मैले हलमा भन्दा घरमा नै बढी फिल्म हेरेको छु : पुरुषोत्तम न्यौपाने

पोखरा । लोकदोहोरी गायनको क्षेत्रमा स्थापित नाम हो, पुरुषोत्तम न्यौपाने । उहाँको जन्म वलाम बेलटारी स्याङजामा भएको हो । २०४६ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिई उत्रिर्ण भए पश्चात ‘वलाम देवी थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गर्नुभएका न्यौपानेले हालसम्म एक हजार भन्दा बढी गीतमा आफ्नो सुमुधुर आवाज भरिसक्नुभएको छ । लोकदोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्ष भैसक्नुभएका न्यौपाने रेडियो नेपाल गण्डकी प्रदेश कार्यालय पोखराको कार्यक्रम अधिकृत हुनुहुन्छ । यसपाली हामीले गायक न्यौपानेसँग उहाँको क्षेत्र भन्दा फरक फिल्मी क्षेत्रका बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईं फिल्म कतिको हेर्नुहुन्छ ?

फिल्म हेर्दै नहेर्ने त हैन । अरुको तुलनामा मैले थोरै नै हेर्छु ।

हलमा हेरेको पहिलो फिल्म ?

सानै उमेरमा एकजना बुबा जीवलाल न्यौपानेसँग बुटवलमा ‘कान्छी’ फिल्म हेरेको एउटा सम्झना छ । त्यसपछि काठमाण्डौंमा २०४७ साल पछाडि आरआर क्याम्पस पढ्दा बबरमहलको कुरिया गाउँमा बसिन्थ्यो । त्यतिबेला भविश्वर पाण्डे, ध्रुव न्यौपाने र म अहिले नारायण रायमाझी दाईको घर भएको क्षेत्रमा त्यतिबेला हामी भाडामा बस्थ्यौ । फिल्म हेर्न शनिबार विद्यार्थीका लागि सहुलियत सो हुन्थ्यो । सहुलियत सो मा टिकट काट्नलाई हामी बिहानै ४ बजे नै उठेर कुमारी हल, विश्वज्योति हल, जय नेपाल लगायतका हलमा फिल्म हेर्नका लागि साथीभाई पुग्थ्यौँ । भीडभाडका साथ लाइन लाएर तछाड–मछाड गर्दै फिल्म हेरेको सम्झना अझै ताजै छ ।

पोखरामा आइसकेपछि फिल्म हेर्नु भएन ?

पोखरा झरीसकेपछि एकपटक पूर्णिमा हलमा रेडियो नेपालको सहकर्मी मित्र राजु भण्डारी, विशालजीत पालिखे, दीपक शिलवाल र म गएर हेरेको पुरानो सम्झना छ । पछिल्लो क्रममा नारायण रायमाझी दाईले निर्माण गर्नुभएका फिल्महरु गोर्खा पल्टन, परदेशी हेरेको छु । लोक क्षेत्रको मानिसले निर्देशन गरेर बनाउनुभएकोले उहाँलाई उत्साह होस् भनेर उहाँले निर्माण गरेका फिल्म हलमा हेरेको छु । लायन्स क्लब अफ पोखरा सेन्टल टाउन मार्फत ‘अभिजालो’ हेरेको छु । सवीन बास्तोला, बुद्धि सागर खनालसहितकोे टिमले निर्माण गरेको भनेर सहयोग गरेका छौँ । घरपरिवारका सदस्य गएर सामुहिक रुपमा फिल्म हेरेको सम्झना समेत मसँग छ ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

मैले हलमा भन्दा घरमानै बढी फिल्म हेरेको छु । अहिलेसम्म हलमा ७ पटक जति मात्र गए होला । कलाकार खगेन्द्र लामिछानेसँग स्याङ्जामा भेट भयो । उहाँबाट फिल्म पशुपति प्रसाद राम्रो छ भन्ने थाहा पाए । त्यसपछि युट्युबको माध्यमबाट हेरे । केही फिल्म यसरीनै युट्युबबाट हेर्ने गर्छु । एकटकले भन्दा नि झल्याक झुलुक फिल्म धेरै हेर्छु । पछिल्लो क्रममा हेर्न मनलागे हेर्ने युट्युब मार्फत नै हो । केही फिल्म टेलिभिजनबाट हेर्छु । हिजो राति मात्रै गणेश उप्रेती र मिथिला शर्माले अभिनय गरेको फिल्म हेरे । सो फिल्म हेर्दा आँखाबाट आँशु नै खसेको थियो ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

गाउँमा फिल्म हल थिएन । मैलै एसएलसी दिने बेलामा वालिङमा टेलिभिजन पनि थिएन । वालिङको बजारमा एउटा कटहरको रुखको फेदमा भिडियो हेर्न, साइकल सिक्न तछाड-मछाड हुन्थ्यो । त्यो भिडियोमा के-के देखियो बिर्सियो । मानिस देखिन्छन्, नाच्छन् भनेर हेरियो । के हेरियो अहिले सम्झना छैन । रहरै रहरमा साथीभाइको संगतमा अनाहकमा पैसा फालियो । कीर्तिपुर बस्दा रामायण हेर्न अर्काको घरमा जान्थ्यौं  । हामी बसेको घरमा टेलिभिजन थिएन । रामायण तथा शनिबार नेपाल टेलिभिजनबाट प्रसारण हुने फिल्म हेर्नका लागि तछाड-मछाड गरेर हेरेको भुलेको छैन ।

तपाईंको फिल्म हेर्दाका अनुभूति ?

फिल्म समाजका दर्पण हुन् । फिल्मले समाजमा हुने घटनाको प्रतिनिधित्व गर्छ । विभिन्न विषयमा फिल्म बनेका हुन्छन् । काल्पनिक घटना, विकृति विसंगतिको बारेमा सचेतना, भष्ट्रचारको जालोको भण्डाफोर, सामन्तका कुरा, नेताका कुरा, मायाप्रेमका कुरा, लडाई झगडाका कुराहरु फिल्म मार्फत हेर्न पाइन्छ । कति वास्तविकताको नजिक हुन्छन् त्यस्ता फिल्म हेर्दा आनन्द लाग्छ । केही फिल्म सन्देशमुलक हुन्छन् समाजमा चेतना छर्न सघाउँछन् । हुन त केही फिल्म युवालाई उत्तेजना गर्ने हुन्छन् । फिल्ममा देखिएको हेयर स्टाइल, फेसनको स्टाइल लगायतको नक्कलले केही विकृति ल्याएको मलाई आभास हुन्छ ।

मनपर्ने फिल्म र कलाकार ?

मनपर्ने फिल्म भनेरै यो भन्ने छैन । लोकलयमा आधारित गीत समावेश गरेर लाहुरेका कथा व्यथा भएको कारण ‘परदेशी’ र ‘गोर्खा पल्टन’ मनपरेको हो । शैक्षिक व्यत्तित्व तथा बौदिक व्यत्तित्व भएकोले हिरोमा राजेश हमाल मनपर्छ । श्रीकृष्ण श्रेष्ठसँग संगत भयो । उहाँको नृत्य धेरै मनपथ्र्यो । दिलिप रायमाझी नृत्यमा त्यस्तै । भुवन केसी बाल्यकालमा हेरेको भएर जानियो । शिव श्रेष्ठका कुरा जानियो । वीपना थापा, रेखा थापा, सरोज खनाल, मिथिला शर्मा, गौरी मल्लको अभिनयको प्रशंसक हुँ । हाँस्य क्षेत्रका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका सिरियल, जीतु नेपाल, शिवहरी पौडेल, शिवहरी वैरागीका मनोरञ्जनात्मक कार्यक्रम मनपर्छ ।

केही हिन्दी फिल्म हेरेको छु । सबैको नाम बताउन सक्दिन । म फिल्मका गीतबाट धेरै प्रभावित हुन्छु । किनकी भारतीय फिल्ममा राम्रा–राम्रा गीत समावेश भएको पाउँछु । छायाकंन तथा अभिनयको हिसाबले समेत भारतीय कलाकारको अभिनय जीवन्त लाग्छ । अनिल कपुरको ‘नायक’ फिल्म साह्रै मनपरेको थियो ।

नेपाली फिल्मको सुधार गर्नुपर्ने पक्ष ?

पैसा कमाउने मात्र नभएर समाजमा चेतना फैलाउने सन्देश दिने खालको फिल्म हुनुपर्छ । यो क्षेत्रमा लाग्ने कलाकारको अभिनयमा निखारता हुनुपर्छ । हात चलाउन जानेको छैन, खुट्टा चलाउन जानेको छैन तलाई हिरोइन बनाइदिन्छु भनेर अवसर दिँदा फिल्म खल्लो भएका छन् । म अभिनय क्षेत्रमा राम्रो छु, नृत्य क्षेत्रमा राम्रो छु, मेरो गेटअप राम्रो छ, हेर्दा राम्रो देखिन्छु, मेरो बौद्धिकता समेत छ भन्न सक्ने कलकार अहिलेको आवश्यकता हो । कलकारलाई सामान्य कुराको चेतना त हुनैपर्छ । कहिलेकाही सामान्य कुराको समेत ज्ञान नहुँदा विवादित बनेका कुरा आइरहेका छन् । कलाकारले सामान्य विषयवस्तु जान्नैपर्छ । देशको बारेमा समेत केही ज्ञान हुनपर्छ । अध्ययन, तालिम र अनुभवको आधारमा कलाकार निखारिनुपर्छ । अनि समाजको अपनत्व हुने विषयवस्तु फिल्मले समेट्न सक्नुपर्छ ।

फिल्ममा अभिनय गर्ने रहर पलायन ?

मलाई फिल्ममा अभिनय गर्ने रहर कहिल्यै पलायन । गीतमा लीप सिन दिँदात मलाई अप्ठ्यारो लाग्छ । किनकी मेरो सकारात्मक पक्ष आवाज हो । आफ्नो गीतमा आफै मोडल हुन्छु भन्ने रहर कहिल्यै पालिन । भिडियोमा त देखिन नरुचाउने मैले फिल्म खेल्छु भन्ने रहर बनाउने कुरै भएन । मलाई गायनमानै रुचि भयो, अभिनयमा रुचि भएन ।

कार्यक्रमको सिलसिलामा फिल्मी कलाकारसँग कतिको भेट हुन्छ ?

अहिलेसम्म कार्यक्रमको सिलसिलामा धेरै फिल्म कलाकारसँग भेट भएको छ । राजेश हमालसँग कार्यक्रममा विदेशमा घुम्न पाए । भुवन केसीसँग कतारमा कार्यक्रम गरेको छु । श्रीकृष्ण श्रेष्ठ, बीपना थापा, मदनकृष्ण श्रेष्ठ हरिवशं आचार्य, रामकृष्ण ढकाल, सिन्धु मल्ल, किरण केसी, शिवहरि पौडेल, नरेन्द्र कंसाकारसँग दुबईमा कार्यक्रम गरे । दिलिप रायमाझी र सुशील क्षेत्रीसँग समेत कार्यक्रममा हिडेको छु । फिल्म क्षेत्रका धेरै कलाकारसँग भेट भएर उनीहरुको अगाडि प्रस्तुति राख्ने अवसर मलाई मिलेको छ ।

फिल्मका दर्शक तथा फिल्मका निर्मातालाई के भन्नुहुन्छ ?

सम्रगमा हामी नेपाली भइसकेपछि नेपालीको रीतिथिति चालचलन रहनसहन संस्कृतिका कुराको बारेमा बनाइएको फिल्महरु हामीले हेर्नुपर्छ । नेपालीले नेपाली फिल्मलाई माया गर्नुपर्छ । हामीले हेर्यौ भने पो निर्माताले गरेको ठूलो लागानी डुब्दैन । निर्माता नडुबेपछि अर्को फिल्म बन्छ । फेरि कलाकारले आफ्नो क्षमता देखाउन पाउँछन् । बल्ल पो यो क्षेत्र धानिन्छ ।

सबैले पैसा तिरेरै फिल्म हेर्ने बानी बसाल्नुपर्छ । किनकी यसमा धेरै लगानी भएको हुन्छ । सो लगानी उठाउनको लागि पैसा तिरेर हेर्नुपर्छ । दर्शकको माया पाउन कलाकार अब्बल बन्नुपर्छ । निर्माताले पनि सामाजिक फिल्म निर्माण गरिदिनुपर्छ । यति गर्न सके फिल्मप्रतिको आर्कषण बढ्नेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button