म हलमा फिल्म हेर्दा धैरै पटक रोएको छुँँ :मञ्जु गुरुङ

पोखरा न्यूज । भलिवल खेलको माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाउनुभएको व्यक्ति हुनुहुन्छ मञ्जु गुरुङ । उहाँको जन्म कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा भएको हो । उहाँले ७, ८ वर्षको उमेरबाटनै भलिवल खेल्न सुरु गर्नुभएको थियो । उहाँको खेल जीवनलाई फर्कन, फूल्ने अवसर पोखरा मिरुवाको ज्ञानुबाबा स्कूलले मिलाइदिएको हो । कक्षा १ बाट ज्ञानुबाबामा पढ्नुभएकी मञ्जुले २०५७ सालमा कक्षा ४ मा पढ्दाखेरी जिल्लास्तरीय भलिवल प्रतियोगितामा भाग लिनुभयो ।

सन् २००६ मा श्रीलंकामा आयोजना भएको दक्षिण एसियाली खेलकुद प्रतियोगीतामा उहाँले नेपाली राष्ट्रिय महिला भलिवल टिमबाट अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा डेब्यु गर्ने अवसर पाउनुभएको थियो । माल्दिभ्समा आयोजित सेन्ट्रल जोन प्रतियोगिता, नेपालमा आयोजित आमन्त्रित अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिता उहाँले खेल्नुभयो । विद्यालय स्तरीय, जिल्ला स्तरीय, क्षेत्र स्तरीय, क्लब स्तरीय, राष्ट्रिय स्तरीय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी बन्दै उहाँले आफ्नो प्रतिभा देखाइसक्नु भएको छ ।

मञ्जुले खेलको कारण नै रोजगारी पाउनुभयो । जसले दैनिक खर्च धान्न मात्र नभएर खेल करियरलाई निरन्तरता दिन समेत सहज भएको छ । २०६५ सालमा खेलकुद पत्रकार मञ्चले आयोजना गरेको स्पोर्टस अवार्डमा पिपुल्स च्वाइस अवार्ड हात पार्दे उहाँले रोजगारी पाउनु भएको हो । लुम्बिनी विकास बैंकको यो जागिरले मञ्जुलाई अगाडि बढ्न सहज मात्र बनाएको छैन, एउटा आड बनाइदिएको छ । लजालु स्वभावकी मञ्जु धेरै बोल्नुहुन्न । आफ्नो मेहनतमा विश्वास गर्ने उहाँ सोही मेहनका कारण आफ्नो परिचय फराकिलो बनाउन सफल हुनुभएको छ । मञ्जु भलिबलमा मात्र हैन बास्केटबल र एथलेटिक्स समेत अब्बल हुनुहुन्छ । मञ्जुलाई गीत सुन्न र टिभी हेर्न औधी मनपर्छ । यसपाली हामीले उहाँलाई फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

फिल्म म धेरै नै हेर्छु । फूर्सदको समयमा मैले हेर्ने नै फिल्म हो ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

म आजकाल बढी मात्रामा फिल्म ‘नेटफ्लिक्स’बाट हेर्छु । समय मिल्दा हलमा समेत पुग्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा गएर फिल्म हेर्न रमाइलो हुन्छ । किनकी हलमा ठूलो स्क्रिनमा हेर्न पाइन्छ । हलको जस्तो नभएपनि मलाई त घरमा बसेर फिल्म हेर्दा समेत मज्जा नै लाग्छ । म हलमा फिल्म हेर्दा धैरै पटक रोएको छुँँ । अनि बाहिर निस्कन लाज लागेर अन्तिममा निस्कन्थे । हलमा फिल्म हेर्नको लागि कहिलेकाँही टिकट काट्न साह्रै मुस्किल हुन्थ्यो ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

सानोछँदा गाउँको हाम्रो घरमा टिभी थियो । अरुको घरमा टिभी थिएन त्यतिबेला । अनि गाउँका धेरै जना शनिबार हाम्रोमा फिल्म हेर्न आउनुहुन्थ्यो । बाजेले फिल्म हेर्न पैसा तिर्नुपर्ने नियम बनाउनुभएको थियो । बाजेले मलाई ढोकामा बसेर पैसा तिरेकोलाई मात्र भित्र छिर्न दिनु भन्नुहन्थ्यो । यसरी ढोकामा बस्दा झनै रमाइलो लाग्थ्यो । सुरुमा एक रुपैयाँ लिन्थ्यौ, पछि पाँच रुपैयाँ सम्म लियौँ । अहिले ती दिन सम्झदा हाँसो लाग्छ । आफ्नो घरमा टिभी भएकोले मैले भने पैसा तिरेर कहिल्यै टिभीमा फिल्म हेर्नु परेन ।

हलमा हेरेको पहिलो नेपाली फिल्म ?

मैलै हेरेको पहिलो नेपाली फिल्म ‘निरमाया’ हो । मैले पहिलो फिल्म ठूलीआमा र बहिनीसँग हेरेको थिए ।

मनपर्ने फिल्मी कलाकार ?

मैले आजकाल धेरै कोरियन फिल्म हेर्छु । सोही कारण कोरियन कलाकार ह्युन बिन मनपर्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली फिल्म गुणस्तर विकासको क्रममा नै रहेका छन् जस्तो लाग्छ मलाई । कुनै–कुनै फिल्मले समाजमा सकारात्मक सन्देश छर्न सफल भएका छन् । फलस्वरुप नेपाली फिल्म प्रतिको आर्कषण बढ्दै गएको छ ।

सुधार गर्नुपर्ने पक्ष ?

धेरैजसो नेपाली फिल्मको कथा अन्य फिल्मबाट कपी गरेको जस्तो लाग्छ यसलाई सुधार गर्नुपर्छ । अर्को कुरा प्राविधिक रुपमा समेत नेपाली फिल्म कमजोर छन् यसमा ध्यान दिनुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

फिल्म हेर्ने रुचि भएपनि फिल्म खेल्ने रुचि मलाई भएन । मैले अभिनयमा कहिल्यै रुचि देखाइन । सानोदेखिनै मेरो रुचि खेल क्षेत्रमानै थियो ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

नेपाली फिल्ममा विस्तारै सुधार आउँदैछ यो खुशीको कुरा हो । मुख्यतया समाजका कथालाई आर्कषक तरिकाले फिल्म मार्फत देखाउन सके यसको महत्व बढ्छ जस्तो मलाई लाग्छ । फिल्मकर्मीले दर्शकको माग तथा आवश्यकता अनुसारका फिल्म निर्माण गर्नेतर्फ ध्यान दिनुपर्छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Khusi lagyo miss Manju gurung ko barema thap kehi ajhai jaankaari wahako barema tha pauna paiyo which made me really so happy to read it…Coz iam a Big fan of her and i too know her since my childhood too.Waha ko volleyball khel dekhi wahako character and her leadership quality in the team is super ..real wow.thanks 4 this post to pkr news..and lastly to all the beloved nepelese plz learn to respect the stars and the players ..which i fell little low in our country..thank u and namaste…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button