फिल्म हेरेर साथीलाई कहानी सुनाउन आतुर हुन्थेँ : सुमन श्रापित

पोखरा न्यूज । गीतकार सुमन श्रापितको स्थायी ठेगाना बाग्लुङ नगरपालिका-९, तित्याङका हो । हाल उहाँ पोखरा १८ मा बस्नुहुन्छ । उहाँले नेपाली सांगीतिक फाँटमा सम्भावना बोकेको गीतकारको रुपमा आफूलाई उभ्याउन सफल हुनुभएको छ । उहाँले रचना गरेका गीतमा उदित नारायण झा, विवि अनुरागी, प्रशान्त तामाङ, दीपा झा, रामकृष्ण ढकाल, हेमन्त शर्मा, अञ्जु पन्त, देविका बन्दना, स्वरुपराज आचार्य, राजु परियार, सुनिता दुलाल, माण्डवी त्रिपाठी, मिलन अमात्य, अन्जना गुरुङ, मेलिना राई आदि कलाकारले आवाज भरेर जीवन्तता दिइसक्नुभएको छ । सबै विधाका गीत रचना गर्नसक्ने खुबी श्रापितमा छ । अघिल्लो वर्ष उहाँको पोखरामा एकल साँझ भएको थियो । पत्रकारिता र साहित्य क्षेत्रमा समेत उहाँको उतिकै रुचि छ । उहाँले गीत रचना मात्रै नभएर आवाज समेत भर्नुभएको छ । श्रापितसँग यसपाली फिल्मी क्षेत्रसँग सम्बन्धित प्रश्न गरेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

फिल्म प्रतिको मोह उमेर अनुसार हुँदो रहेछ । विद्यार्थी जीवनदेखि ७, ८ वर्ष अघिसम्म निकै फिल्म हेरियो । बाग्लुङमा पूजा चलचित्र मन्दिर भन्ने हल थियो । हिन्दी फिल्म १५,२० दिनमा चेन्ज हुन्थ्यो तर नेपाली फिल्म थोरैमा पनि ५१ दिनसम्म हलमा लाग्थ्यो । नयाँ फिल्म लागेको छ भन्ने थाहा पाएपछि स्कूल हापेर आमालाई अनेक बहना बाजी गरेर ढाटेर फिल्म हेर्न बजार जान्थेँ किनकी पहिला फिल्म हेरेर कक्षाका साथीहरुलाई फिल्मको कहानी सुनाउनको निम्ति । त्यसो गर्दा त्यति बेला आफूलाई निकै महान सम्झिन्थ्यो । त्यति मात्रै नभएर बाग्लुङका अलबा कुश्मा बजारसम्म फिल्म हेर्न आउथेँ । त्यसपछि उच्च शिक्षा अध्ययन गर्न शहर पसियो । बाग्लुङ, पोखरा, काठमाडौं र केही समय भारतको चेन्नई रहे त्यो समय गरेर हिन्दी, नेपाली, इङलिस, साउथ इन्डियन फिल्म थुप्रै हेरेँ ताकी कुनै गन्ती नै छैन । त्यसै माथि मैंले पोखरामा ‘अन्तरा म्युजिक सेन्टर’ भनेर सि.डी.भिसिडी र क्यासेटको दोकान खोलेको थिएँ त्यतिबेला काम नै फिल्म हेर्न थियो । टि.भी. भिसिडि भाडाँमा जान्थ्यो त्यस्का लागि ग्राहकलाई सबै कहानी सुनाएर हेर्ने बनाउनु पथ्र्यो । तर आज भोलि एकदमै कम हेर्छु । आफुले काम गरेका, आफ्ना साथी भाइहरुले बनाउनु भएका वा हेर्नै पर्ने खालको छ भने हेर्ने गर्छु ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

पहिला त हल बाहेक अर्को बिकल्प नभएकोले हलमै हेर्थेँ । त्यसपछि डेकको जमना आयो । हलका अलावा सिडी, भिसीडीको माध्यमले हेरियो । अहिले अलि बढ्ता हेर्ने युट्युबमा नै हो । र, कहिलेकाहीँ हलमा गएर पनि हेर्छु । हलमा हेर्न फेमिली वा मन मिल्ने साथी भए मात्र जान्छु । काठमाडौं गएको बेला मेरा अनन्य मित्र बिबि अनुरागी र मैंले प्राय हेर्ने गर्छौ ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा फिल्म हेर्न भनेपछि सबै काम पन्छाएर २,३ घन्टाको समय पूर्ण रुपमा छुट्याइएको हुन्छ । अन्य काम, ताना, बाना र तनावमुक्त बनेर मोवाइल नै अफ गरेर फिल्म हेर्न बसिन्छ । मानसिकता नै पूर्ण रूपले फिल्म हेर्न हुँदा निकै आनन्दको अनुभूति हुन्छ । त्यसै माथि सामुहिक रुपमा हेर्दाको आनन्द अझै छुट्टै छ । फेरि यता हलमा फिल्म लाग्ने समय निश्चित हुने हुनाले घरमा आफ्नो अनुकुल समयमा हेर्न त पाइन्छ तर हलको जस्तो एकाग्रता र मज्जा त्यति धेरै लाग्दैन । घरमा यसो त्यसो काम कुरा हुन्छ अनि हेर्दा हेर्दै बीचमा छोड्नु प¥यो भने साह्रै नमज्जा लाग्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

मैले बाल्यकालमा अत्याधिक फिल्म हेर्थें । कहिले काँही हलमा चलेको फिल्म छुट्यो भने संसारै डुबे जस्तो लाग्थ्यो । कक्षाका साथीहरुलाई पहिले कहानी सुनाउनकै निम्ति पनि पहिला फिल्म हेर्नै पथ्र्याे । घरमा आमा र दिदी हुनु हुन्थ्यो भने बाबा र दाइ इन्डियामा हुनुहुन्थ्यो । आमालाई अनेक बहना बनाई बनाई ढाँटेर स्कुल छोडी छोडी फिल्म हेर्न बजार पुग्थें । आमा अनपढ हुनु हुन्थ्यो । मेरो बहानामा आमाले कुनै शंका गर्नु हुन्थेन ।

त्यतिबेला गाउँमा मानिसहरु सँग खासै पैसा हुदैनथ्यो । जे जे काम हुन्थ्यो अर्म पर्म र अन्नपातको लेनदेन हुन्थ्यो । बाबा इन्डियन लाहुरे भएकोले बाबाले पैसा पठाए मात्र पैसा हुन्थ्यो । नाइ त हुन्थेन । एकचोटीको कुरा हो । बाबाले पैसा पठाउने मान्छे न पाएकोले लामो समयसम्म पठाउनु भएको थिएन । प्रत्यक्ष मानिसको हात बाहेक पैसा पठाउने अरु कुनै माध्यम थिएन । हलमा नयाँ फिल्म लागेको थियो । फिल्म हेर्नका लागि आमालाई ’फी’ तिर्न छ भनेर पैसा मागे । आमाले पैसा छैन । ला यो केरा लगेर बेच अनि ‘फी’ तिर भनेर झोलामा हाली दिनु भयो । अनि त्यो बजार लगेर बेचेर मैंले फिल्म हेरेँ । फिल्म हेरेर मेरो घर तित्याङ ठूलाढुङगाको उकालो जति चड्दै गए उति आत्मग्लानी बढ्दै गयो । किनकी म कक्षामा तेस्रो भएकोले ’फी’ तिर्नु पर्दैनथ्यो र अर्को कुरा त्यो केरा हाम्रो घरमा पहिलो चोटी फलेको थियो । हामी निकै खुशी थियौँ घरको पहिलो केरा हामी सबैले खाने र आफन्त इष्टमित्रलाई खुवाउने भनेर आमाले पकाउन राख्नु भएको थियो । यति हदसम्म गरेर फिल्म हेर्थेँ । आजभोलि यी कुरा संझिदा निकै अशह्य पिडा र आत्मग्लानी हुन्छ र निकै रुन्छु पनि ।

यसै गरी एकचोटी एक सय रुपैयाँ बोकेर फिल्म हेर्न गएको थिएँ बाटोमा एउटै स्कुल पढ्ने दाइहरु भेटिनु भयो । हलमा पुग्यौ हलमा टिकट काट्न निकै तछाड मछाड र हुल थियो । दादागिरी गर्ने केटाहरुले पहिले टिकट बढी लिएर ब्ल्याकमा बाहिर बेच्थें । ब्ल्याकमा किन्न पैसा हुन्थेन । भित्र टाइममा टिकट नलिए सकिन्थ्यो । म अलि फुच्चे भएकोले दाइहरुले तिमी खुसु खुसु छिर भनेर पठाउनु भयो । टिकट काउन्टरमा पुगेर टिकट मागे पैसा दिन्छु भनेर निकाल्न खोज्दा त पैसा छैन । पछिल्लो गोजीमा राखेको पैसा चोरी भएछ । न फिल्म हेर्नु न खाजा खानु निराश बनेर घर फर्किए ।

हलमा हेरेको पहिलो फिल्म ?

त्यस समययमा हल बाहेक अन्त फिल्म हेर्ने कुनै माध्यम थिएन । मैले हेरेको पहिलो फिल्म ‘बदलिदो आकाश’ हो । जुन २०४० साल कात्तिकमा रिलिज भएको थियो । मैंले त्यही महिनामा त हेरेँ तर गते कति भन्ने ठ्याक्कै थाहा भएन । हेरेको पूजा चलचित्र मन्दिर, बाग्लुङमा हो । जतिबेला म सात वर्षको थिएँ । जुन फिल्ममा सुस्मा शाही, शिव श्रेष्ठ, निर शाह, हरिहर शर्मा, टिका पहाडी, शुभद्रा अधिकारी आदि कलाकारहरु हुनु हुन्थ्यो ।

मनपर्ने फिल्मी कलाकार ?

कलिउडमा शिव श्रेष्ठ, राजेश हमाल, कृस्टि मैनाली, नीर शाह, तुलसी घिमिरे, मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, गणेश उप्रेती, खगेन्द्र लामिछाने आदि । त्यसै गरी हलिउडमा अमिताभ बच्चन, शाहरुख खान, काजोल, नाना पाटेकर, परेश रावल, अक्षय कुमार, आमीर खान, मनिषा कोइराला आदि मनपर्ने फिल्मी कलाकारहरु हुन ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली फिल्मले गीत संगीतको राम्रो प्रोमोटिङ गरेको छ । उजागार गर्नु पर्ने धेरै कथा र ब्यथालाई उजागर गरेको छ । कला, संस्कृतिको संरक्षण र सम्र्बद्धन गरेको छ । आफ्नो क्षमता अनुसार माटो र पन सुहाउँदो फिल्म निर्माण गरेर धेरैलाई मनोरञ्जन र शिक्षा दिएको छ । धेरैको लागि रोजगारी दिएको छ । कतिलाई कलाकारको फराकिलो नाम र इज्जत दिएको छ । यी नेपाली फिल्मको एकदमै सकारात्मक पाटो र पक्ष हुन ।

सुधार गर्नुपर्ने पक्ष ?

हलिउड र बलिउड हेरेका आँखाले कलिउडका फिल्महरु हेर्दा के न पुगे न पुगे जस्तो लाग्छ । हुनत हाम्रो नेपाली फिल्मको बजार सानो छ । धेरै लगानी गर्दा लगानी उठाउन हम्मे हम्मे हुन्छ । फेरि पनि नेपाली फिल्महरु निर्माण र निर्माण गुणस्तरका हिसाबले कमजोर छन् । हलिउड बलिउडमा खान्दानी पेशाको रुपमा ब्यबसायिक फिल्म बन्छन् । तर हामी कहाँ रहर पुरा गर्ने हिसाबले टिपुवा खाल्का फिल्म बन्छन । नेपालमा त्यति धेरै फिल्मी घरानाहरु छैनन् । यतिबेला चलचित्र निर्देशक आदरणीय तुलसी घिमिरे दाजुले भनेको एउटा कुरा सम्झेँ । उहाँलाई धेरैले भन्नु हुन्थ्यो रे ‘लौन हौ तुलसी मेरा छोरार छोरी बिग्रियो फिल्ममा हालदेउ’ भनेर ।

नेपाली फिल्म इन्डष्ट्रिज मान्छे बिग्रेपछि, केही पैसा कमाएपछि, अलि अलि जिउडाल मिलेसी र बेरोजगार भएपछि आउने थलो बनिरहेको छ । यसो नहोस । साच्चिकै नेपाली फिल्मी इन्डष्ट्रिजको बिकास गर्ने हो भने यी पक्षहरुलाई सुधार्नु पर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

फिल्मप्रतिको यति धेरै मोह भएको मुख्य कारण मलाई हिरो बन्ने रहर थियो । त्यतिबेला अहिलेको जस्तो सहज माहोल थिएन । गाउँमाबाट काठमाडौँ छिर्ने त्यतिबेला त्यस्तो परिपाटी थिएन । न आर्थिक हैसियत, न कुनै चिनजान, न कुनै लिंक तसर्थ मेरो हिरो हुने त्यो सपना र रहर यत्तिकै मारेर म गीत संगीतमा लागे ।

‘खोलो सुकेपनि चिसो बाँकी रहन्छ भन्छन’ । त्यस्तै झैं फिल्म खेल्ने र बनाउने धोको चाहिँ बाँकी थियो । ६,७ वर्ष अघिको कुरा हो त्यतिबेला म काठमाडौंमा बस्थें । मेरा अनन्य मित्र बिबि अनुरागीको अफिसमा बसेर कुराकानी गर्दै जाँदा मैंले भने बिबि जी कथा आफैं लेख्छु, गीत आफै लेख्छु, संगीत पनि गर्न सक्छु, पटकथा पनि लेख्न सक्छु, आफै निर्माता, निर्देशक र हिरो बनेर फिल्म बनाउनु पर्छ कि क्या हो लगानी धेरै नलाग्ने ।

अनि जवाफमा बिबि जी मुसुक्क हाँसेर त्यहि त सुमन जी हजुर आफै कथा लेख्नु हुन्छ, गीत लेख्नु हुन्छ संगीत गर्नु हुन्छ, पटकथा नि लेख्न सक्नु हुन्छ आफैं निर्माता, आफै निर्देशक आफै हिरो अनि फिल्म बनिसकेपछि दर्शक पनि हजुर आफै मात्र त होला नि होइन र भन्नु भयो ? पढ्दा पाठकहरुलाई बिबिले सुमनलाई फिल्मतिरको उत्साहलाई निरुत्साहित गर्यो भन्ने लाग्ला । तर बिबि अनुरागी जी छोटो समयमा सही निर्णय लिएर सोही अनुसार काम गर्ने र काम गर्न सल्लाह दिने अग्रगामी सोच भएको एक बहुप्रतिभाशाली सर्जक हुनु हुन्छ । एक त फिल्म बनाउने कुरा कुनै मजाक होइन । अर्को कुरा फिल्म बनाए पनि त्यो बेला हलमा गएर फिल्म एकदमै कमले हेर्थेँ । लगानी सिधै डुब्थ्यो । त्यही कुरा उहाँले निकै रमाइलो ढङ्गले भन्नु भयो । पछि मलाई फिल्ममा काम गर्ने केही हदसम्मको रहर उहाँले नै पुरा गर्नु भयो, हिरोको रुपमा होइन एक फिल्मी गीतकारको रुपमा । अहिले म भित्र त्यस्तो रहर छैन तर आफ्नो त्यो थाँती रहेको रहर छोरालाई हिरो बनाएर पुरा गर्ने रहर छ । तर थाहा छैन छोराको के रहर छ ?

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

फिल्म समाजको दर्पण हो । र बिचार प्रकट गर्ने एक सशक्त माध्यम पनि हो । त्यसैले समाजमा रहेका थुप्रै सामाजिक बिभेद र बिसंगतिहरुका ती बिषयलाई उठान गरी जनता सुसुचित र सचेत गर्ने गराउने खालका फिल्म बन्नु पर्छ भन्ने लाग्छ । फिल्म सम्बन्धी आफ्नो यी उकुस मुकुस पोख्ने त्यस्तो अवसर प्राप्त भएको थिएन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button