बागलुङमा लकडाउनले रोकिएन विकास निर्माण

बागलुङ। सरकारले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि चैत ११ गतेबाट लकडाउन घोषण गरेपछि बागलुङ बजार सिगाना हुँदै बरेङ–शान्तिपुर जोड्ने सडकको स्तरोन्नतिको काम गरिरहेका बाँके, कैलाली, रुकुम तथा रोल्पाका कामदार घर जाने तयारीमा थिए ।

कामदार लकडाउका कारण फर्कन थालेको थाहा पाएपछि बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले लकडाउनमा पनि सुरक्षा अपनाएर काम गर्न कामदारलाई आग्रह गर्नुभयो । लकडाउनका कारण कुनै समस्या परेमा आफूले सहयोग गर्ने आश्वासनसमेत दिए । वडाध्यक्षले खान–बस्नको समस्या हुँदैन भनेपछि कामदारहरुको घर जाने बेग रोकियो र सडक स्तरोन्नतिमा लागिरहे ।

लकडानका कारण जिल्लाका धेरै विकासका काम प्रभावित भए पनि एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत बागलुङ क्षेत्र नं १ अन्तर्गतको बागलुङ बजार सिगाना हुँदै बरेङ–शान्तिपुर जोड्ने सडकमा लकडाउनमै धमाधम काम भइरहेको छ । पैतीस मजदुरले तीन खण्डमा विभाजित भएर सुरक्षितसाथ सडकको ग्याविन चिन्ने, पर्खाल लगाउने, पक्की नाली र केही सडक ढलान गर्ने कामसमेत भइरहेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष जिसीले जानकारी दिए ।

जिसीका अनुसार लकडाउनमै वडा कार्यालयअन्तर्गतको बजेटले वडा कार्यालय क्षेत्रमा सडक चौडा पार्ने योजना सम्पन्न भएको समेत जानकारी दिए । सो सडकको कटिङ, ग्राबेलसहितको स्तरोन्नतिका लागि सङ्घीय सरकारको रु एक करोड तथा प्रदेश सरकारको रु एक करोड ५० लाख बजेट विनियोजन भएको थियो । सो रकमबाट बागलुङ नगरपालिका–३ बोक्से घुम्टीबाट वडा कार्यालयसम्मको झण्डै चार किलोमिटर सडकको स्तरोन्नति भइरहेको छ ।

स्थानीय तहको समन्वय भएमा विकास निर्माणका लागि आएको बजेट फ्रिज हुनबाट जोगिने सङ्घीय सांसद डा सूर्य पाठकको भनाइ छ । “लकडाउनका कारण घर फर्कन थालेका ३५ कामदारलाई रोकेर सडक निर्माणमा लगायौँ”, जिसीले भने, “बेला–बेलामा वडा कार्यालयले खाद्यान्न सहयोग गर्दै आएको छ, केही समस्या परे हामीले नै समाधान गर्दै आएका छौँ ।” जिसीका अनुसार लकडाउनका कारण विकास प्रभावित हुँदा हामीलाई नै समस्या हुने भन्दै वडा कार्यालयको समन्वयमा लकडाउनमा भए पनि काम नरोकिएको हो । शुरुमा निर्माण सामग्रीको समेत अभाव हुँदा वडा कार्यालयले नै निर्माण सामग्री ढुवानीका लागि अगुवाइ गरेको थियो ।

अहिले सडकको स्तरोन्नतिको काम अन्तिम चरणमा रहेको छ । लकडाउनमा काम प्रभावित भएको खण्डमा बजेट फ्रिज जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै मजदुरलाई खाद्यान्न सहयोग गरेर काममा खटाइएको थियो । वडा कार्यालयले मजदुरलाई हालसम्म १ सय केजी चामल र १० केजी दाल सहयोग गरिसकेको भन्दै वडा कार्यालयले लकडाउन थपिदै जाँदा पुनः सहयोग गर्ने जनाएको छ । सङ्घीय र प्रदेश सरकारको दुवै बजेटबाट आठ मिटर चौडा सडक र पक्की नालिसहित स्तरोन्नति भइरहेको उक्त सडक निर्माणको जिम्मा विके कन्ट्रक्शनले लिएको छ ।

यस्तै लकडाउनले रोकीएका सङ्घीय तथा प्रदेश सरकारका योजना पुनः शुरु हुन थालेका छन् । लकडाउन थपिँदै जाँदा विकास निर्माण प्रभावित हुन थालेपछि मौजुदा कामदारबाट सडक निर्माण थालिएको हो । यस्तै लकडाउनले रोकिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालीगण्डकी करिडोरले पुनः गति लिन थालेका छन् । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button