सङ्ख्या सोमबार साँझसम्म तीन लाख तीन हजार ४७ रहेको छ भने ११ हजार १९५ जनाको मृत्यु भएको छ ।

एसियामा कोभिड–१९बाट सुरूमा सबैभन्दा बढी प्रभावित मुलुक चीन हो । यद्यपि यहाँ कोरोना भाइरसबाट सन् २०१९ को डिसेम्बरपछि करिब मार्च महिनाको मध्यसम्म सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढी रहेको भएपछि त्यसपछि यहाँ यो दर लगभग नियन्त्रणको अवस्थामा देखिएको छ । चीनमा पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढेको भनिए पनि निकै कम सङ्क्रमित रहेका छन् ।

चीनमा कोभिड–१९बाट सङ्क्रमितको सङ्ख्या ८२ हजार १६० रहेको छ भने तीन हजार ३४१ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । चीनमा निको भएर घर फर्किएका विरामीको सङ्ख्या ७७ हजार ६६३ रहेको छ ।

चीनमा सुरूमा सङ्क्रमणका कारण बढी प्रभावित देखिए पनि एसियाली मुलुक इरान पछिल्लो समय सङ्क्रमण बढी प्रभावित मुलुक हो । इरानमा कूल सङ्क्रमितको सङ्ख्या ७३ हजार ३०३ रहेकोमा यसका कारण चार हजार ५८५ जनाको मृत्यु भएको छ । इरानमा निको भएर घर फर्किनेको सङ्ख्या ४५ हजार ९८३ जना निको भएर घर फर्किएका बताइएको छ ।

इरानपछि बढी प्रभावित मुलुकहरूमा इजरायल, दक्षिण कोरिया, भारत जापान र पाकिस्तान रहेका छन् । इजरायलमा सङ्क्रमित (११ हजार २३५) र सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या (११०) रहेको छ ।

दक्षिण कोरियामा १० हजार ५३७ सङ्क्रमित र २१७ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यहाँ निको भएर घर फर्किएकाको सङ्ख्या सात हजार ४४७ रहेको छ । दक्षिण कोरियामा मार्चको मध्यतिर सङ्क्रमितको सङ्ख्या अत्यधिक बढ्दो क्रममा देखिएको भए पनि पछिल्ला दिनमा यहाँको सङ्क्रमण दर न्यून देखिएको छ ।

भारतमा पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम देखिएको र अहिलेसम्ममा कूल नौ हजार २४० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३३१ जनाको मृत्यु भएको छ । भारतमा एक हजार ९६ जना निको भएर घर फर्किएका छन् ।

जापानमा सात हजार ३७० जनामा सङ्क्रमण देखिएको छ भने १२३ जनाको मृत्यु भएको छ । जापानमा निको भएर घर फर्किनेको सङ्ख्या ७८४ रहेको छ ।

पाकिस्तानमा कोरोनाभाइरसका कारण पाँच हजार ३७४ जना सङ्क्रमित रहेका छन् भने ९३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

त्यस्तै अन्य प्रभावित मुलुकहरू सङ्क्रमितको सङ्ख्या सुरूवाती अवस्थामा रहेको देखिएको छ । साउदी अरबमा चार हजार ९३४, फिलिपिन्समा चार हजार ९३२, मलेसिया चार हजार ८१७, इन्डोनेसिया चार हजार ५५७, यूएईमा चार हजार १२३, कतारमा तीन हजार २३१ सङ्क्रमित रहेको बताइएको छ ।

दक्षिण एसियाली मुलुकहरूमा भारत र पाकिस्तान बाहेक अन्य मुलुकमा सङ्क्रमितको सङ्ख्या खासै ठूलो देखिएको छैन । बङ्गलादेशमा ८०३, श्रीलङ्का २१४, भूटान पाँच, नेपाल १४, अफगानिस्तान ६६५, मालदिभ्स २० जना सङ्क्रमित रहेका छन् । बङ्गलादेशमा ३९, अफगानिस्तानमा २१, र श्रीलङ्का सात जनाको मृत्यु भएको छ ।

अफ्रिका

अफ्रिकामा समग्रमा १५ हजार २१० जनामा सङ्क्रमण रहेको र ७९५ जनाको मृत्यु भएको छ । यहाँका बढी प्रभावित मुलुकहरूमा दक्षिण अफ्रिका, इजिप्ट, अल्जेरिया र मोरक्कोमा एक हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

ओसेनिया

यहाँको सबैभन्दा बढी प्रभावित मुलुक अस्ट्रेलियामा छ हजार ३५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ६१ जनाको मृत्यु भएको छ । न्यूजिल्याण्डमा एक हजार ३४९ जना सङ्क्रमित छन् भने पाँच जनाको मृत्यु भएको छ । अन्य मुलुकमा सङ्क्रमितको सङ्ख्या एक वा दुई अङ्कमा सिमित रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button