पुस्तकप्रेमीले पुस्तक मागेर हैन किनेरै पढौँ : रेशम गिरी

पोखरा न्यूज । रेशम गिरीको जन्म कास्की जिल्लाको रमणीय गाउँ कास्कीकोटमा भएको हो । शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील उहाँसँग राजधानी राष्ट्रिय दैनिक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको क्षेत्रीय प्रमुख, कालिका उच्च माध्यमिक विद्यालय कास्कीकोटको सहायक प्राचार्य, शैक्षिक जनशक्ति विकास केन्द्र पोखराको सामाजिक अध्ययन विषयको रोष्टर प्रशिक्षक, कास्कीकोट दिग्दर्शनको सम्पादकसमेतको अनुभव छ ।

‘संविधान’ मुक्तक सड्ग्रह उहाँको पहिलो प्रकाशित सहित्यिक कृति हो भने अनिवार्य नेपाली अभ्यास पुस्तक कक्षा १०, नेपाली व्याकरण बोध अभिव्यक्ति र प्रयोगात्मक अभ्यास कक्षा ८, शिक्षक सेवा आयोग परीक्षा सफलता मञ्च सामाजिक अध्ययन माध्यमिक तह र निम्नमाध्यमकि तह, मेरो एसईई सामाजिक अध्ययन र अभ्यास, मेरो सजिलो सामाजिक अध्ययन र अभ्यास कक्षा ८ र कक्षा ९ शिक्षासँग सम्बन्धित उहाँका प्रकाशित पुस्तकहरू हुन् । बेलाबेलामा विभिन्न लेखहरू प्रकाशन गर्ने उहाँ यतिबेला ‘मोड’ उपन्यास लेखनमा व्यस्त हुनुहुन्छ । पुस्तक अध्ययन र लेखनमा रुचि राख्ने गिरीसँग पुस्तक अध्ययनसँग सम्बन्धित रहेर केही प्रश्न गरेका छौँ ।

पुस्तक कतिको पढ्नुहुन्छ ?

समय मिलेसम्म म पुस्तक पढ्न रुचाउँने व्यक्ति हुँ । यत्ति नै पढ्छु भनेर गणितीय आधारमा पुस्तक पढ्ने कुरालाई मैले मापन गर्न सक्दिन ।

कोर्षमा भएका पुस्तक र बाहिरी पुस्तक अध्ययन गर्दा हुने फरक ?

कोर्षमा भएका पुस्तकहरू विद्यालय तथा विश्वविद्यालयबाट कक्षा तथा तह उत्तीर्ण गरी प्रमाणपत्र र उपाधि प्राप्त गर्नका लागि अध्ययन गरिने भएकाले अध्ययनका लागि यस्ता पुस्तकहरू बाध्यात्मक हुन्छन् । यस्ता पुस्तकको अध्ययनबाट ज्ञानका साथै प्रमाणपत्र समेत प्राप्त हुन्छ भने बाहिरी पुस्तकहरू रुचि तथा आबश्यकता अनुसार छनौट गरेर अध्ययन गर्न पाइने भएकाले अध्ययनका लागि बाध्यात्मक हुँदैनन् ।

तपाईंलाई मनपर्ने पुस्तक कुन कुन हुन् ?

पुस्तक मन पर्ने कुरा कुन विचारधारा बोकेको समय र मनस्थितिमा पढियो भन्ने कुराले निर्धारण गर्छ । लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, माधव घिमिरेको गौरी, कृष्ण धरावासीको राधा, नारायण वाग्लेको पल्पसा क्याफे, सरुभक्तको पागल बस्ती, झमककुमारीको जीवन काँडा कि फूल, विपीको आत्मवृतान्त मलाई मनपर्ने पुस्तकहरू हुन् ।

तपाईंलाई लेखन शैलीमा अब्बल लेखक को लाग्छ ?

अब्बल र कमसल भन्ने कुरा सापेक्षित हुन्छ । लेखेर सबैभन्दा पहिला लेखक नै स्वंम प्रभावित हुन्छ भने त्यो शैली आफैमा राम्रो बन्छ ।

लगातार कति समयसम्म पुस्तक पढ्नुहुन्छ ?

शैली र बिषयवस्तुले तान्न सकेको खण्डमा लगातार घण्टौं समयसम्म पनि पढ्न सक्छु नत्र दश मिनेटको समय पनि मलाई धेरै हुन्छ, टिक्नै सक्दिन ।

तपाईंको पुस्तक पढ्ने माध्यम ?

मैले पुस्तक पढ्ने माध्यमको रुपमा थोरै मात्र डिजिटल माध्यमबाटलाई बनाउँछु धेरै त पुस्तक हातमै लिएर बढ्न रुचाउँछु ।

पुस्तक अध्ययनसँग सम्बन्धित केही रमाइला वा नरमाइला अनुभव सुनाउनु ?

विदेशी पत्रकार अली ग्रिपरद्वारा लिखित खगेन्द्र संग्रौलाद्वारा अनुवादीत सन्दुक रुइत नामको पुस्तक पढ्छु भनेर पाँच पटक किने बाड्दाबाड्दै न त्यो पुस्तक आफूसँग छ, न लगेकाले फिर्ता ल्याइदिन्छन् । अहिले किन्न पनि र पढ्न पनि सकेको छैन ।

पुस्तक किन पढ्ने ?

पुस्तक पढ्ने उद्देश्य मानिसको उमेर, आवश्यकता र रुचि अनुसार भिन्नभिन्न हुन्छ । कसैले मनोरञ्जनका लागि पढ्छन् । कसैले देश काल र समयको जानकारी लिन पढ्छन् । विद्यार्थीले ज्ञान आर्जन गर्न र कक्षा उर्तीण गर्नका लागि पढ्छन् मैले चाँही दिमागलाई क्रियाशील राख्नका लागि पढ्ने गर्छु ।

नेपाली लेखकले पुस्तक लेख्दा के कुरामा ध्यान दिनुपर्छ ?

नेपाली लेखकले भन्दा पनि हरेक लेखकले पुस्तक लेख्दा मैले कुन विषय, भाषा, बिधा र उद्देश्यका लागि पुस्तक लेख्दैछु भन्ने कुरामा ध्यान दिनुपर्छ ।

पाठकले कसरी पुस्तक छनोट गर्ने र पढ्ने केही तरिका भन्नुन ?

पुस्तक छनौट गर्न सजिलो छैन । बजारमा विभिन्न प्रकारका पुस्तकहरू आउने गर्छन । सबै पुस्तक पढ्नै पर्ने खालका हुदैनन् । बजारमा चर्चामा आइसकेका र पुरस्कार पाईसकेका पुस्तकहरू मैले अध्ययनका लागि छनौट गर्ने गर्छु ।

अन्तमा पुस्तकप्रेमीलाई के भन्नुहुन्छ ?

पुस्तकप्रेमीहरूलाई सम्भव भएसम्म पुस्तक मागेर हैन किनेरै पढौँ भन्न चाहन्छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button