पोखरा लगायत गण्डकीमा कोरोना सँगै डेंगुको त्रास, आइतबार ४ जनामा डेंगु संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आइतबार ४ जनामा डेंगु संक्रमण भेटिएको छ । आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा १ जनामा र म्याग्दीमा ३ जनामा डेंगु संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।

स्याङ्जा घर भइ पोखरा महानगरपालिका -१७ बिरौटा बस्दै आएका एक ७० बर्षीय बृद्ध र म्याग्दीका बेनी नगरपालिकाका १ महिला र २ पुरुषमा डेंगु संक्रमण देखिएको निर्देशक डा. शर्माले पोखरा न्यूजलाई बताए ।

“पोखराको पद्म नर्सिङ्ग होमले रिफर गरेका बिरौटा बस्ने एक ७० बर्षीय पुरुष र  बेनी अस्पतालमा आएका  बेनीका बिभिन्न क्षेत्रका ३ जना व्यक्तिमा डेंगु संक्रमण देखिएको छ, कोरोना कहरका बीच देखिएको डेंगु संक्रमणबाट जोगिन हामी सम्पूर्ण प्रदेशबासिलाई लामखुट्टेको टोकाईबाट बच्न बिशेष आग्रह गर्न चाहन्छौ“ – डा. शर्माले भने।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगु रोग अघिल्लो वर्ष भन्दा यो पटक पोखरा लगायत गण्डकी प्रदेशमा छिटो देखा परेको भन्दै डा. शर्माले डेंगु नियन्त्रणको लागि लामखुट्टेको लार्भा र प्युपा बस्ने पानीयुक्त वासस्थान नष्ट गर्नुपर्ने बताए ।

उनले कोरोना कहरको यो अवस्थामा डेंगु नियन्त्रणको लागि सबै मिलेर लाग्नुपर्ने बताए । डेंगु संक्रमणबाट बच्न साझपख घरबाहिर ननिस्कन, घरभित्र सम्भव भएसम्म झुल टाग्न, पानी जम्ने खाल्डा खुल्डी पुर्ने तथा अन्य पानीयुक्त स्थानहरु खाली गर्नुपर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button