फिल्मको टिकट काट्न ठूलै कष्ट हुने गर्थ्यो: सन्तोष कोन्मे

पोखरा । २०५८ सालमा ‘यो मन’ बोलको गीत रेर्कड गरी नेपाली सांगीतिक फाँटमा डेब्यु गरेका गायक हुनुहन्छ सन्तोष कोन्मे । कास्की मादीको बरालडाँडामा जन्मनुभएको उहाँले २०६७ सालमा पहिलो एल्बम ‘मृत्युपछि’ बजारमा ल्याउनु भएको थियो । त्यतिबेलाको समयमा गीत चलेपनि एलबमबाट आम्दानी खासै हुदैनथ्यो । उल्टै खर्च मात्र हुन्थ्यो । त्यसैलै उहाँ गीतसंगीतमा भन्दा क्यामरा खेलाउन तिर आर्कषित हुँदै जानुभयो । फलस्वरुप उहाँ म्युजिक भिडियो र फिल्मतर्फ व्यस्त हुनुभयो । आम्दानी राम्रै हुँदै गयो । अहिले समेत उहाँ म्युजिक भिडियो र फिल्म छायाकंन तथा सम्पादनतर्फ व्यस्त हुनुहुन्छ । त्यसोत उहाँले सांगीतिक यात्रालाई समेत साथसाथै अगाडि बढाउन खोज्नु भएको छ । कोन्मेले कोरोना कहरको समयमो नयाँ गीत ‘विन्ती’ पस्कनु भयो । उहाँ गुरुङ फिल्म एशोसिएशन नेपालको प्राविधिक विभाग प्रमुख उहाँ कोन्मे इन्टरटेन्मेन्ट प्रालिको मेनेजिङ डाइरेक्टर समेत हुनुहुन्छ । हामीले उहाँसँग यसपाली फिल्मी क्षेत्रको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हर्नुहुन्छ ?

राम्रा फिल्म रिलिज भएको बेला र मनपर्ने कलाकारको फिल्म रिलिज भएको बेला हेर्छु ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

फिल्म हेर्ने माध्यम अहिले युट्युब, नेटफ्लिक्स जस्तो इन्टरनेटको माध्यमबाट समेत हेरिन्छ । तर फिल्म हेर्ने पहिलो माध्यम हल नै हो ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा फिल्म हेर्नुको मज्जा नै फरक हुन्छ । ठूलो पर्दा, राम्रो साउण्ड, हलभरि दर्शक, घरमा हेर्दा त्यसको तुलनामा फिल्म हेरेको जस्तो मज्जा लाग्दैन । विशेषगरी कतिपय फिल्ममा राखिएको व्यागराउण्ड साउण्ड हामीले घरको साउण्डसिस्टमबाट सुन्न सक्दैनौ । घरमा फिल्म हेर्दा बेलाबेलामा बाहिरी धेरै कुराले डिष्र्टब गर्छ । सोही कारण फिल्म हेर्न त हलमानै रमाइलो हुन्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाको रमाइला अनुभव ?

फिल्म हेर्दाका रमाइला अनुभव थुप्रै छन् । श्रीकृष्ण हलमा ‘मस्त’ भन्ने फिल्म लागेको थियो । हामी सानै थियौ । परिवारसँग गएर ‘ड्रेसकल’मा बसेर फिल्म हेरेको याद थियो । तर स्पेशल, ड्रेसकल कुनलाई भन्छ थाहा थिएन । त्यो बेला हामीले आफै लाइनमा बसेर टिकट काटेर फिल्म हेर्ने सम्भव थिएन । फिल्मको टिकट काट्न ठूलै कष्ट हुने गथ्र्यो । टिकट काट्दा ठूला–ठूला झगडा हुने गर्थे ।

ब्ल्याकमा टिकट बिक्री गर्थे । एकचोटी हामीले ब्ल्याकमा टिकट किन्यौ । ब्ल्याकमा टिकट बेच्नेले स्पेशलको दिउ कि ड्रेसकलको भनेर सोध्दा स्पेशल भन्यौ । किनकी स्पेशल भनेको त विशेष होला भन्ने भयो । हामी टिकट काटेर भित्र छिरेउ । अनि माथि उक्लिएउ । अनि टिकट चेक गर्ने दाईले तपाईंहरुको तल हो भनेर पठाउँदा हाँसो लाग्यो लाज पनि लाग्यो । स्पेशल भनेको विशेष रहेनछ ड्रेसकल भनेको पो विशेष रहेछ ।

अर्को कुरा कल्पना हल पुनः निर्माण गरेपछि पहिलो फिल्म नै होला सायद ‘कभी खुशी कभी गम’ लागेको थियो । हामी होस्टेलमा बस्थ्यौ । साथीहरुले फिल्म हेर्न जाने सल्लाह ग¥यौ । तर होस्टलबाट जान सम्भव थिएन । अनि आइडिया निकाल्यौ । पन्थी गल्लीमा १० रुपैयाँ कपाल काट्ने बहुदल हेयर कटिङ थियो । साह्रै भीड हुने गर्थ्यो। त्यहाँ कपाल काट्न जाने भनेर होस्टलमा भन्यौ र फिल्म हेर्न गयौ । होस्टलमा सधैँ ढिला किन भन्दा ? कपाल काट्ने मान्छे धेरै भएर भन्दा सधैँ पत्याउनु हुन्थ्यो । फिल्म हेर्न त गईयो तर फिल्म यति लामो रैछकी साढे ३ घण्टा लामो । पुरै फिल्म हेरेर फर्कदा ढिला भयो । होस्टेलमा त्यस दिन मज्जाले गाली खाईयोे ।

हलमा हेरेको पहिलो फिल्म कुन हो ?

पहिलो फिल्मको बारेमा खासै याद भएन ।

मनपर्ने फिल्म कलाकार ?

बलिउडमा सलमान खान, रानी मुखर्जी, प्रिति जिन्टा विशेष मनपर्छ । नेपालमा राजेश हमाल, निरुता सिंह, श्रीकृष्ण श्रेष्ठ सहित अहिलेका प्रायः सबै राम्रो लाग्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली फिल्म नै धेरै हदसम्म फड्को मारेको छ । बजार विस्तार भएको छ । ढिलै भएपनि आफ्नोपन चिन्न थालेको छ ।

सुधार गर्नुपर्ने पक्ष ?

हामीलाई हाम्रै कथा माथि पूर्ण विश्वास छैन । हाम्रो कथालाई फिल्म मार्फत कसरी भन्ने कुन तरिकाले भन्दा प्रभावकारी हुन्छ त्यो सुत्र अझै पत्ता लागेको छैन । प्रायः निर्माता हाम्रो आफ्नै कथामा भन्दा विदेशी फिल्मको नक्कल गरेर निर्माण गर्न हौसिन्छन् । आफैमा विश्वासको कमी छ हामीमा । अब यसलाई सुधार गर्नुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर पलायन ?

हरेकलाई हुँदो हो यो रहर ममा पनि सानोमा थियो, नहुने कुरा भएन । तर एकजना आफन्तले यस्तो थेप्चे नाक भएको कहाँ हिरो हुन्छ भनेपछि त्यो रहर कहिल्यै आएन । हुनपनि त्यो बेला हाम्रा अनुहार भएको मतलब मंगोलियन अनुहार भएका हिरो हुने हिरोइन हुने क्रम खासै थिएन । अहिले बरु त्यस्तो छैन ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

फिल्म क्षेत्र चलायमान हुन गाह्रो भएको छ । सबै फिल्मकर्मीको जीवन कस्टकर बनेको छ । कोरोनाको कारण सायद चाडै हाम्रो क्षेत्र चलायमान होलाकी आशा गरौ । कोरोनाको कहर सकिएर पुनः हामी काममा फर्कन पाउँ । सबै फिल्मकमीलाई धैर्यताका साथ बस्नुहुन अनुरोध छ । सबैलाई यो महामारीको समयमा सर्तकता अपनाउन अनुरोध गर्दछु ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button