तनहुँमा होटल व्यवसायीको ३ अर्ब लगानी जोखिममा

कृष्ण न्यौपाने। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले तनहुँ जिल्लामा सञ्चालित होटलहरुको रु तीन अर्ब लगानी जोखिममा परेको छ । कोभिड–१९ बाट तनहुँ पनि प्रभावित भएको र यसले होटल व्यवसायमा गरिएको रु तीन अर्ब लगानी जोखिममा परेको व्यवसायीहरुले बताएका छन् ।

आर्थिक स्रोतको रुपमा रहेका व्यवसाय बन्द हुँदा जिल्लाभित्र सञ्चालित एक हजारभन्दा बढी होटल व्यवसायीको लगानी धारासायी बन्न पुगेको होटल व्यवसायी सङ्घका अध्यक्ष दुर्गाविलास भट्टराईले बताए । उनका अनुसार होटल व्यवसायमा संलग्न आठ हजार कर्मचारीको रोजगारी गुम्ने र यसमा आश्रित २५ हजार जनाको चुल्हो निभ्ने अवस्था सिर्जना भएको छ । “ वर्तमान सङ्कटको सबैभन्दा बढी प्रभावित बनेको होटल व्यवसायीलाई बचाइ राख्नका लागि सरकारले राहत प्याकेज उपलब्ध गराउनुपर्छ”, उनले भने ।

सङ्घले विभिन्न मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । होटल व्यवसायीहरु सबैभन्दा बढी घरभाडाको मारमा परेकाले बन्दाबन्दी अवधिभरको घरभाडा पूर्ण रुपमा छुट र सङ्क्रमणकाल रहुञ्जेलसम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न गर्नुपर्ने व्यवसायीको माग छ । उक्त छुटको लागि घरधनीहरुलाई समेत राहत पुग्ने गरी घरधनीहरुको बैङ्कको कर्जा भुक्तानी समयावधि थप गर्नुका साथै उनीहरुले तिर्ने घरबहाल कर र बैङ्कको ब्याज छुट तथा अन्य कर छुट गर्न स्थानीय तहसँगको समन्वयनमा विशेष राहत कोषमार्फत सम्बोधन गर्नुपर्ने माग गरिएको छ ।

बन्दाबन्दी खुल्नासाथ पहिलेको अवस्थामा चल्न नसक्ने भएकाले बिजुली, पानीको महशुल कम्तिमा एक वर्षको लागि छुट गर्ने व्यवस्था मिलाउन, होटल व्यवसायीलाई राहत स्वरुप एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व छुटको व्यवस्था मिलाउन, बैङ्क तथा सहकारी संस्थाहरुबाट लिएको ऋणको समयावधि कम्तिमा दुई वर्ष थप गर्ने तथा व्यवसायीहरुको ब्याज, किस्ता, व्यवसाय चलेको ६ महिनापछि मात्र शुरु गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button