पोखरामा माछा मार्न पाएपछि खुशी छन् जलाहारी

पोखरा । बन्दाबन्दीको महिना दिन बितेपछि पोखरा वडा नं १८ खपौँदी पुग्दा जलहारी समुदायको एउटै माग थियो ‘राहत होइन, माछा मार्ने व्यवस्था मिलाइदेऊ ।’

वर्षौ अघिदेखि पुख्र्यौली पेशा गर्दै आएका जलाहारी समुदायले सरकारले बन्दाबन्दीको घोषणा गरेपछि माछा मार्न रोकिएको थियो । बन्दाबन्दीपछि छाक टार्ने समस्यामा परेका ९० जलाहारी परिवारलाई स्थानीय सरकारले आवश्यकता हेरेर राहत वितरण गरेको थियो तर जलाहारीले भने उचित व्यवस्थापन गरेर माछा मार्न दिए राहत नचाहिने माग गर्दै आएका थिए ।

अहिले पोखरा महानगरपालिकाले जलाहारीको मागलाई ध्यान दिँदै एक दिन बिराएर माछा मार्न सहज बनाइदिएपछि उनीहरु अहिले तालको माछाजस्तै रमाइरहेका छन् । खपौँदीकी रमा जलाहारी अहिले खुशी छिन, “निकै गाह्रो भाथ्यो, सरकारले अड्कलेर दिएको राहतमा छाक टार्न अहिले एक दिन बिराएर भए पनि माछा मार्न पाउँदा खुशी लागेको छ, पेशाको कमाइले नै पेट पाल्छौँ अब”, उनले भनिन, “दुई वर्षअघि श्रीमान् बितेपछि माछा मारेरै दुई सन्तानलाई हुर्काउँदै आएँ, एक छोरो बिहे गरेर छुट्टै बस्छ, कान्छो छोरो साथमा छ, उसैले माछा मार्छ मैले बजार लगेर बेच्छु”, उनले माछा मारेर महिनाको रु १५ देखि २० हजार जोगाउन सकिने बताइन।

खपौँदीकै ४५ वर्षीय बुद्ध जलहारीले पनि माछा बेचेर नै तीन सन्तान पाल्दै आएको बताउछन । “तीन वर्षअघि श्रीमान् बितेपछि माछा मारेर नै जीविकोपार्जन गर्दै आएकी छु, छोराहरुले माछा मार्छन् म बेच्ने गर्छु ।” उनले भने, “छोराले जाल थाप्छ, नपुग माछा अरुसँग खरिद गरेर पनि १०/११ किलो बनाउँछु र बिक्रीका लागि लैजान्छु ।” उनले तिल्पिया माछालाई किलोको रु ३०० मा बिक्री गर्ने गरेको बताए ।

खपौँदीका ३१ वर्षीय सन्तोष जलाहारी पनि अहिले खुशी छन, “केही अघि माछा मार्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थियौँ, हाम्रो आवाजको सुनुवाइ भएको छ, खुशी छौँ ।” महानगरले पुख्र्यौली पेशा गर्दै आएका जलाहारी परिवारलाई माछा मार्नका लागि लाइसेन्स अनुमतिपत्र दिएको छ । लाइसेन्स प्राप्त जलाहारीहरुले अनुमति दिएका स्थानमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् भने माछा मारेवापत महानगरलाई किलोको रु पाँच करसमेत तिर्दै आएका छन् ।

हर्पन फेवा मत्स्य सहकारी संस्थाका निवर्तमान अध्यक्ष ज्ञानबहादुर जलहारीले महानगरको निर्णयले अहिले जीविकोपार्जन केही सहज भएको बताए । “वैशाखको १५ गतेदेखि एक दिन बिराएर जाल थापेका हौँ, अहिले ७०/८० किलो माछा मार्ने गरेका छौं, होटल खुलेका छैनन्, घरपरिवारको मागलाई अहिले मारेको माछाले थोरै–थोरै धानेको छ”, उनले भने, “माछा मार्न थालेपछि सरकारको राहत लिदैनौँ, लकडाउन खुलेपछि माछा व्यापारले आफ्नो लय समात्ला अहिले यत्तिमै खुशी छौँ ।” -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button