आम्दानीको श्रोत युट्युब बन्न पुग्यो : गायक कार्की

पोखरा । लोक दोहोरी गायक राजन कार्कीले नयाँ गीत ‘चाडवाडमा’ हालै दर्शक श्रोतामाझ पस्कनु भएको छ ।

जुन गीतको चर्चा यतिबेला बढीरहेको छ । नेपालीहरुको महान् पर्व विजयदशमीलाई लक्षित गरेर कार्कीले गीत सार्वजनीक गर्नुभएको हो । गीतमा आवाज कार्कीसँगै समीक्षा अधिकारी र निस्मा पोखरेलले भर्नु भएको छ । लय तथा शब्द सिर्जना सागर लामाले गरेको गीत तारानाथ आचार्यले एरेन्ज गर्नुभएको हो ।

मालश्री रेकडिङ स्टुडियो काठमाण्डौ र डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरामा रेकर्ड गरिएको गीतको भिडियो समेत आर्कषक बनाइएको छ । युवा निर्देशक नेत्र गुरुङको निर्देशन तथा सम्पादनमा भिडियो तयार पारिएको हो । निस्मा पोखरेलको प्रस्तुतिमा तयार भएको भिडियो पोखरा थिएटरको गन्धर्व नाटकघरमा छायाकंन गरिएको हो । प्रकाश गुरुङ काशले खिचेको भिडियोमा राजन कार्की, सर्मिला अधिकारी,दीपिका क्षेत्री, भरत सुनार, कृष्ण विक, समिर गायकलाई देख्न सकिन्छ । गीत राजन कार्कीको आफ्नै युट्ब च्यानलबाट रिलिज गरिएको हो ।

कोरोना कहरको सुरुवाती समयमा गाउँमा बिताउनु भएका कार्कीले त्यसपछि यो गीत रेकर्ड गर्नु भएको हो गीत मार्फत पाएको सकारात्मक उर्जाले उहाँ हौसिनुभएको छ । अब विस्तारै दर्शक श्रोतालाई मनछुने खालका गीत पस्कने उहाँको तयारी छ । ‘अहिलेको अवस्थाले गर्दा मनमा धेरै कुरा खेल्छन्, तर अब नयाँ–नयाँ गीत मार्फत दर्शक श्रोताको मन जित्ने तयारी छ’ कार्कीले भन्नुभयो । राज्य पक्षबाट कलाकारको पिडालाई सम्बोधन हुने खालका केही काम हुन नसकेको उहाँको गुनासो छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका सचिव रहनुभएका कार्कीले कोरोना महामारीका कारण मेला महोत्सव लगायतका कार्यक्रम हुन छोडेपछि कलाकारको आम्दानीको श्रोत युट्युब बन्न पुगेको बताउनुहुन्छ । ‘कोरोना महामारीका कारण मेला महोत्सव लगायतका कार्यक्रम हुन छोडेपछि अहिले कलाकारको आम्दानीको श्रोत युट्युब बन्न पुगेको छ’ उहाँले भन्नुभयो ।

गायक कार्कीमा दश जना लोक दोहोरी क्षेत्रका हस्तीको आवाजमा दुरुस्तै गीत गाउने खुबी छ । २०६३ सालमा ‘कस्लाई दिनु दोष’ एल्बमबाट औपचारीकरुपमा सांगीतिक यात्रा प्रारम्भ गर्नुभएका कार्कीले विभिन्न गीतको माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाइसक्नु भएको छ ।

गीतको टिकटक मार्फत समेत चर्चा बढ्दैछ । कार्की भन्नुहुन्छ–‘गीत टिकटक मार्फत भाइरल बनिरहेको छ, यसले हामीमा उत्साह थपेको छ, स्थापित कलाकारले समेत टिकटक बनाएर पोष्ट गर्नुभएको छ, खुशी लागेको छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button