विकृति अन्त्य गर्न प्रतिष्ठान गण्डकीद्वारा कार्यदल गठन, तीजको दर खाने कार्यक्रम स्थगित

पोखरा । गीत सङ्गीतको क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराले चासो देखाएको छ ।

जसको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको बैठकले प्रदेशका संस्थापक अध्यक्ष शङ्कर विरही गुरुङको संयोजकत्वमा सात सदस्यीय विकृति विसङ्गति विरुद्ध आवश्यक कार्य गर्न कार्यदल गठन गरेको अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । कार्यदलको सदस्यमा माया गुरुङ, राजन कार्की, पौडेल, कृष्ण सुवेदी, दीपक पौडेल र होम गुरुङ रहेका छन् ।

अहिले बजारमा आएका लोक गीत तथा चाड पर्वका गीतमा मौलिकता हराउँदै गएको र समाजमा विकृति र विसङ्गति फैलाउने खालका गीत सङ्गीत आउने क्रम बढ्दै गएकोले आफूहरूको ध्यानाकर्षण भएको अध्यक्ष गुरुङले बताए । समाजमा विकृति फैलाउने खालका गीत गाउने कलाकार, सर्जक, स्रष्टा लगायत सम्बन्धित सबैलाई संस्थागत कारबाही गर्ने निर्णय समेत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको पदाधिकारी समितिको बैठकले गरेको उनले बताए ।
यसै गरी नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा बर्सेनि गरिँदै आएको दिदी बहिनीहरूलाई दर खुवाउने कार्यक्रम यस वर्ष स्थगित गरिएको छ । कोरोनाका कारण यो वर्ष कार्यक्रम स्थगित गर्नु परेको प्रतिष्ठान गण्डकीले प्रस्ट पारेको छ ।

सोही बैठकले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पर्वतका सदस्य समेत रहेका गाउँ सहर दोहोरी साँझ पोखरामा कार्यरत लोकदोहोरी गायक राज विश्वकर्मा मोटरसाइकल दुर्घटनामा परि घाइते भएकोमा कलाकार कल्याणकारी कोष गण्डकी प्रदेशको तर्फबाट उनको उपचार खर्च बापत दश हजार रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरिएको छ ।

प्रतिष्ठान गण्डकीको सचिवालयलाई प्रभावकारी बनाउन सचिव राजन कार्कीको संयोजकत्वमा मञ्जु बिक, रामजी पौडेल, ज्योति लोहनी, माधव चापागाईँ र मधु चापागाईँ सदस्य रहने गरी कार्यालय गठन गरिएको छ । गण्डकी प्रदेश समिति र मातहतका जिल्लाहरूले असार मसान्त सम्मको लेखा परीक्षण गराइ एक वर्ष भित्र जिल्लाले गरेका गतिविधि सहितको आर्थिक तथा साङ्गठनिक प्रगति प्रतिवेदन प्रदेश सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

कलाकार रचित पौडेल र भोजेन्द्र घिमिरेलाई प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्न र गण्डकी प्रदेशका सांसद इन्द्र धारा विष्ट र राजीव पाहरीलाई प्रतिष्ठानको मानार्थ सदस्यता प्रदान गर्न केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय समेत बैठकबाट गरिएको सचिव राजन कार्कीले जानकारी दिए ।

गण्डकी प्रदेश समितिले गण्डकी प्रदेश भित्रका स्रष्टा, सर्जक कलाकारहरूको डाटा अपडेट गर्न लागेको छ । जसका लागि स्रष्टा, सर्जक कलाकारहरूको डाटा सङ्कलन गरेर पठाउनका लागि सम्बन्धित जिल्ला अध्यक्षलाई निर्देशन गरिएको छ । बैठक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा बसेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button