
पोखरा न्यूज । उच्च सरकारी वकिल कार्यालय पोखरा र मातहतका जिल्ला सरकारी वकिल कार्यालयहरूमा कार्यरत उत्कृष्ट सरकारी वकिल तथा कर्मचारी गरी पाँच जनालाई सम्मान गरिएको छ । निजामती सेवा दिवस २०७७ को अवसरमा उहाँहरूलाई सोमबार एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
उच्च सरकारी वकिल कार्यालय पोखराको आयोजनामा भएको कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायधिवक्ता गुरुप्रसाद वाग्ले, सहायक जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्मालाई उत्कृष्ट सरकारी वकिलको रूपमा तथा उच्च सरकारी वकिल कार्यालय पोखरामा कार्यरत नायब सुब्बा भुवन प्रसाद दाहाल, जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जामा कार्यरत नायब सुब्बा दिव्य ज्योति खनाल र जिल्ला सरकारी वकिल कार्यालय तनहुँमा कार्यरत खरिदार राधिका ढकाललाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको हो ।
कोभिड–१९ को महामारीको बिचमा जुम मिटिङको माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय पोखरा मातहतका ७ वटा जिल्ला सरकारी वकिल कार्यालयका कार्यालय प्रमुखहरू भर्चुअल रूपमा जोडिनु भएको थियो । सो अवसरमा उच्च सरकारी वकिल कार्यालय पोखराका उपन्यायाधिवक्ता प्रतिमा कुमारी भट्टराईले सम्मानित पाँचै जनालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तरताको अपेक्षा गर्नुभयो । यसै गरी सम्मानित हुने सरकारी वकिल तथा कर्मचारीहरूको तर्फबाट मन्तव्य राख्दै जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले सम्मानले आफूलाई आगामी दिनमा कार्यसम्पादनमा थप ऊर्जा मिलेको बताउँदै कर्मचारीहरूले सङ्गठनको उद्देश्य प्राप्तिका लागि पदीय जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्मचारीहरूको मनोबल उच्च पार्दै उनीहरूको कार्यसम्पादनमा थप ऊर्जा थप्नका लागि यसै वर्षबाट उच्च सरकारी वकिल कार्यालय तहमा यस्तो खालको कार्यक्रमको सुरुवात गरिएको उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता घनश्याम ओझाले बताउनुभयो । सहायक न्यायाधिवक्ता नारायण आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीका कर्मचारीहरूको सहभागिता रहेको थियो ।





