विदेशमा अलपत्र नेपालीलाई फर्काउने क्रम जारी

सुरज भण्डारी। कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घबीचको सहकार्यमा हालसम्म ५८ देशबाट ४६ हजार ३ सय १२ जना नेपाल फर्किएका छन् । नेपाल फर्किएका सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५ सय १ जना रहेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

यसैगरी साउदी अरेबियाबाट छ हजार ९ सय ९७, मलेसियाबाट छ हजार ७ सय ९४, कुवेतबाट छ हजार ३ सय २९ र कतारबाट पाँच हजार २ सय ५१ जना नेपाल फर्किसकेको सङ्घले जानकारी दिएको छ । सङ्घका अनुसार अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, बर्माबाट २६, थाइल्यान्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ७ सय २०, बङ्गलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९, सिङ्गापुरबाट २ सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय ८, टर्कीबाट १ सय १० जना स्वदेश फर्किएका छन् ।

फिलिपिन्सबाट २ सय १, स्विट्जरल्यान्डबाट १०, इराकबाट ३९, दक्षिण सुडानबाट २५०, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, श्रीलङ्काबाट पाँच, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । सङ्घले उल्लेख गरेको तथ्याङ्कमा स्थलमार्ग हुँद नेपाल आएकाहरूको तथ्याङ्क भने समेटिएको छैन ।

यसैबीच विभिन्न देशमा मृत्यु भएका २ सय ४६ जना नेपालीको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १ सय ७२ को मृत्यु भएको देशमै अत्येष्टिका लागि परिवारबाट सहमति प्राप्त भएको पनि बताइएको छ । अब ७६ शव नेपाल ल्याउन बाँकी रहेको बताइएको छ । यस्तै गैरआवासीय नेपाली सङ्घले जनाएअनुसार सङ्क्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार भारतमा गत साता थप दुई जनाको कोरोनाका कारणले निधन भएको छ ।

शनिबार साँझसम्म नेपालसहित विश्वभर २ सय ६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता प्राप्त तथ्याङ्कअनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीहरुमा थप नयाँ सङ्क्रमण देखिएको छ ।

सङ्घको स्वास्थ्य समितिलाई उद्धृत गर्दै सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायत देशमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलिया रहेका १ सय ४६ जना नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ ।

समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । सङ्घका अनुसार लग्जेम्वर्गमा करीब दुई दर्जन नेपालीमा कोरोना सङ्क्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप सङ्क्रमण देखिएको छैन् । विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएको सङ्घले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button