घरको पर्खाल ढलेर एक बालकको मृत्यु

सप्तरी। भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा आज एक बालकको मृत्यु भएको छ ।

उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका बेला बाबु झाको घरको पर्खाल ढलेर स्थानीय ८ वर्षीय उमेश मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

रोलर मेसिनको भ्याब्रेटको असरका कारण पिलर नभएको घरको पर्खालको गारो भत्किएर बालकमाथि खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए। वर्षाको पानीले समेत भिजेर घरको गारो कमजोर भएको हुनसक्ने उनले बताए।

घटनास्थलमै बालकको शव राखी गाउँलेहरु र मृतकका परिवारका सदस्यहरुले प्रदर्शन गरिरहेका छन् । खडक नगरपालिकाबाट लापरवाहीयुक्त काम भएको भन्दै प्रदर्शनकारीहरुले घटनाको जिम्मा लिन र उपभोक्ता समितिका पदाधिकारीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

उनीहरुले क्षतिपूर्तिको माग राखी शव उठाउन नदिएपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कडरबोना, इलाका प्रहरी कार्यालय कल्याणपुर र सशस्त्र प्रहरीको टोली पुगेको छ । ठूलो सङ्ख्यामा परिचालित टोलीले चालकलाई पक्राउ गरी हदैसम्मको कारवाही गर्ने र अन्य आवश्यक प्रक्रियाका लागि पहल गर्ने बताए पनि प्रदर्शन जारी छ ।

छबिल मण्डलको अध्यक्षतामा गठित उपभोक्ता समितिले असारको अन्तिम समयमा नगरपालिकाकै लोडर र स्काभेटर लिएर हतारहतार काम गर्न खोज्दा बालकको ज्यान गएकाले उपभोक्ता समितिका अध्यक्षलगायतलाई कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

काम गर्ने बेलामा उपभोक्ता समितिका पदाधिकारीहरु उपस्थित नरहेको र काममा खटाइएका रोलर, स्काभेटरका चालकका साथै मजदूरले समेत पर्खाल भत्किएर बालक च्यापिँदासमेत वास्ता नगरेको स्थानीयवासीले बताएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button