कोरोना असर बिरुद्ध लड्न गण्डकीमा २ अर्ब ९१ करोड ७६ लाखको कोष

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड १९ र त्यसको असर विरुद्ध लडनको लागि २ अर्व ९१ करोड ७६ लाख रुपैयाँको कोभिड कोष बनाउने भएको छ ।

सोमबार गण्डकी प्रदेशको  बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेका हुन् ।

प्रदेशमा गुणस्तरीय क्वारेन्टिन, संक्रमितको उपचारका लागि विशेष अस्पताल र आइसोलेसन, सघन उपचार कक्ष स्थापना, पिसिआर परीक्षण, औषधि उपकरण खरिद तथा कोष स्थापनाको लागि ६० करोड ४० लाख बिनियोजन गरिएको मन्त्री  गुरुङले उल्लेख गरे  ।

सरकारले कोभिड–१९ बाट मारमा परेकाहरुको रक्षाका लागि १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको पनि घोषणा गरेको छ । सरकारले उक्त  कोषबाट कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायलाई जोगाउन, टिकाउन र सुचारू गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने  मन्त्री  गुरुङले  बताए ।

कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएका कोभिड प्रभावित युवाहरूलाई रोजगारी प्रदान गर्न तथा स्वरोजगार बनाउन प्रदेश  सरकारले १८ करोड ४२ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

स्वरोजगार बनाउन संघ र स्थानीय तहको साझेदारीमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र मार्फत सञ्चालन हुने व्यावसायिक तालिमका लागि १० करोड  ५० लाख  र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र मार्फत सञ्चालन हुने तालिमका लागि ९ करोड ८९ लाख  रुपैयाँ विनियोजन गरेको गुरुङले बताए ।

कोभिड लक्षित कृषि कार्यक्रमका लागि १८ करोड  ५० लाख र पर्यटन तर्फ २ करोड  ५ लाख  रुपैयाँ बिनियोजन भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button