एउटा फिल्म निर्देशन गर्ने रहर छ : परिवर्तन

पोखरा । पोखरा थिएटरको अध्यक्ष हुनुहुन्छ परिवर्तन । पोखरामा रंगमञ्च प्रतिको माहोल बनाउन उहाँ क्रियाशील हुनुहुन्छ ।

विभिन्न नाटकमा अभिनय गर्नुभएका परिवर्तनले नाटक निर्देशन गरिसक्नुभएको छ । पोखराको नाट्यक्षेत्रमा ‘पोजेटिभ भाइब्स’ छर्न सफल उहाँ नयाँ पुस्तालाई नाट्य क्षेत्रमा प्रवेश गराउन समेत लागि पर्नुभएको छ । कोरोनाका कारण प्रभावित बनेको नाट्य गतिविधिलाई पुनः जगाउन उहाँसहितको टिम खटिदैछ । रंगमञ्चको अलावा उहाँले साहित्य क्षेत्रमा समेत रुचि राख्नुहुन्छ । आज हामीले परिवर्तनसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न गरेका छौँ ।

गत चैत्रदेखि हालसम्म हल बाहेकका माध्यमबाट फिल्म हेर्नुभयो कि भएन ? हेरेको भए कुन कुन फिल्म हेर्नुभयो ?

हेरे, यो बिचमा मैले झन्डै एक सय भन्दा बढी फिल्म हेरे हुँला । यसरी हेर्दा नेपाली र बलिउड फिल्म बाहेकका फिल्म मेरो पहिलो प्राथमिकतामा रहे । सबैको नाम भन्न यहाँ सम्भव भएन ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

सबैको रुचि एउटै हुँदैन, धेरैलाई हलमा गएर फिल्म हेर्न रमाइलो लाग्छ । मलाई भने हलमा भन्दा घरमै बसेर फिल्म हेर्दा मज्जा लाग्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

बाल्यकालमा म फिल्मको निकै सौखिन थिए । हरेक शनिबार सिनेमा हलमा पुग्थे । त्यो समय गाउँमा यातायातको सुविधा थिएन । घरबाट सिनेमा हल पुग्न झन्डै तीन घण्टाको बाटो हिडेर जानु पर्दथ्यो । मलाई एउटा घटना अहिले पनि झलझली याद आउँछ । श्रावणको महिनाको २ गते थियो (साल महिले सम्झन सकिन) ।

हामी ४,५ जना साथीहरु फिल्म हेर्न भनेर घरबाट निक्ल्यौ । ठूलो पानी परिरहेको थियो । घरबाट आधा घण्टा हिडेपछि बाटोमा म नमज्जाले हिलोमा पछारिए । पाइन्टको पछाडिको भाग पुरै हिलै हिलो भयो । अब प¥यो फर्साद । फर्केर घर आऊ फिल्म छुट्ने डर । नआउ पाइन्टको पछाडि हिलैहिलो । अन्त्यमा पानीले पुछपाछ गरेर फिल्म हेर्न गए । त्यो घट्ना सम्झदा अझैपनि हाँसो लागेर आउँछ ।

हलमा हेरेको पहिलो फिल्म ?

अजय देवगन र ट्विंकल खन्नाको अभिनय रहेको हिन्दी फिल्म ‘जान’ हो ।
नेपाली फिल्मको सकारात्मक पक्ष ?

मौलिक विषयबस्तुमा फिल्म निर्माण गर्न खोज्नु सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?

प्रस्तुतिमा पनि मौलिक शैली निर्माण गर्नसके नेपाली सिनेमाले विश्वस्तरमा आफ्नो पहिचान स्थापित गर्न सक्थ्यो कि ।

फिल्ममा अभिनय गरौ भन्ने रहर छ ?

फिल्ममा अभिनय गर्ने रहर त छैन, बरु केही वर्षपछि एउटा फिल्म निर्देशन गर्ने रहर भने छ ।

यतिबेला तपाईं आवद्ध पोखरा थिएटरमा केही गतिविधि भएका छन् ?

पछिल्ला दिनमा पोखरा थिएटरमा रंगकर्मी जुट्दै रंगक्षेत्रको बारेमा गफिन सुरु गरेका छौँ् । यसले सुनसान बनेको थिएटरमा रौनकता थप्ने काम गरेको छ । थिएटरको सरसफाई मात्र नभएर आफ्नो क्षमतालाई थप परिस्कृत गर्न रंगकर्मीहरु जुटेर छलफल तथा ज्ञान आदानप्रदान गर्ने कार्य नियमित हुन थालेको छ ।

यसका अलावा चौथो ब्याचको रुपमा हामीले पौष १९ गतेबाट २० जना प्रशिक्षार्थीलाई लिएर नयाँ अभिनय कक्षा संचालन गर्दैछौ । अभिनय कक्षा तीन महिना अवधिको हुनेछ । लाइफ स्किल, ड्रामा, थिएटर, एक्टिङ र प्रोडक्सन क्षेत्रका बारेमा विद्यार्थीले जान्ने मौका यस अभिनय कक्षाबाट प्राप्त गर्न सक्नेछन् । तीन महिनासम्म दैनिक ३ घण्टाको दरले हप्तामा ५ दिन कक्षा हुनेछ । यो फिल्म क्षेत्रमा लाग्न खोज्नेलाई समेत अभिनयको ज्ञान लिने अवसर हुन सक्नेछ । अब विस्तारै नाटक मञ्चनको लागि समेत हामी तयारीमा जुट्दैछौँ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button