टिकट नकाटी हेरेको भनेर हलबाट बाहिर निकाली दिए : किसान

पोखरा न्यूज । आगो-२ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा अभिनेता किसान  सुनारको डेब्यु भएको थियो । उहाँले कैफियत, परिणाम, रूपचन्द्र बिस्टको वायोपीक रुदाने हुँदै झमक कुमारी घिमिरेको बहुचर्चित मदन पुरस्कार विजेता पुस्तक जीवन काँडा कि फूलको वायोपीकमा अभिनय गर्नुभयो ।

उहाँको पुर्ख्यौली थलो पर्वत जिल्लाको पाङराङ गाउँ हो । उहाँले दुई वर्षसम्म वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलसँग अभिनय प्रशिक्षण लिएर निखारता थप्नुभयो । फिल्मका अलावा रङ्गमञ्च, म्युजिक भिडियो र टेलिफिल्ममा समेत उहाँले काम गर्न भ्याउनुभएको छ । निरन्तर आफ्नो कलाको माध्यमबाट दर्शकमाझ पुगिरहने उहाँको लक्ष्य छ । उहाँको अबको योजना  स्क्रिप्टमा आफ्नै  काम गर्ने रहेको छ । फिल्मी क्षेत्रसँग सम्बन्धित रहेर हाम्रा प्रतिनिधिले उहाँसँग गरेको कुराकानीको केही अंश ।

तपाईँले फिल्म कतिको हेर्नुहुन्छ ?

म फिल्म धेरै हेर्नेमा नै पर्छु । हुन त आफ्नो क्षेत्र फिल्म नै भएकोले होला । मनोरञ्जनका लागि मात्र नभएर सिक्नका लागि समेत म फिल्म हेर्छु ।

तपाईँको फिल्म हेर्ने माध्यम के हो ?

पहिला त हलमै गएर हेरिन्थ्यो । अहिले कोभिडको महामारीपछि युट्युब नै फिल्म हेर्ने प्रमुख माध्यम बनेको छ ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा हेर्दा र घरमा हेर्दा धेरै फरक पर्छ । हलमा फिल्मकै लागि भनेर समय छुट्टाएर गइएको हुन्छ । घरमा त्यस्तो हुँदैन । अर्को कुरा हल र घरमा बसेर हेर्दा हुने फरक अनुभूति भनेको हलमा फिल्म हेर्दा फिल्ममा प्रयोग गरिएका सबै प्राविधिक पक्षलाई समेत राम्रोसँग थाहा पाउन सकिन्छ । घरमा हेर्दा त्यस्तो क्वालिटी सुन्न, हेर्न अनुभव गर्न सकिँदैन । सोही कारण रमाइलो हलमानै हुन्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

फिल्म हेर्दाका रमाइला पल धेरै छन् । म जन्मे हुर्केको पर्वतको जिल्लाको पाङराङ गाउँमा हो । हामी फिल्म हेर्नेको लागि सदरमुकाम कुस्मा बजार जानुपर्ने थियो । ३, ४ घण्टा हिँडेर हलमा पुगिन्थ्यो । १२ बजेको सो हेरेर साँझ घर फर्किदा ढिला हुन्छ भनेर हतार–हतार दौडिन्थ्यौ ।

त्यस बेला हाम्रो लागि हिरो भनेर चिनिने केबल राजेश हमाल मात्र थिए । एउटा रमाइलो घटना छ । राजेश हमालको ‘चट्याङ’ फिल्म लागेको थियो । दिउँसोको सो हेरेर फेरी बेलुकीको सो पनि हेर्ने सल्लाह भयो । दिउँसो ८ रुपैयाँको टिकट काटेर हेरेऊ । बेलुकाको ५ रुपैयाँको टिकट कट्यौँ । किनकि भित्र छिरेपछि दिउँसोको टिकट देखाएर ८ रुपैयाँवाला सिटमा बस्ने निधो गयौँ । ८ रुपैयाँवाला सिटमा गएर मज्जाले बसेर हेर्दै थियौँ । टिकट चेक गर्ने मानिस आए । हामीलाई थाहा भएन कि दिउँसोको र बेलुकाको टिकटको रङ्ग फरक हुन्छ भनेर । पछि टिकट चेक गर्न आउनेले दिउँसोको टिकटले अहिले टिकट नकाटी हेरेको भनेर हलबाट बाहिर निकालिदिए त्यो बेला साह्रै खल्लो लागेको थियो ।

हलमा हेरेको पहिलो नेपाली फिल्म ?

मैले हेरेको पहिलो फिल्म ‘देउता’ हो ।

मन पर्ने फिल्मी कलाकार ?

मलाई मन पर्ने कलाकार महानायक राजेश हमाल हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली फिल्मको सकारात्मक पक्ष भनेको फिल्म उद्योगमा धेरै जनाले विभिन्न तरिकामा रोजगार पाउनु भएको छ । फिल्मको गुणस्तरमा समेत सुधार हुन खोज्दै छ ।

सुधार गर्नुपर्ने पक्ष ?

सुधार गर्नु पर्ने त धेरै छन् । कथा देखि लिएर अभिनय र प्राविधिक पक्षमा सुधार गर्नुपर्नेछ । नेपाली फिल्मसँग आफू पनि जोडिएको नाताले भन्नु पर्दा यहाँको स्कुलिङ नै गलत  ट्रेन तिर गएको हो कि जस्तो लाग्छ मलाई । विश्वको फिल्म बजार र त्यहाँ बन्ने फिल्मलाई हेर्ने हो भने हामी अलि पुछारमै छौ होला । अहिले सूचना तथा प्रविधिले विश्वलाई यति सानो र छरितो बनाइदिएको छ । हात-हातमा विश्वका विभिन्न देशका फिल्म हेर्ने पहुँच पुगेको छ । दर्शकले इच्छा अनुसार फिल्म छनोट गरी हेर्न पाएका छन् । तर नेपाली फिल्मलाई माया गरिदिनु भन्दै अनुरोध गर्दै हलमा आएर फिल्म हेर्नु भन्नुपर्ने स्थिति छ ।

अर्को कुरा कलाकार भनेर चिनिनु भन्दा हिरो र हिरोइन भनेर नै चिनिने धेरैको रहर छ । फिल्मको विषयवस्तुमा खासै ध्यान दिएको पाइँदैन । सोही कारण नेपाली फिल्मले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न अपेक्षाकृत सकेको छैन । फिल्म बनाउने तरिका र प्रविधि एउटै भए पनि स्कुलिङको कमीले नेपाली फिल्मले गुणात्मक रूपमा फड्को मार्न नसकेको हो भन्ने मलाई लाग्छ । यसमा फिल्मकर्मीले ध्यान दिनुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर भन्दा पनि त्यो पर्दाको हिरो वास्तवमै आम मानिस भन्दा एकदम फरक लाग्थ्यो । एक दिन आफू पनि त्यस्तै बन्न पाए आहा ! कस्तो हुने थियो होला भन्ने मनमा लाग्थ्यो ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

अब आफ्नै स्क्रिप्टमा फिल्ममा काम गर्ने योजना छ, स्टोरी र स्क्रिप्ट तयार छ, लगानीकर्ता समेत तयार हुनुहुन्छ । अवस्था सामान्य हुनासाथ काम सुरु गर्ने तयारी हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button