लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई कोरोना संक्रमण पुष्टि

पोखरा ।चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । गायक न्यौपानेले आइतबार प्राप्त रिर्पोट अनुसार आफूलाई कोरोना संक्रमण पुष्टि भएको सोमबार जानकारी दिनुभएको हो । उहाँ सहित जीवनसंगीनी भगवती न्यौपानेलाई समेत कोरोना संक्रमण पुष्टि भएको न्यौपानेले खुलाउनुभयो ।

आफ्नो स्वास्थ्यप्रति चासो राख्ने सबैप्रति आभार व्यक्त गर्दै न्यौपानेले कोरोनालाई सजिलै परास्त गर्नसक्ने आत्मबल मिलेको बताउनुभएको छ । ‘हालसम्म स्वास्थ्यमा दुवैलाई केही समस्या छैन, विश्वास छ हामी कोरोनालाई छिट्टै सजिलै जित्नेछौं’ न्यौपानेले पोखरा न्यूजसँग भन्नुभयो ।

ट्रेसिङमा परेर होम आइसोलेसनमा बसेर स्वाब दिई रिर्पोट नआउँदासम्म आफूहरु संक्रमणफैलन नदिन घरमानै बसेपनि सबै यसरीनै बसेको नहुन सक्ने उहाँको चिन्ता छ । स्वाब संकलन गरिसकेपछि रिर्पोट नआउँदाको समयसम्म स्वाब दिएको व्यक्ति होम आइसोलेसनमा बसेको छ छैन कतैबाट निगरानी नभएको पाएको उहाँले सुनाउनुभयो ।

आफ्ना अनुभवसुनाउदै उहाँ भन्नुहुन्छ– ‘सामाजिक सन्देश दिउ भनेर गीत बनाइयो, हात पनि धोइरहेको हो, सामाजिक दुरी कायम गरिराखेकै थियो, जोगिन्छु भन्दा पनि यस्तो अवस्थामा आफै परियो, अरुलाई पनि यस्तै हुनसक्छ, कामै नपरी बाहिर ननिस्कनुहोला यो थाहा नै नपाइकन सर्न सक्छ । यो कुरा ख्याल गर्नुपर्छ । अर्कोकुरा स्वास्थ्यकर्मीले स्याब संकलन गरिसकेपछि स्वाब दिनेलाई विफ्रिङ गर्नुपर्ने देखिन्छ । तपाईहरु संक्रमणको जोखिममा हुनुहुन्छ कसैलाई नछुनुहोला । घरबाट कतै ननिस्कनुहोला भनेर भन्न जरुरी देखिन्छ ।

किनकी स्वाब दिएपछि होम आइसोलेसनमा बसेकालाई निगरानी नहुने गरेको पाइयो । होमआइसुलेसन भनेर भनेको छ तर को कहाँ छ निगरानी गरिएको पाइएन । मनिटरिङ गर्नुपर्ने हो । होम आइसोलेसनमा सबै नबसेको हुनसक्छ । निगरानी नबढाउदा र स्वाब संकलन गरिसकेपछि रिर्पोट नआउदै कामकाजमा लाग्ने, भीडभाडमा लाग्ने गरेको हुनसक्छ सम्बन्धित निकायको ध्यान यता तर्फ जानुपर्ने देखिन्छ । रिर्पोट आएको जानकारी दिने सिस्टम पनि राम्रो देखिएन ।’

हनुमानले लंका डडाए जस्तै कोरोनाले भित्रभित्र धेरै असर पार्न सक्ने देखिएको उहाँले सुनाउनुभयो । नेपालीको महान् पर्व दशैं पछाडि संक्रमण अझ धेरै फैलना खतरा रहेको उहाँ औल्याउनुहुन्छ । नियन्त्रण बाहिरको अवस्था आएमा सरकारले घुटा टेक्ने बाहेक अरु विकल्प नहुनेहुँदा तुरुन्तै यसतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाब छ । आफूहरु होम आइसोलेसनमा व्यवस्थित तरिकाले बसिरहेको उहाँले सुनाउनुभयो । ‘बेसार गुर्जो, टिमुर देखि मरिचसम्म संकलन गरेर राखेका छौँ’ उहाँले पोखरा न्युजसँग भन्नुभयो ।

यता गायक न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटर्स लेखेरै आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिनु भएको छ । नेपालमा कोरोना महामारीको कारण लकडाउन शुरु भएपछि उहाँको आवाजमा ‘कत्ति चिन्ता नलेउ नानीले, भीडमा नजाम्, माक्स लगाम् मुखमा, हात धोई राखा् साबुन पानीले’ बोलको सन्देश मुलक गीत मार्फत सबैलाई जनचेतना फैलाउन अग्रसर बन्नु भएका गायक न्यौपाने आफै भने संक्रमणबाट जोगिन नसकेको स्वीकार्नुभएको छ ।

न्यौपानेले लेख्नुभएको छ– ‘जब चाईनाबाट अन्तराष्ट्रिय जगतमा कोरोनाको संक्रमण फैलिएर, नेपालमा पनी संत्रास, र जनत्रास, छाया , तब गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री माननीय नरदेवी पुनले जनचेतनाका लागि सन्देश मुलक गीत बनाउनका लागि मलाई अनुरोध गर्नुभयो र आज भन्दा ७ महिना अगाडि ०७६ चैत्र ६ गतेनै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको सहकार्यमा मैले आफै गीत श्रृजना गरे, रेकर्ड भयो, छायांकन गरियो र सार्वजनिक समेत गरियो । गीतको माध्यमबाट आम नागरिकहरूलाई सचेत गराउदा गराउदै, स्वास्थ्य मापदण्डको पालना गर्दा गर्दै पनि म आफै र मेरो श्रीमती भगवती न्यौपाने यो महामारी को चपेटाबाट जोगिन सकेनौं ।’

आफ्नो परिवारका नजिकको आफन्तजनमा कोरोना संक्रमण पुष्टि भएपछि आफूहरुले थप सचेतना अपनाएको उहाँले खुलाउनु भएको छ । आफू असोज अन्तिम साता देखी भर्चुवल बाहेक औपचारिक कार्यक्रम, मर्निङ वालक, छिमेक, बजार, काम गर्ने कार्यालय कतै नगई साबधानीका साथ घरको मुख्य गेट लक गरि होम आईसुलेशनमा रहेको उहाँले खुलाउनु भएको छ । अहिले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउदै उहाँले कहीं कतै जान अन्जानमा सम्पर्क भएको शंका लागेका महानुभावहरूलाई स्वास्थ्य समस्या भएमा रोग नलुकाई, सम्पर्कमा रही, होम आईसुलेशनमा बसेर, आफु, आफ्नो परिवार र समाजलाई बच्न र बचाउन मद्दत गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

वलाम वेलटारी स्याङ्गजामा जन्मिनुभएका गायक न्यौपान राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पूर्व अध्यक्ष हुनुहुन्छ । वि.स. २०४६ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिई उत्रिर्ण भए पश्चात ‘वलाम देवि थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका न्यौपानेले एक हजार भन्दा बढी गीतमा आफ्नो सुमुधुर आवाज भरिसक्नुभएको छ । रेडियो नेपाल गण्डकी प्रदेश कार्यालय पोखराको कार्यक्रम अधिकृत न्यौपानेको बसोबास पोखरा १७ विरौटमा रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button