यसपालीको दशैंमा कुनै रौनकता छैन : गायक रामभक्त जोजिजू

पोखरा । कर्णप्रिय स्वरका धनी गायक रामभक्त जोजिजू यसपालीको दशैंमा कुनै रौनकता नदेखिएको बताउनुहुन्छ । यस अगाडिका सबै दशैंमा रौनकता हुने गरेको भएपनि अहिलेको दशैंमा कुनै रौनकता नभएको उहाँले बताउनुभयो ।

‘मेरा यस अगाडिका सबै दशै रमाइला थिए । किनकी विगतका दशैंमा अहिलेको जस्तो कोरोनाको डर त्रास थिएन । रमाइलो हुनुको अर्को कारण आम्दानी निरन्तर भइरहन्थ्यो । अहिलेको जस्तो जता गएपनि रोग सर्ने डर थिएन । स्वतन्त्र थियो’ पोखरा न्यूजसँग कुरा गर्दै जोजिजुले भन्नुभयो ।

यसपाली टीका थाप्न आफन्तकोमा जानेकी नजाने दोधार भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘टीका लगाउन गइहाले डराई-डराई जानू पर्ने स्थिति छ । आफन्तहरु घरमा आउँदा समेत डराउनु पर्ने स्थिति छ । त्यहिमाथी अहिले सबैको आर्थिक अवस्था नाजुक छ । कोरोना महामारीका कारण सबै आर्थिक स्थिति डामाडोल भएको छ । त्यसैले जहाँ छौँ त्यहिी बसेर सीमित व्यक्तिकाबीच चाडपर्व मनाउनु पर्ने बाध्यता सबै नेपालीमा रहेको छ । मैले पनि खर्च कटौती गरि अति आबश्यक कुरालाई  मध्य नजर राखी दशैं मनाउन गैइरहेको छुँ । भगवती माताले दशैंपछि कोरोनाको कहर सबै सखाप पारिदिउन भन्दै सबैमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु ।’

त्यसोत एक दशक काठमाण्डौ बसाईपछि पोखरा आउनुभएका गायक जोजिजुको सक्रियता निरन्तर छ । उहाँले साठीको दशक काठमाण्डौमा बिताउनुभयो । कोरोना महामारीका समयमा समेत विभिन्न सांगीतिक काशेली उहाँले दर्शक श्रोतामाझ पस्किरहनुभएको छ । उहाँले संगीत क्षेत्रमा आउन चाहने नव प्रतिभाको लागि जे.ई. म्युजिक एकेडेमी तथा गीत रेकर्ड गर्नको लागि जे.ई. स्टुडियो फूलवारी पोखरामा सञ्चालन गर्नुभएको छ ।

२०४३ सालबाट सांगीतिक यात्राको आरम्भ गर्नुभएका जोजिजुले २०५१ मा रेडियो नेपालमा स्वर परीक्षा उत्रिर्ण गरी ‘समाल ती पाइलाहरु’ बोलको गीत रेर्कड गर्नुभयो । २०५५ मा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ‘उडेर जुन छुन्छु भन्थे’ गीत गाएका उहाँ प्रथम हुनुभयो । यो गतिले उहाँको परिचयलाई फराकिलो बनाएको थियो ।

२०५६ मा पहिलो एल्बम ‘सुमिलन गर हरिनाम’ बजारमा ल्याउनुभयो । २०५७ मा आधुनिक गीत समावेश गरी निकालेको एल्बम ‘भाग्य’ बाट उनको लोकप्रियता चुलियो । २०५८ मा लोक पप गीत समावेश गरी आएको एल्बम ‘लक्ष्य’ बाट श्रोताको राम्रो साथ पाउनुभएका उहाँले २०६२ मा पुनः भजनलाई समावेश गरी ‘चर्णार्मित’ एल्बम पस्किनुभयो । २०६४ मा आफ्नी जीवनसंगिनी इतु जोजिजु सँगको युगल आवाजमा निकालेको एल्बम ‘छाँया’ बाट सफल युगल जोडीको रुपमा उभ्याउन सफल हुनुभयो । २०६५ मा एकल एल्बम ‘चुनौती’ बाट श्रोताको राम्रै साथ पाउनुभएका उहाँले २०६६ मा पुनः युगल एल्बम ‘चिनो’ पस्कनुभएको थियो ।

२०६८ मा आधुनिक गीति एल्बम ‘चहक’ सार्वजनिक गर्नुभयो । त्यसपछि छुट्टै एल्बम ननिकालेपनि गीत रेकर्ड गर्ने र भिडियो सहित सार्वजनिक गर्ने क्रम रोकिएको भने छैन । यसरी सार्वजनिक भएका गीतलाई दर्शक श्रोताले रुचाउनुभएको छ । यतिबेला समेत उहाँले भजन लगायतका गीत रेर्कड गर्नुभएको छ । उहाँ सामाजिक सञ्जालको माध्यमबाट समेत श्रोता, दर्शक समक्ष निरन्तर जोडिने गर्नुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button